पोखरा / मुक्तिनाथ विकास बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा तारा मानन्धर नियुक्त भएका छन् । बैंक सञ्चालक समितिको निर्णयअनुसार उनलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरिएको हो।
बैंकका अनुसार मानन्धरले बैंकिङ तथा व्यवस्थापन क्षेत्रमा लामो अनुभव हासिल गरेका छन्। उनले विभिन्न वाणिज्य बैंकमा उच्च कार्यकारी भूमिकामा रहेर काम गरिसकेका छन्। पछिल्लो समय उनी डिस मिडिया नेटवर्क लिमिटेडमा प्रमुख कार्यकारी अधिकृतका रूपमा कार्यरत थिए।
बैंकले प्रेस विज्ञिप्तिमार्फत मानन्धरको नेतृत्वले संस्थागत तथा रणनीतिक विकास, सुशासन र दिगो बैंकिङ अभ्यासलाई अझ प्रभावकारी बनाउने विश्वास व्यक्त गरेको छ। पदभार ग्रहणपछि मानन्धरले बैंकको दीर्घकालीन लक्ष्यलाई प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता जनाएका छन्। उनले उच्चस्तरीय ग्राहक सेवा, कर्मचारीहरूको मनोबल अभिवृद्धि तथा सरोकारवालाले राखेको विश्वासलाई अझ सुदृढ बनाउँदै बैंकलाई नयाँ उचाइमा पुर्याउने बताए।
मुक्तिनाथ विकास बैंकले मानन्धरको सफल कार्यकालको शुभकामना व्यक्त गर्दै आगामी दिनमा बैंकले अझ उत्कृष्ट वित्तीय सेवा प्रवाह गर्दै राष्ट्रिय अर्थतन्त्रमा सकारात्मक योगदान पुर्याउने विश्वास व्यक्त गरेको बैंकका प्रमुख सूचना अधिकारी तिलबहादुर गुरुङले जनाएका छन्।





