पोखरा/ पोखरा महानगरपालिका–१९, तल्लाकोट ठाँटीका अमृत परियारले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् । उनले यही जेठ ७ गते विहान १२ः१६ बजे सगरमाथाको शिखरमा पाइला टेकेका हुन् ।
परियारले सर्वोच्च शिखरमा पाइला टेक्दै बलात्कारपछि हत्या गरिएका र यौन हिंसापीडितलाई न्यायको माग गर्दै चुचुरोमा ब्यानरसमेत फहराएका थिए । जसमा सरकारलार्ई ध्यानाकर्षण गराउँदै लेखिएको थियो, ‘सेभ डटर’, ‘स्टप रेप’ ।
सामान्य परिवारमा जन्मिएका अमृतले पृथ्वीनारायण क्याम्पसबाट विज्ञान तथा प्रविधि संकायमा १२ कक्षा उत्तीर्ण गरे । पछि कान्तिपुर डेन्टल कलेजमा तीनवर्षे डेन्टल डिप्लोमाको पढाइ पूरा गरे । आफ्नै केहीगर्ने सोंच भए पनि पुरा हुन नसकेपछि उनी अमेरिका गएका थिए ।
अहिले उनी श्रीमती र दुई छोरीसहित अमेरिकामै बस्दै आएका छन् । उनी अमेरिका भए पनि लामो समयदेखि नेपालमा घटिरहेका बलात्कार, यौन हिंसा र बलात्कारपछिको वीभत्स हत्याका घटनाहरूले उनको मन कटक्क खाएको थियो ।
निर्मला पन्त, भागिरथी भट्टराई, इनिसा विक, सलिना पोखरेल, अंशु गौतम, रश्मि परियार, आरती भट्टराई, अंगिरा पासी र माया विक जस्ता अबोधले न्याय नपाएको दृश्यले उनलाई पोलिरहन्थ्यो । समाजमा व्याप्त यो डरलाग्दो प्रवृत्ति र राज्यको उदासीनताका विरुद्ध केही ठोस कदम चाल्नैपर्ने निष्कर्षमा पुगेर सगरमाथालाई माध्ययमको रुपमा रोजेका थिए ।





