बागलुङ/निर्माण व्यवसायी संघ बागलुङले निर्माण सामग्रीको अत्यधिक मूल्यवृद्धि भएको भन्दै समायोजन गर्न माग गरेको छ । मुल्यबृद्धिका कारण निर्माण व्यवसाय संकटमा परेको भन्दै जिल्लाका विभिन्न सरकारी कार्यालयमा ज्ञापन–पत्र बुझाउँदै संघले समायोजन गर्न माग गरेको हो ।
ज्ञापन–पत्र बुझाउँदै संघले मुल्य समायोजन नभएमा काम ठप्प पार्ने चेतावनी समेत दिएको छ । निर्माण व्यवसायी संघ बागलुङका अध्यक्ष रामराज गुरुङले मूल्य समायोजन नभए काम गर्न नसक्ने भन्दै निर्माण कार्य ठप्प पार्ने बताए ।
संघले जिल्ला प्रशासन कार्यालय बागलुङ, सडक डिभिजन कार्यालय, पूर्वाधार विकास कार्यालय, सघन शहरी विकास तथा भवन निर्माण आयोजना, जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय तथा बागलुङ नगरपालिकामा ज्ञापनपत्र बुझाएको थियो ।
संघका महासचिव ध्रुव खड्काद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा पछिल्लो समय डिजेल, बिटुमिन लगायत निर्माण सामग्रीको मूल्यमा अत्याधिक वृद्धि हुँदा निर्माण व्यवसायी मारमा परेको उल्लेख गरिएको छ । संघले निर्माण व्यवसायीलाई कालोसूचीमा राख्ने, बैङ्क ग्यारेन्टी जफत गर्ने जस्ता कार्य तत्काल रोक्न, सबै आयोजनाको म्याद थप गर्न तथा आवश्यक बजेट व्यवस्थापन गर्न सरकारसँग माग गरेको छ ।
त्यसैगरी ज्ञापनपत्रमा पेट्रोलियम पदार्थ र निर्माण सामग्रीको मूल्यवृद्धिका कारण निर्माण कार्य प्रभावित भएको, लागतअनुसार मूल्य समायोजन नहुँदा व्यवसायी आर्थिक संकटमा परेको तथा सरकारले समयमै उचित निर्णय नगरे सम्पूर्ण निर्माण कार्य स्वतः बन्द हुने अवस्था सिर्जना हुने चेतावनी दिइएको छ ।





