शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

पर्यटन र कृषिको व्यावसायीकरण गर्ने निसीखोलाको योजना

पर्यटन र कृषिको व्यावसायीकरण गर्ने निसीखोलाको योजना

निसीखोला गाउँपालिकाले नर्सिङकोट पर्यटकीय क्षेत्रको लागि २४ करोडको डीपीआर पनि बनाइसकेको छ । तर, सडककै अभावले योजनाहरु ओझेल परेका छन् ।


  • ढोरपाटन संवाददाता
  • जेष्ठ ८ २०८३, शुक्रबार

बागलुङ/निसीखोला गाउँपालिकाको वडा नं. १ देखि ६ सम्मको भाग मध्यपहाडी लोकमार्गले चिरेको छ । हिजोको अति दुर्गम मानिने निसीखोला अब सडकको सहज पहुँचले सुगम बनेको छ । निसीका बासिन्दाले तत्काल सदरमुकामसहित राजधानी र सहरी क्षेत्रमा यात्रा गर्न भनेको बेला सवारी साधन पाउन थालेका छन् । रुकुम, जाजरकोट, डोल्पालगायतका जिल्लाबाट आउने रात्रीबसले स्थानीयलाई जतिबेला पनि सवारी पाउने र यात्रा गर्न सक्ने अवस्था बनेको छ ।

तर वडा नं. ७ मा मध्यपहाडी लोकमार्ग जोडिएको छैन । यो वडालाई छोएर आउने भनेको सालझण्डी ढोरपाटन सडक पनि यहाँमात्रै बन्न सकेको छैन । त्यसैले विकास निर्माणका अन्य काममा सामाग्री ढुवानीदेखि आम नागरिकलाई स्वास्थ्य सेवा लिन बुर्तिवाङ झर्न पनि सास्ती पर्ने गरेको छ । जसका कारण नागरिकहरुले अहिले पनि अत्यावस्यक काममा बजार आउन सकेका छैनन् ।

त्यति मात्र होइन, यहाँका बासिन्दाले कृषि व्यवसाय गर्न थालेका छन् । तर यातायातकै अभावमा उत्पादित वस्तु बजार पठाउन नसकेको गुनासो गर्छन् । उत्पादित कृषि फसल डोकोमा बोकेर पठाउनुपर्ने भएपछि न मूल्य पाउने न समयमा बजारमा पठाउन सकिने समस्याले स्थानीय हैरान छन् ।

निसीखोला गाउँपालिकाको महत्वपुर्ण पर्यटकीय गन्तव्य बन्न सक्ने यहाँको नसिंङकोट छ । तर, वडा कार्यालयसम्म पुग्न समेत समस्या भएपछि नर्सिङकोटमा पर्यटक लैजान समस्या भएको छ । समस्या मात्र होइन, यहाँ बनाउन लागिएका पदमार्ग, सडक सञ्जाल, खानेपानी योजना र पर्यटन प्रवद्र्धनका सबै योजनामा बजेट अभाव भएको छ ।

गाउँपालिकाले विभिन्न योजना देखाउने बेलामा भने नर्सिङकोटको निकै नाम आउने गर्छ । नीति तथा कार्यक्रममा पनि पटक पटक नाम जोडेर देखाउने गरिएको छ । तर विकासका योजना समावेश नभएपछि चर्चा मात्रले विकास लैजान नसकिएको वडा अध्यक्ष दीपक कुँवरको गुनासो छ । उनका अनुसार अरु वडाको तुलनामा ७ मा काम गरेर प्रतिफल दिन नसकिएको बताए । परेका योजना पनि अलपत्र छन् भने पालिकाबाट पनि मागेझै कार्यक्रम परेका छैनन् । बुर्तिवाङ देखिनै पदमार्ग बनाएर नर्सिङकोट लैजान सकेमा वनभोज जाने, पदयात्रा गर्नेले सहज महसुस गर्ने भएकोले सोही प्रकारको बजेटको खोजी पनि भैरहेको छ ।

स्थानीय तह गठन पछि नै पालिकाले महत्वपूर्ण स्थलको खोजी गर्ने क्रममा नर्सिङकोटलाई प्राथमिकतामा राखेको थियो । अग्लो स्थान, ढोरपाटन नगरपलिकाको बुर्तिवाङसहित निसीखोला गाउँपालिकाको अधिकांश भूगोल देखिने, टुप्पोमा पुग्दा हिमाली श्रृंखलाहरु प्रष्ट देखिने भएकोले पर्यटकीय दृष्टीले यो क्षेत्र महत्वपूर्ण छ ।

