शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

संघ र प्रदेशको सहकार्य बिना विकास असंभव : मुख्यमन्त्री पाण्डे

संघ र प्रदेशको सहकार्य बिना विकास असंभव : मुख्यमन्त्री पाण्डे


  • ढाेरपाटन संवाददाता
  • जेष्ठ ६ २०८३, बुधबार

बागलुङ/गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले संघ र प्रदेश सरकारको सहकार्य नभए विकास असंभव हुने बताएका छन् । उनले संघले नीति बनाउने, प्रदेश र स्थानीय तहले विकास गर्नुपर्ने बताए ।

नजिकको सरकारले सबै आवस्यकता र समस्या देख्ने भएकोले संघले नीति मात्र बनाएर प्रदेश र स्थानीय तहलाई काम गर्न दिनुपर्ने बताए । दुइ दिनदेखि बागलुङका विभिन्न कार्यक्रममा सहभागि भएका पाण्डेले हिजोसम्म केही भएन, अहिले सबै काम भयो भन्न थालियो भने नेपालीको प्रगती हुन नसक्ने बताए ।

बागलुङ नगरपालिकाका जनप्रतिनिधिले पदबहादल गरेको ४ वर्ष पुगेको अवसरमा आयोजित कार्यक्रममा आएका पाण्डेले गरेका काम जनतालाई देखाउन नसक्दा जनप्रतिनिधि र राजनीतिक नेताप्रति जनताको आक्रोस बढेको बताए ।

‘हामीले गरेका कामको फेहेरिस्त जनतालाई देखाउन किन कन्ज्युस्याँइ गरियो ? यसबाटै नागरिकले राजनीतिलाई बेवास्ता गरे’ उनले भने, ‘अर्थमन्त्रीको श्वेत पत्र हेर्दा धेरै विकासका जगहरु संविधान जारी भएपछिको दश वर्षमा सम्पन्न भएका रहेछन् ।’ भदौ अघि केही नभएको, फागुनपछि विकास भएको भाष्यबाट बाहिर निस्कन उनले आग्रह गरे ।

४ हजार मेगागाट बिजुलीबाट ११ हजार मेगावाटमा पुगेको नेपालमा के कति काम भयो आम नागरिकले बुझ्नुपर्ने उनले बताए । ‘हामीले सुशासनमा केही कमजोरी गरेका हौं, अझैपनि प्रशासन सुधार गर्न सकिन्छ’ उनले भने, ‘सडक, खानेपानी, स्वास्थ्य र शिक्षामा उल्लेख्य प्रगती गरेको कुरा हामीले देखाउन पनि सकेनौं ।’ ५१ वर्षबाट औषत उमेर ७२ वर्ष पुगेको, माध्यामिक विद्यालय पढ्न घर छाड्ने अवस्थाबाट घरछेवैमा गुणस्तरीय शिक्षा पाउने, पालिका तहमै अस्पताल र चिकित्सकको सेवा पाउने कामलाई उपलब्धी मान्नुपर्ने उनले बताए ।

अहिले पनि संघ सरकारले प्रदेशलाई बेवास्ता गर्दा विकासबाट जनताले लाभ लिन नसकेको उनको भनाइ छ । ‘नजिकको स्थानीय सरकारले दैनिक आवस्यकताका काम गर्ने, प्रदेश सरकारले विकास निर्माण गर्ने र संघले नीति बनाउने हो’ उनले भने, ‘संघले प्रदेश र स्थानीय सरकारको अधिकारमा हस्तक्षेप गर्ने होइन ।’

उनले स्थानीय मदिरा र गाजाको बैधानिकता दिने नीति बनाएर लागू गर्ने काममा पनि संघिय सहमतिले ढीला भएको बताए ।

बागलुङ नगरपालिकाले चार वर्षमा बालमैत्री नगर घोषणा, छाडा कुकुर राख्ने होस्टेल निर्माण, शिक्षा र स्वास्थ्य सेवाको गुणस्तर सुधार गरेको नगरप्रमुख बसन्त कुमार श्रेष्ठले बताए । त्यस बाहेक पुर्वाधारतर्फ दर्जन पर्यटकीय क्षेत्रको विकास, ग्रामीण सडकहरु कालोपत्र गरिएको र सुन्तला सहितका फलफूल उत्पादन बढाएर आर्थिक विकासमा जोड दिएको श्रेष्ठले जानकारी दिए । संस्थागत सुशासनलाई प्राथमिकता दिएर कार्यालय व्यवस्थापन, सबै सेवा अनलाइनमार्फत दिने, सेवा प्रवाहको तथ्यांक डिजिटल बनाउने काम भएको पनि उनले जानकारी दिए ।

कार्यक्रममा गण्डकी प्रदेशका भौतिक पुर्वाधार विकास मन्त्री गोबिन्दबहादुर नेपाली, उपसभामुख बिना थापा, सांसद चम्पा खड्का, कृष्ण पाठक, नेकपाकी मुख्य सचेतक कुशुम बुढा, लुम्बिनी सांस्कृतिक नगरपालिकाकी कावा प्रमुख कल्पना हरिजन लगायतले शुभकामना दिए । चार वर्ष सम्ममा गरेका कामलाई लिखित, मौखिक र कार्यक्रमको अडियो भिडियो समेत बनाएर नगरपालिकाले प्रस्तुत गरेको थियो ।

नगरप्रमुख श्रेष्ठको अध्यक्षता, प्रशासकीय अधिकृत भीमसेन पन्तले सञ्चालन गरेको कार्यक्रमको समापन भने उपप्रमुख राजु खड्काले गरेका थिए । कार्यक्रममा यो वर्षको सर्वोकृष्ट कर्मचारीको रुपमा भीमसेन पन्त र उत्कृष्ट कर्मचारीको रुपमा सरस्वती देवी रेग्मीलाई सम्मान गरियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->