शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

बागलुङ नगरका उप–प्रमुखको तलब सुविधा सामाजिक काममा

बागलुङ नगरका उप–प्रमुखको तलब सुविधा सामाजिक काममा

‘‘जनप्रतिनिधिको सेवा सुविधा सामाजिक कार्यमा खर्च गर्न पाउँदा गौरवसंगै सामाजिक उत्तरदायित्व बहन गरेको महशुश हुन्छ’’ खड्काले भने ।


  • ढोरपाटन संवाददाता
  • जेष्ठ ९ २०८३, शनिबार

बागलुङ/केही जनप्रतिनिधिले विकास निर्माणका योजनामा अनियमितता गर्दा अख्तियारको फन्दामा परेको समाचारहरु अखबारका हेडलाइन बनिरहँदा यहाँका एक जनप्रतिनिधिले भने आफुले प्राप्त गर्ने तलब सुविधा सामाजिक काममा लगाउँदै आएका छन् ।

बागलुङ नगरपालिकाको उप–प्रमुखमा उम्मेदवारी दिएपछि राजु खड्काले जनप्रतिनिधिको रुपमा प्राप्त गर्ने सेवा सुविधा जनसेवामा लगाउने घोषणा गरेका थिए । चुनावी वाचालाई उप–प्रमुख बनेको ८ महिनामै कार्यान्वयन गर्नुभएका खड्काले प्राप्त तलब सुविधा विद्यालयमा अक्षयकोषदेखि किरियापुत्री भवन निर्माणमा लगाउँदै आएका छन् ।

खड्काले रामरेखा आधारभूत विद्यालयलाई १ लाख, त्रिभुवन माध्यमिक विद्यालय पैयुँपाटालाई १ लाख, सिगाना माध्यमिक विद्यालय लामिचौरलाई ४४ हजार, विश्वकर्मा माध्यमिक विद्यालय कालीमाटीलाई ७५ हजार, नेपाल पत्रकार महासंघ बागलुुङ शाखालाई ३५ हजार, कृष्ण प्राथमिक विद्यालय सम्माचौरलाई ५० हजार रुपैयाँ प्रदान गरेका छन् ।

यस्तै, उपल्लाचौर किरियापुत्री भवनलाई ३५ हजार, मानवसेवा आश्रमलाई १ लाख र राधाकृष्ण मन्दिर संरक्षण, व्यवस्थापन र नित्य पुजाका लागि अक्षयकोष वृद्धिका लागि ३५ हजार रुपैयाँ प्रदान गरिएको खड्काले जानकारी दिए । ‘‘आवश्यकता हेरेर विद्यालयदेखि विभिन्न कोष र संघसंस्थालाई सहयोग गर्दै आएको छु’’ खड्काले भने ।

खड्काले चाडपर्वमा सहिद, बेपत्ता र घाइतेका परिवार, ज्याला मजदुरी गरी जीविकोपार्जन गर्दै आएको परिवारलाई लत्ताकपडा र खाद्यान्न वितरण गर्दै आएका छन् । खड्काले तलब सुविधाबाट प्राप्त भएको धेरै रकम वितरण गर्न भने बाँकी रहेको बताए ।

शैक्षिक सुधारसंगै सामुदायिक विद्यालयका विद्यार्थीको हितका लागि अक्षयकोष स्थापना गर्दै जाने, सहिद परिवार, गरिब तथा अपाङ्गताको क्षेत्रमा सहयोग गर्ने खड्काको योजना छ । ‘‘जनप्रतिनिधिको सेवा सुविधा सामाजिक कार्यमा खर्च गर्न पाउँदा गौरवसंगै सामाजिक उत्तरदायित्व बहन गरेको महशुश हुन्छ’’ खड्काले भने ।

उप–प्रमुखबाट प्राप्त रकमबाट रुद्रेपिपल मावि र रामरेखा आधारभूत विद्यालयले अक्षयकोष बनाएर गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्दै आएका छन् । ‘‘अक्षयकोषले गरिबीका कारण पठनपाठनमा समस्या भोगिरहेका विद्यार्थीलाई धेरै राहत मिलेको छ’’ रामरेखा आधारभूत विद्यालयका शिक्षक रेशम गोतामेले भने ।

बागलुङ बागलुङ नगरपालिका वडा नं. ४ स्थित कुँडुले माविले शैक्षिक सुधारका कार्यक्रममा खर्चिने भएको छ । यो विद्यालयले एसईई परीक्षामा उत्कृष्ट नतिजा हासिल गरेको थियो । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार्न उप–प्रमुखबाट प्रोत्साहन स्वरुप प्राप्त रकमले प्रगतिमा थप टेवा पुग्ने प्रधानाध्यापक हरि प्रसाद कँडेलले भने ।

प्रदेश सभाले निर्माण गरेको कानुनमा जनप्रतिधिको प्रमुखको सेवासुविधा ३० हजारदेखि ४२ हजार रुपियाँसम्म हुने व्यवस्था छ । जनप्रतिनिधिले पाउने सुविधामा मासिक सुविधा, सञ्चार, दैनिक भ्रमण भत्ता, वैदेशिक भ्रमण भत्ता, इन्धन खर्च, यात्रा बीमा, स्थानीय तहमा निर्माण भएका विभिन्न समितिमा उपस्थिति बैठक भत्तालगायत छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->