
बगलुङ÷गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री जीत शेरचनले आगामी बजेटमा प्रदेशको समृद्दिका लागि पाइलट परियोजना सञ्चालन गरिने बताएका छन् । उनले ती परियोजनाले प्रदेशको आर्थिक क्रियाकलापमा योगदान पुग्ने, राजश्व बढाउने र आम नागरिकले विकासको महसुस गर्ने समेत बताए ।
मंगलबार बागलुङको काठेखोला वडा नं. ४ तंग्राम जाने डुडियाखोलाको पुल उद्घाटन गर्दै मन्त्री शेरचनले संघको आँखाले नदेखेका पुर्वाधारमा लगानी गरी जनतालाई प्रत्यक्ष फाइदा पुग्ने काम गर्ने बताए । ‘संघको आँखाले नदेखेका योजना प्रदेशले देखेको छ’ उनले भने, ‘उज्यालो गण्डकी, पुर्वाधार, स्वास्थ्य, खानेपानी जस्ता काममा प्रसस्त काम भएका छन् ।’
प्रदेश सरकारका कारण ती योजना बनेको उनले दाबी गरे । आगामी दिनमा त्यस्ता योजना अझै व्यवस्थित बनाउनुपर्ने उनले बताए । आगामी बजेटमा पनि आवस्यक योजनामा बजेट राख्ने काम हुने उनको भनाई छ ।
तीन तहको सरकार आएपछि माथिल्लोले नीति बनाउने, प्रदेशले कार्याक्रम बनाउने र स्थानीयले कार्यान्वयन गर्ने भनेपनि प्रभावकारी बन्न नसकेको उनले बताए । प्रदेश सरकारबारे त आम नागरिक अझै अन्योल रहेको भन्दै उनले बिचको सरकार हराए जस्तो देखियो भन्ने गुनासो हट्ने गरी काम गर्ने बताए ।
‘सानो काममा जनता स्थानीय सरकारमा जान्छन् । जनतालाई आजको आजै परिणाम गर्ने काम गर्दा स्थानीय सरकार छ जस्तो भयो’ उनले भने, ‘प्रदेशको सरकार हो की होइन भन्ने देखाउन हामीले गर्ने काम गुणस्तरीय बनाउन जरुरी छ ।’ यो सरकार चाहिने हो की हैन भन्ने कुराको जवाफ अब कामबाट दिने उनले बताए ।
गत वर्ष १९ अर्ब पूँजिगत बजेटले काम गरेको भन्दै कर राजश्व बढाउन सके बजेट पनि बढाउने उनले बताए । सरकारको विवशता र बाध्यता भएपनि आगामी वर्ष नयाँ ढंगले पाइलट परियोजनामार्फत काम गर्ने योजना उनले सुनाए । प्रदेशको समृद्दि र आर्थिक उन्नती गर्न जनतालाई केन्द्रमा राखेर काम गरिने उनको भनाई छ । प्राकृतिक श्रोत र दहत्तर बहत्तरको कर उठाएर राजश्व बढाएर विकासमा लगाउने लक्ष्य उनले सुनाए ।