ढोरपाटनमा घुम्न आउने पर्यटकदेखि स्थानीय समेत यहाँ लैजान सकेमा यो क्षेत्रको प्रवद्र्दन हुने मात्र नभइ स्थानीयले पनि यहाँबाट अधिकतम फाइदा लिनसक्ने संभावना छ । त्यसका लागि निसीखोला गाउँपालिकाले नर्सिङकोट पर्यटकीय क्षेत्रको लागि डिपिआर पनि बनाइसकेको छ । २४ करोडको डिपिआर बनाइएको हो । तर सडककै अभावले सबै योजनाहरु ओझेल परेका छन् । बाइसे चौबीसे राज्यको अवशेषको रुपमा यो क्षेत्रलाई चिनिन्छ । यहाँ ऐतिहासिक मठमन्दिर छन् । नामै नर्सिङकोट रहेकोले यो राजारजौटाको स्थल हो भन्ने कुरामा शंका छैन । साथै यहाँ कालिका मन्दिर रहेकोले राजाहरुको बसोबास थियो भन्ने पनि बुझीन्छ । किनकि राजा र सेनाहरु रहेको स्थानमा कालिकाको मन्दिर रहने गरेको छ । त्यस बाहेक केही पुरातात्विक महत्वका भग्नावशेष पनि यत्रतत्र देखिन्छन् । खोजी अनुसन्धान गर्नेका लागि पनि यो वडा निकै महत्वपूर्ण क्षेत्र हो ।

खानेपानीको समेत यहाँका जनताले समस्या भोगीरहेका छन् । वडा कार्यालयले नागरिकको हितका लागि कुँडुला खानेपानी आयोजना सञ्चालनमा ल्याएको छ । तीन वर्षदेखि नियमित काम भएपनि बजेट अभाव छ । चालु वर्ष १० लाख रुपैयाँमात्र बजेट भएकोले कामले गति लिन सकेन । आगामी वर्षका लागि गण्डकी प्रदेश सरकारले यहाँ ५० लाख बजेट दिने भएपछि काम गरेर जनतालाई पानी खुवाउन सकिन्छ कि भन्नेमा कुँवर आशावादी छन् । प्रदेश सरकारले भने एक करोड रुपैयाँ सम्मको बजेटले काम पुरा हुने अवस्था भएमा एकैपटक काम सक्नेगरी बजेट लगानी गर्ने योजना अगाडि सारेको छ । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले त्यस्ता योजनाको सही रुपमा छनौट गरेर प्रदेश सरकारमा ल्याउन आग्रह पनि गरेका छन् । यो योजना सम्पन्न भएमा ‘एक घर एक धारा’ कार्यक्रमअन्र्तगत ७० घरले शुद्ध पानी खान पाउनेछन् ।

त्यस बाहेक उस्तै प्रकृतिको डुन्डुरे भोज चालिसे भलाखर्क खानेपानी आयोजना पनि सञ्चालनमा छ । साविकको वडा नं. १ का ७० घरका लागि यो योजना सञ्चालन गरिएको हो । तर बजेट अभाव छ । वडा नं. ७ मै लिफ्ट माफृत वडाबासीलाई पानी खुवाउने अर्को योजना समेत छ । बौलाबासे चोलाङ धुँवाखोर लिफ्ट खानेपानी आयोजना निर्माण गर्न सकेमा एकैपटक ५ सय घरलाई शुद्द खानेपानी खुवाउन सकिने लक्ष्य वडाको छ । यो कामका लागि वडाले स्टिमेट र डिपिआर समेत गराएको छ । सामान्य खर्चले यो काम संभव छैन । त्यसका लागि ३ करोड बजेट आउने अवस्था भएपनि धेरै खर्च लाग्ने भएपछि प्रदेशबाट बजेट सुनिश्चित नभएसम्म काम गर्न नसकिने अवस्था छ । प्रदेश सांसद द्रोण कुँवरको पहलमा यो योजनामा बजेट बढाउन पहल भएपछि स्थानीयमा हौसला थपिएको कुँवर बताउँछन् ।

प्रदेशको विशेष अनुदान ४० लाख, गतवर्ष निसीखोला गाउँपालिकाले विनियोजन गरेको ४० लाख गरी ८० लाखको आयोजनामा यहाँको पञ्चासे आधारभूत बिद्यालयको ८ कोठे भवन निर्माण सुरु भएको छ । यो भवन बनिसक्दा बालबालिकाले सुरक्षित रुपमा बसेर पढ्न पाउनेछन् । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा छुटेकोले सोही मोडलमा यो विद्यालय बनाउने योजना वडाको छ । अझै ४० लाख बजेट भएमा मात्र यो विद्यालयको काम पूर्णता हुने उनले बताए ।

