बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

अतिक्रमण गरिएको जग्गा खाली गर्न लमजुङका स्थानीय तहले गरे ताकेता

अतिक्रमण गरिएको जग्गा खाली गर्न लमजुङका स्थानीय तहले गरे ताकेता

उनीहरूले अवैध संरचना नहटाए स्थानीय तह आफैंले हटाउनेसमेत चेतावनी दिएका छन् ।


  • ढोरपाटन संवाददाता
  • जेष्ठ ७ २०८३, बिहिबार
लमजुङको सुन्दरबजार नगरपालिकाको कार्यालय । तस्वीरः ढोरपाटन

लमजुङ / सार्वजनिक तथा सरकारी जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाउन लमजुङका स्थानीय तहहरूले ताकेता गर्न थालेका छन् ।

सार्वजनिक सम्पत्तिमाथिको अतिक्रमण हटाउन बेंसीसहर, सुन्दरबजार र राइनास नगरपालिकाले छुट्टाछुट्टै सूचना जारी गर्दै ताकेता गरेका हुन् । उनीहरूले अवैध संरचना नहटाए स्थानीय तह आफैंले हटाउनेसमेत चेतावनी दिएका छन् ।

बेंसीसहर नगरपालिकाले बाटो, कुलो, पोखरी, मसानघाट, गौचरनलगायत सरकारी तथा सार्वजनिक जग्गा मिचेर बनाइएका घर, टहरा वा अन्य संरचना ३५ दिनभित्र आफैं हटाउन निर्देशन दिएको छ ।

निमित्त प्रमुख प्रशासकीय अधिकृत मनोज सिंह बोहराको नामबाट मंगलबार जारी सूचनामा नगरपालिकाले तोकिएको अवधिभित्र अतिक्रमण नहटाए कानुनअनुसार डोजर लगाएर संरचना हटाइने र त्यसको खर्चसमेत सम्बन्धित व्यक्ति वा संस्थाबाट असुल गरिने चेतावनी दिएको छ ।

साथै, सार्वजनिक जग्गा मिचिएको जानकारी भए प्रमाणसहित नगरपालिका वा वडा कार्यालयमा उजुरी दिन नगरवासीलाई आहृवान गरिएको छ । सूचना दिने व्यक्तिको विवरण गोप्य राखिने नगरपालिकाले जनाएको छ ।

सुन्दरबजार नगरपालिका प्रमुख प्रशासकीय अधिकृत रमेश घर्तीले सार्वजनिक, ऐलानी, पर्ती, गौचरन, खर्क, कुलो, राजकुलो, खोला, नदी, विद्यालय, मठमन्दिरलगायत जग्गाको संरक्षणका लागि सुझाव तथा गुनासो संकलन अभियान सुरु गरेको बताए । उनले सोमबार सूचना जारी गर्दै १५ दिनभित्र लिखित, इमेल वा अनलाइन माध्यमबाट गुनासो तथा सुझाव दिन आग्रह गरेको छ ।

नगरपालिकाले सार्वजनिक जग्गा खोजी र संरक्षणलाई प्रभावकारी बनाउन लगत संकलनको कामसमेत अघि बढाएको जनाएको छ । गुनासो दर्ता गर्ने व्यक्तिको पहिचान गोप्य राखिने समेत नगरपालिकाले जनाएको छ । सुन्दरबजार नगरपालिकाले भवन तथा भौतिक संरचना अभिलेखीकरण अभियानसमेत सुरु गरेको छ ।

२०८३ वैशाख मसान्तसम्म निर्माण भएका तर नक्सा पास नभएका वा नक्साभन्दा फरक संरचना बनाइएका घरलाई ३० दिनभित्र अभिलेखीकरण प्रक्रियामा आउन आग्रह गरिएको छ ।

राइनास नगरपालिकाले पनि सार्वजनिक जग्गामा अनधिकृत रूपमा बनाइएका घरटहरा हटाउन चेतावनी दिएको छ । नगरपालिकाले तोकिएको समयभित्र संरचना नहटाए कानुनबमोजिम हटाइने र लागेको खर्च अतिक्रमणकर्ताबाट असुल गरिने जनाएको छ ।

राइनास नगरपालिकाले सडक अतिक्रमण नियन्त्रणमा समेत कडाइ गरेको छ । मुख्य तथा शाखा सडकमा निर्माण सामग्री, पसलका सामान वा अन्य वस्तु राखेर आवागमन अवरुद्ध गर्ने काम रोक्न समेत निर्देशन दिइएको छ । अटेर गरे सामग्री नियन्त्रणमा लिएर कारबाही गरिने चेतावनी नगरपालिकाले दिएको छ ।

लमजुङका स्थानीय तहहरुले पछिल्लो समय सार्वजनिक सम्पत्तिको संरक्षण, अव्यवस्थित बस्ती व्यवस्थापन तथा सडक अतिक्रमण नियन्त्रणलाई प्राथमिकतामा राख्दै अभियानात्मक रुपमा कदम चाल्न थालेका हुन् ।

मध्यनेपाल नगरपालिका प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिलाले सार्वजनिक तथा सरकारी जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाउने सम्बन्धमा सूचना जारी गरिने बताए । ‘म २ महिनाजति विदामा थिएँ । बल्ल कार्यालय आएको छु । अब सूचना निकालेर अघि बढ्छौं,’ उनले भने ।

मर्स्याङ्दी गाउँपालिकाले यसअघि नै एउटा समिति गठन गरेर सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका घरटहरा तथा संरचनाबारे खोजी गरी हटाउने अभियान थालेको थियो । ज

नप्रतिनिधिले उक्त कार्यलाई तीव्रता दिए पनि अन्यत्र कहीँकतै यस्तै खालका कार्यक्रमहरु अघि नबढ्दा मर्स्याङ्दीमा मात्रै कार्यान्वयन हुन सकेको थिएन ।

क्व्होलासोथार, दोर्दी र दूधपोखरी गाउँपालिकाले पनि अनौपचारिक रूपमा सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका घरटहरा तथा संरचनाहरु हटाउन निर्देशन दिँदै आएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->