शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

बडिगाड मेलामा टिका पाईजाको एकल साँझ

बडिगाड मेलामा टिका पाईजाको एकल साँझ


  • अनिष पाठक
  • जेष्ठ ६ २०८३, बुधबार

बागलुङ (खर्वाङ)/पश्चिम बागलुङका स्थानीयका लागि टिका पाईजा नाम नौलो होइन । शब्दसंग सजिलै खेल्न सक्ने पाईजा बडिगाड–८ का बासिन्दा हुन् । गायन, गित रचना तथा साहित्य विधामा रुचि राख्ने टिका पाईजा शिक्षक समेत हुन् ।

साहित्यका गजल, मुक्तकलगायतका विधामा र आफ्नै पेरीफेरीका परिवेशमा उनले सयौं गित समेत रचना गरेका छन । शिक्षण पेशाका कारण उनले आफ्ना रचना कार्यक्रमहरुमा विरलै प्रस्तुत गर्ने गरेका छन् ।

पछिल्लो समय सामाजिक सञ्जालमा उनले आफ्ना केहि रचना राखेपनि टिकाले आफ्ना रचना विद्यालयका कार्यक्रममा बाहेक अन्यत्र खासै प्रस्तुत गरदैनन् । या भनौ पाईजाले आफ्नै रचना बजारमा ल्याएका छैनन् । बरु कयौं पानामा उनका रचना यसै बसेका छन् ।

उनका रचनाले विगतमा केहि पुस्तक, पत्रिकामा स्थान पाएपनि अचेल साहित्यका शब्द सामाजिक सञ्जालमा मात्रै सिमित छन् । गितसंगीतका शब्दका भरिला पाना उनीसंगै सुरक्षित छन ।

टिका पाईजाले नै रचना गरेका गितले जितेका उपाधी विद्यालयमा अनगिन्ती रहेको भानु माध्यमिक विद्यालयका प्रध्यानाध्यापक केशब खरेल बताउँछन् ।

टिका पाईजाको शब्द संगीतमा ‘स्वागत छ हाम्रो बडिगाड गाउँपालिकाको’ गितसंगै बडिगाड गाउँपालिकामा जारी स्थानीय उत्पादन मेला अन्र्तगतको मंगलबारको एकल साँझको शुरुवातमा पाईजाले भनेका थिए ।

“हामीसंग उपलब्ध बाद्यवादनसंगै पहिलो पटक मैले यसरी प्रस्तुती दिंदै छु । केहि मेरा रचना केहि सर्जकका रचना प्रस्तुत गर्ने छौं ।”

निश्चल कल्कल अविरल बग्ने ताकेर समुन्द्रको बाटो
अनुपम सुन्दर सृष्टिको घर बडिगाड सभ्यताको
स्वागत छ हाम्रो बडिगाड गाउँपालिकाको

२०८० माघ १४ गते बडिगाडको प्रशासनिक भवन उद्घाटनको समयमा यो गित तयार गरेको सुनाउँदै उनले आफ्नो प्रस्तुती शुरु गरेका थिए । झण्डै तिन घण्टा पाईजाको समुहले मेलामा आफ्नो मौलिक प्रस्तुती दिएको थियो ।

पुर्वै दिशाको जैसिङ्गै राजै संगै म्याग्दीमा रुचाइने र बागलुङको गलकोटका केहि भेगमा मात्रै गुनगुनाई भैच साइलो भाकामा समेत टिका पाईजाले आफ्नै शब्द, संगीतसंगै स्वर भरेका थिए ।

अचेल गाउँघरमा रोधी बस्ने चलन हराउँदै गएको स्मरण गरेका पाईजाले पछिल्लो समय विकसित एआई र क्षणिक समयमा मात्रै चर्चा पाउने रेकर्ड गितका बिच यस्ता कार्यक्रमले मौलिकता जोगाउन केहि भएपनि राहत हुने बताए ।

जता फक्र्यो तारेभीर
उतै लरक्र्यो खर साइलो
कैले पनि नमेटिने
यै मनको रर साइलो

गाउँघरमा बुबा आमाले गुनगुनाएको ‘भैच साइलो’ भाकाका शब्द संकलन र टिका पाईजाकै संगीतले मिठास थपेको त्यो माहोलमा उनले दर्जन हाराहारी गित गाएका थिए ।

टिका पाईजाको गायनमा बासुरीमा बुद्ध परियार, मादलमा रोशन दर्जि र शिशिर सावत तथा समुह गायनमा सुशिला सुनार, विष्णु विश्वकर्मा, अनिसा पच्या र विशाल गुरुङले साथ दिएका थिए ।

जेठ १ गतेदेखि बडिगाड गाउँपालिकाको खारमा ‘बडिगाड स्थानीय उत्पादन मेला’ चलिरहेको छ । मेलामा पालिकाका उत्कृष्ट २० उद्यमीका साथै ३० हाराहारीका स्टलमा कृषकले आफ्ना उत्पादन बिक्रीका लागि राखेका छन् ।

मेला स्थानीय उत्पादन मात्रै नभई कला प्रतिभा चिनाउने एक माध्यम बनेको मेलाका सांस्कृतिक कार्यक्रम संयोजक बुद्ध परियारले बताए । मेला जेठ ७ गते सकिदैछ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->