पोखरा/पोखरा महानगपालिकाले पोखरा बसपार्कको अतिक्रमित जग्गाका बसोबासीलाई आफ्नो विवरण बुझाउन जारी गरेको छ ।
अतिक्रमित बसपार्क खाली गर्न यसअघि दिइएको ३५ दिने समयसीमा सकिन ३ दिनमात्र बाँकी रहँदा महानगरले सूचना जारी गर्दै यसअघि निस्सा वितरण भएका सबै भूमिहीन दलित, भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबासीलाई आफ्नो परिचय खुलाइ निवदेन दिन आग्रह गरेको हो । महानगरले जारी गरेको सूचनामा यसअघि वितरण भएको निस्सा,घरमूलीको नाम,नागरिकताको प्रमाणपत्रको प्रतिलिपि तथा घरमूली र अन्य व्यक्तिको नाता खुलेको स्वघोषणा पत्र पेश गर्न भनेको हो । ती सबै प्रमाणहरु वडा नम्बर ९ को कार्यालयमा बुझाउन भनिएको छ । २०३२ सालमा प्रस्तावित बसपार्क यही वडामा पर्छ ।
पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यका अनुसार सर्वोच्च अदालतले सुकुम्बासी बस्तीमा रहेकाहरुको व्यस्थापनको आदेशलाई मध्यनगर गर्दै यो सूचना जारी गरिएको हो ।
बसपार्कमा रहेका अनधिकृत संरचना हटाउन हामीले यसअघि नै ३५ दिने सूचना दिइसकेका छौँ, बसपार्क खाली गर्ने अनि त्यहाँ रहेका वास्तविक भूमिहीनको व्यवस्थापन गर्ने नै हो,’मेयर आचार्यले भने,‘हामीले खोजेको सूचनाले घर–टहरा हटाउने क्रममा कोही अशक्त,अपाङ्ग वा थप सेवा लिनुपर्ने नागरिक भए÷नभएको पर्गेल्न पनि सहज हुनेछ ।’
अधिग्रहणको बेला २०५ रोपनी क्षेत्रफल रहेको बसपार्क क्षेत्र अतिक्रमणपछि एक सय रोपनीभन्दा पनि कम क्षेत्रमा खुम्चिएको छ । अहिले सो क्षेत्रमा ४ सय ५७ परिवार बसोबास गर्दै आएको महानगरले तथ्याङ्क निकालेको छ । तीमध्ये केहीसँग महानगरले दिएको अस्थायी निस्सा छ भने कतिपय कित्ताहरु पटक–पटक बिक्री हुँदै आइरहेका छन् ।
यस्तै महानगरले बुधबार नै फिर्केखोलाको अतिक्रमण जेठ ९ गतेभित्र हटाउन सूचना जारी गरेको छ । फिर्के खोला बग्ने क्षेत्र नै मिचेर बनाइएका संरचनाहरु आफैंले नहटाए बल प्रयोग गर्ने महानगरको तयारी छ ।
महानगरले गएको वैशाख ४ गते फिर्केखोलाको खोलाघर खाली गर्न सूचना जारी गरिएको स्मरण गर्दै भनेको छ,‘पोखराको मध्य भाग भएर बग्ने फिर्के खोलाको प्राकृतिक बहावमा अवरोध सृजना हुने गरी विभिन्न स्थानमा व्यक्तिगत÷संस्थागत रूपमा अतिक्रमण भई खोलाको अस्तित्व समाप्त हुने अवस्था आएकाले यसको संरक्षण, संवद्र्धन र विशेष सौन्दर्यीकरणको योजना सहित पोखरा महानगरपालिकाले फिर्के खोलाको खोला घर नाप जाँच कार्य सम्पन्न गरिसकेको छ ।’
पश्चिम पोखराको सिरानमा पर्ने अँधेरी कुनाबाट सुरु हुने फिर्के खोला ८ किलोमिटर लामो छ र यो खोलाको पानीको बहाव नै रोकिने गरी १६० भन्दा बढी संरचनाहरु निर्माण भएका छन् । त्यस्ता संरचनामध्ये केही सरकारी,लायन्स जस्ता सामाजिक संस्था, विभिन्न समूहका समाज घर र अन्य निजी घर रहेका छन् । खोला किनारमा केही संख्यामा सुकुम्बासी पनि रहेको महानगरको भनाइ छ ।
मापदण्ड कति ?
फिर्केखोलाको मापदण्ड कति कायम गराउनेबारे निर्णय भइसकेको छैन । ‘अहिले हामीले खोलाघरमा नै बनेका अवैध संरचना हटाउन भनेका हौँ,खोलो हिँड्ने ठाउँ मिचिएको छ,त्यो हटाउनुस् भनेको हो,’पोखराका मेयर धनराज आचार्यले भनेका छन्,‘मापदण्डबारे पनि निर्णय हुन्छ ।’
फिर्के वरपर बस्नेको लगत संकलन सुरु
पोखरा महानगरले जारी गरेको ३५ दिने सूचनाको म्याद यही जेठ ८ गते सकिँदै छ । यहीबीचमा फिर्केखोला वरपरका अवैध संरचना र सुकुमबासीहरुको पुनः लगत संकलन सुरु गरेको छ । पोखरा ४ का वडाध्यक्ष देवकृष्ण पराजुलीका अनुसार मंगलबारबाट सो अभियान सुरु भएको हो ।
उनका अनुसार वडा नम्बर ४ को फिर्के वरपर करिब ४० घरजति सुकुमबासीहरु रहेका छन् । लगत संकलनको क्रममा अवैध संरचनाको लगत पनि निकालिएको छ ।
‘यो सबै काम सक्न केही दिन लाग्ला,’उनले भने,‘हामीले वडा नम्बर ४ को लगत निकालेका छौँ ।’
साइकल ट्रयाकको योजना
फिर्केखोला अतिक्रमण गरेर बनेका संरचना हटाइसकेपछि फिर्केखोलाको सौन्दर्यीकरण गर्ने पोखरा महानगरपालिकाको योजना छ ।
एसियाली विकास बैंकको सहयोगमा सुरु भएको दिगो पर्यटन विकास परियोजनाअन्तर्गत फिर्के खोलाको संरक्षण र सम्बद्र्धनसँगै त्यसको दुवैतर्फ साइकल लेन बनाइने छ,’मेयर आचार्य भन्छन्,‘सहरको बीचमा रहेको खोला जीवन्त हुँदा यसले वातावरण सुधारमा योगदान गर्छ भने साइकल लेनको निर्माणले एउटा पर्यटकीय गन्तव्य थपिन्छ ।’





