शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

रक्सी र गाजा ब्राण्डिङ गर्ने नीति आउँदैछ : मुख्यमन्त्री पाण्डे

रक्सी र गाजा ब्राण्डिङ गर्ने नीति आउँदैछ : मुख्यमन्त्री पाण्डे


  • ढोरपाटन संवाददाता
  • जेष्ठ ५ २०८३, मंगलबार

बागलुङ/मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नागरिकको स्वास्थ्य सेवालाई चुस्त बनाउन गण्डकी प्रदेश सरकार प्रतिवद्द रहेको बताएका छन् । उनले अत्यावस्यक सेवा गाउँमा दिएर नागरिकलाई राहत दिने गरी महत्पुर्ण काम भएको पनि बताए ।

मंगलबार बागलुङको काठेखोला गाउँपालिका–८ को लेखानी स्वास्थ्य चौकीमा स्थापना भएको तीनकोठे फिजियोथेरापी, किशोर–किशोरीमैत्री सेवा कक्षको उद्घाटन, पूर्णखोप युक्त वडा घोषणा र तेस्रो वडा नागरिक भेलाको उद्घाटन गर्दै पाण्डेले नागरिकको सन्तुष्टी बिनाका योजनाले जनप्रतिनिधिमा विश्वास घट्ने बताए ।

वडा स्तरमा जनतालाई सोधेर बनाएका योजनाले दिगो विकास हुने भन्दै एकांकी रुपमा आएका योजनाले अविश्वास बढाएको पनि बताए । उनले ग्रामीण क्षेत्रका जनतालाई बसाइसराइ रोक्न गण्डकी प्रदेश सरकारले रक्सी र गाजाको व्यवसायिक उत्पादन र बिक्री गर्न सक्ने गरी नीति ल्याएको बताए ।

केही विवाद र केही समर्थनका बीच प्रदेश सरकारले ती दुइ नीति ल्याउन लागेको भन्दै रक्सीको नीति छिट्टै आउने र गाजाको नीति पनि सबै तर्फको सहमतिमा ल्याउने पहल भएको उनले बताए । आर्थिक कारोवार शुन्य बन्दै गएपछि गाउँ रित्तिएको उनले बताए । त्यसका लागि गाउँघरमा बसेर पनि आयआर्जन गर्न सक्ने वातावरण नभए करोडौं लगानीका पुर्वाधार समेत काम नलाग्ने उनले बताए ।

विदेशबाट भित्राएका सयौं प्रकारका रक्सी बेच्न पाइने, स्थानीय रक्सी बनाउन नपाइने प्रावधान हटाउने अन्तिम प्रयासमा संघिय सरकारको पनि साथ आउने उनले विश्वास गरे । ‘आउने साउनदेखि स्थानीय रक्सी ब्राण्ड गर्ने कानून लागू गरेरै छाड्छौं’ उनले भने, ‘कानून बनिसकेको छ, लागू गर्न बाँकी रहेको हो ।’ उनले प्रदेश सरकारले ब्राण्ड गर्ने, बजारीकरण जस्ता काममा साथ दिने बताए ।

मुख्यमन्त्री पाण्डेले गण्डकी प्रदेशका ग्रामीण क्षेत्रमा उत्पादन गरिने गाजा औषधी, कस्मेटिक र औद्योगिक कच्चा पदार्थको रुपमा प्रयोगमा ल्याउने गरी खुला गर्ने तयारी गरेको बताए । ‘केही विरोध पनि भयो, तर धेरैको रोजीरोटी, आयआर्जनमा जोडिएको विषय हामीले ल्याउन खोजेका हौं’ उनले भने, ‘जबसम्म यस्ता उत्पादनलाई ब्राण्ड गरिंदैन, गाउँमा बसिदिने मानिस पाउन गाह्रो छ ।’

जनजाती परम्परामा आवस्यक मानिने रक्सीलाई गुणसतरीय बनाउने र निर्यातमुखी बनाउन प्रयास भैरहेको उनले बताए ।

उनले हरेक योजनाहरु जनताको माझबाट बनाउन स्थानीय तहलाई सुझाव समेत दिए । ‘जनताको आवस्यकताका योजनामा कार्यक्रम र बजेट बनाएमात्र आम नागरिकको विश्वास बढ्छ’ उनले भने, ‘जनताको अपनत्व भएन भने जति काम गरेपनि केही गरेनन् भन्ने भाष्य बन्नेछ ।’ उनले अलपत्र परेका ठूला योजना तथा मझौला योजनामा आगामी वर्ष सम्पन्न गर्नेगरी योजना र बजेट बनाउने बताए । त्यस बाहेक १ करोड रुपैयाँ लगानी गर्दा काम सम्पन्न हुने सबै खानेपानी आयोजनालाई बजेट राखेर नागरिकको आवस्यकता पुरा गर्ने योजना पनि सुनाए ।

अलपत्र परेका ४ सय ६७ योजना पुरा गरेर जनतालाई घरघरमा शुद्द खानेपानीको आवस्यकता पुरा गराउने लक्ष्यमा प्रदेश सरकारले काम गरेको उनले जानकारी दिए ।
उनका अनुसार २५ खर्ब बजेटले मात्र गण्डकी प्रदेशका आधारभूत आवस्यकता पुरा हुने भन्दै वर्षमा १ खर्ब पनि विकास बजेट खर्चन नसकेपछि नागरिकको गुनासा सम्बोधन नभएको बताए । मुख्यमन्त्री पाण्डेले आगामी ३ वर्षमा सबै नागरिकले शुद्द पानी पाउने गरी लगानीको तयारी भएको समेत उनले सुनाए ।

लेखानीमा हरेक वर्ष वडाभरका नागरिक जम्मा गरेर अघिल्लो वर्ष गरेका योजनाको सार्वजनिकीकरण गर्ने र आगामी योजनाको तर्जुमा गर्दै आएको छ ।

फिजियोथेरापी गर्ने बिरामी बढेपछि सदरमुकाम रिफर गर्ने बाध्यता हटाउन गण्डकी प्रदेश सरकारको ३७ लाख रुपैयाँको लागतमा कक्ष बनाइएको हो । त्यस बाहेक प्रदेश सरकारकै ४० लाख लागतमा स्वास्थ्य चौकीको हल व्यवस्थापन समेत गरिएको छ ।

वडा अध्यक्ष तथा स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष प्रमानन्द कंडेलको अध्यक्षता, वडा सदस्य मोमबहादुर पुनको संचालन, कार्यपालिका सदस्य पूर्णमाया सुनारको स्वागतमा सम्पन्न कार्यक्रममा गण्डकी प्रदेशकी सांसद चम्पा खड्का, पुर्व मन्त्री मणीभद्र शर्मा कँडेल, जिल्ला समन्वय समितिका प्रमुख अमर थापा, काठेखोला गाउँपालिकाका अध्यक्ष राजु थापा, उपाध्यक्ष तेजबहादुर थापा, वडा नं. १ का अध्यक्ष खड्ग थापा, वरिष्ठ अधिवक्ता कृष्णप्रसाद शर्मा निउरे, स्थानीय सामाजिक अगुवा दिलबहादुर काउचा, कृष्ण छन्त्याल, डम्मरबहादुर घर्ती लगायतले शुभकामना मन्तव्य राखेका थिए । उक्त अवसरमा स्वास्थ्य चौकीका ल्याब असिस्टेन्ट मनबहादुर थापामगर र समाजसेवी खड्गबहादुर काउचा पुनलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->