सडकको अभाव भएपनि सूचिकृत भएको सालझण्डी ढोरपाटन सडकमा काम गर्न कठिन भएको, बेरुजु आउने समस्या यहाँ छ । तसर्थ संघिय सरकारमा पटक पटक प्रदेशका सांसदमार्फत पहल भैरहेको छ । चालु वर्ष ४५ करोड बजेट भए पनि यो वडामा काम भएको छैन । वडा नं. १ को हर्पेमा काम गरिएको थियो । मुख्य सडक नबनेकोले सहायक सडक पनि जीर्ण छन् । वर्षातमा त वडा कार्यालय जान पनि समस्या पर्ने गरेको वडा अध्यक्ष कुँवर गुनासो गर्छन् ।

राजकुत स्वास्थ्य चौकीमा बर्थिङ सेन्टर छ । तर यो सेन्टरमा सेवा लिंदा जटिल समस्या आयो भने जाने ठाउँको अभाव छ भन्दै कतिपयले पहिले नै सहरमा गएर बस्ने गरेका छन् । तर पनि स्वास्थ्य संस्था सुधारका लागि काम भैरहेका छन् ।

सामाजिक सुरक्षा भत्ता बैंकमार्फत् दिने, हरेक नागरिकको खाता खोल्ने र नसमेटिएकालाई घरमा पुगेर पनि सहजीकरण गर्दै भत्ता दिने काम भएको छ । वडामा सेवा लिन आएका सबै नागरिकलाई वडामै फोटोकपीको सेवा दिइएको छ । जसका कारण फोटोकपी खोज्दै काममा ढिलाइ नहोस् भन्ने चाहना राखेको वडा अध्यक्ष कुँवरले जानकारी दिए ।

युवाहरुको चाहनालाई पूरा गर्न खेल मैदान निर्माणमा १० लाख लगानी गरिएको गतवर्षको योजनामा चालु वर्ष ५ लाख थपेर काम भैरहेको छ । कृषितर्फ किसानलाई अनुदानमार्फत् तरकारी, यान्त्रिक हलो, फर्मदर्ता गरेका किसानलाई उत्पादनमा आधारित अनुदान दिने व्यवस्था समेत छ । अधिकांस किसान आत्मनिर्भर छन् । घरमा उत्पादन गरेको तरकारी, फलफूल, दुध समेतमा आत्मनिर्भर छन् । सडक यातायातको अभावमा बजारीकरणमा भने समस्या छ । मण्डली स्थान कृषि तथा पशुपंक्षी फर्मले फरक उत्पादन र बजारीकरणमा साथ दिएको छ । किसानले अकबरे खुर्सानी प्रसस्त उत्पादन गरेका छन् । तर त्यो बजार पाउन नसकी बढाउन नसकेको स्थानीय सीता पुनको भनाइ छ । यहाँका किसानले समूहमा मिलेर ३० जनाले अकबरे खुर्सानी सहितको ताजा तरकारी खेती थालेपनि बजारको लागि माग गरिरहेका छन् ।

ताजा तरकारी समयमा बजार पठाउने समस्याका कारण कतिपय किसानले बाख्रापालन व्यवसाय पनि गरेका छन् । एकै घरमा ५० देखि १ सय वटासम्म बाख्रा पाल्ने किसान यहाँ छन् । उनीहरुलाई सम्मान गरेर व्यवसाय बढाउन प्रेरित गर्ने काम भएको छ । सालझण्डी ढोरपाटन सडक स्तरीय बन्दा वडा भित्रको १८ किमी क्षेत्र सहज बनेपछि सबै सेवाको वातावरण बन्ने देखिन्छ ।

शैक्षिक सुधारका लागि दरबन्दी अभाव छ । जसका कारण विद्यालयमा गुणस्तर सुधारका काम गर्न सकिएको छैन । तर पनि भवनहरु मर्मत गरेर विद्यार्थीलाई सुरक्षित पढ्ने वातावरण भने बनाइएको छ । भौगोलिक रुपमा कठिन स्थान भएर पनि लगानी बढाउन सकेमा पर्यटकीय क्षेत्रहरुको पहिचान गरी प्रवद्र्दनका कार्यक्रम ल्याउन सकिन्छ । नसिंङकोट, कुतथाप्ला, कालीका मन्दिर जस्ता स्थानमा पर्यटक लैजाने, नजिकमा होटल व्यवसाय सञ्चालनको काम गर्ने हो भने युवा रोजगारी बढाउन सकिन्छ । त्यसका लागि पालिकाले लगानी गर्ने, संघ प्रदेशमा समन्वय गर्ने र प्रचारको काम गर्न पहल भैरहेको छ ।

पर्यटक भित्राउन सके समृद्वि संभव छ
दीपक कुँवर
वडाध्यक्ष
निसीखोला गाउँपालिका वडा नंं ७

भौगोलिक रुपमा ठगिएको मेरो वडालाई गाउँपालिकाले पनि प्राथमिकतामा राखेको छैन । दैनिक काम गर्न धाएर जानुपर्छ । सडकहरु जोखिमका छन् । वर्षातमा त सेवाग्राहीहरु वडा कार्यालय आउन पनि जोखिम मोल्नुपर्ने अवस्थाको छ । काम गरिरहेपनि हामीले गरेझँै देखिएको छैन । तसर्थ सडक स१जाल नै बढी महत्वपुर्ण रहेछ । अन्य वडामा यो समस्या छैन । हामीले भने रातदिन नै सडकको सास्ती खेपेका छौं । त्यति भएर पनि वडामा आएको चार वर्षमा धेरै सुधारका काम गर्न खोजिएको छ । यसरी काम गर्दा वडाका नागरिकले कम्तिमा स्थानीय सरकार छ भन्ने अनुभूति पाउने छन् भन्ने विश्वास छ ।

केही समय अघिसम्म त यो वडामा राष्ट्रिय प्रसारणको बिजुली थिएन । अहिले यहाँ बिजुली बाल्ने काम त भयो तर व्यवसायमा विद्युतीकरण जोड्न सकिएको छैन । पशुपालन, कृषिको व्यवसायीकरणमा भने स्थानीय सक्रिय छन् । किवीखेती यहाँ राम्रो छ । त्यसका लागि पकेटको रुपमा विकास गरेर लैजाने लक्ष्य छ । बिपन्न परिवारलाई बाख्रा वितरण गरेर व्यवसाय उन्मुख बनाउने काम भैरहेको छ । नवप्रवद्र्धन कार्यक्रमअन्तर्गत यो काम गर्दा धेरै नै प्रभावकारी भएको छ ।

वडालाई मध्यपहाडी लोकमार्गमा जोड्न दर्लिङखोलादेखि सडकको ट्रयाक खोलिंदै छ । दर्लिङखोला धुँवाखोर सडकलाई प्राथमिकतामा राखिएको छ । त्यस्तै भीरकुना, धावाङ हुँदै प्युठान जोड्न सकेमा यातायातको पहुँच बढ्ने र किसानका उत्पादनले बजार पाउनेछ । बिपतले निसीखोलामा पटक पटक असर परेको छ । त्यसैले बिपत व्यवस्थापनका लागि कतिपय योजना सञ्चालनमा छन् । जंगललाई सदुपयोग गर्दै जडिबुटीको उपयोगितामा ध्यान दिने लक्ष्य छ । ग्रामीण अर्थतन्त्र भएकोले उद्योगधन्दाको विकास संभव पनि छैन । तसर्थ पर्यटन, कृषि र पशुपालनबाटै स्थानीयले आम्दानी गर्न सक्ने र अर्थतन्त्र बलियो बनाउन सक्ने स्थिति बिचारेर काम गर्दैछौं ।

यहाँका विद्यालयका भवनहरु पक्की बनाउने, कम्प्युर शिक्षा दिने र शिक्षक, अभिभावक तथा समुदाय मिलेर विद्यालय राम्रो बनाउने अभियान चलाइरहेका छौं । सरकारी विद्यालयमै पढाउनुपर्छ भनेर दवाव दिने होइन, बरु सरकारी विद्यालय गुणस्तरीय बन्दा निजी क्षेत्रका विद्यार्थीले खोजेर आउने वातावरण बनाउने हो । शिक्षकको दरबन्दी बढाउन सकेमा सामुदायिक विद्यालयहरुको गुणस्तर बढ्छ र बसाइँसराइ पनि रोकिने छ । समयमा काम गरेर वडाबासीलाई गाउँमा अड्याउन सकेमा सालझण्डी ढोरपाटन सडक बनेपछि तराइबाट समेत पर्यटक ल्याएर वडालाई समृद्द बनाउन सकिने संभावना छ । त्यतिन्जेल धैर्य गर्नुपर्ने अवस्था छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->