आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

ढोरपाटनकर्मी शर्मा पत्रकारिता पुरस्कारबाट सम्मानित

ढोरपाटनकर्मी शर्मा पत्रकारिता पुरस्कारबाट सम्मानित

शर्मालाई नगद २५ हजार रुपैयाँ र सम्मान पत्र प्रदान गरिएको हो ।


  • ढाेरपाटन संवाददाता
  • जेष्ठ ९ २०८३, शनिबार

पोखरा / ढोरपाटन राष्ट्रिय दैनिकका सहसम्पादक लालप्रसाद शर्मा गजेन्द्र भण्डारी सिर्जनशील राष्ट्रिय पत्रकारिता पुरस्कार २०८३ बाट सम्मानित भएका छन् । नेपाल पत्रकार महासंघ कास्कीको १८ औं साधारणसभाका अवसरमा शनिवार उनलाई उक्त पुरस्कार अर्पण गरिएको हो ।

गण्डकी प्रदेशका कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री भीमबहादुर कार्की, पुरस्कारका संस्थापक सरस्वती भण्डारी, छनौट समितिका संयोजक नारायण कार्की, पत्रकार महासंघ कास्कीका अध्यक्ष माधव बरालले शर्मालाई सम्मानपत्र, नगद पुरस्कारसहित दोसल्ला, मालालगायतले सम्मान गरेका थिए । स्वर्गीय पत्रकार गजेन्द्र भण्डारीको स्मृतिमा उनका परिवारजनले स्थापना गरेको पुरस्कारको सञ्चालन भने पत्रकार महासंघ कास्कीले गर्दै आएको छ ।

नेपाल पत्रकार महासंघ, कास्कीका पूर्वअध्यक्ष नारायण कार्कीको संयोजकत्वमा सदस्यहरु भरत कोइराला, रुपनारायण ढकाल, माधव बराल र भूपाल गुरुङ सदस्य रहेको छनौट समितिले शर्मालाई पुरस्कारका लागि छनौट गरेको थियो । शर्मालाई नगद २५ हजार रुपैयाँ र सम्मान पत्र प्रदान गरिएको हो । २०५४ सालदेखि पत्रकारिता सुरु गरेका शर्माले नारी सन्देश, आदर्श समाज, नेपाल समाचारपत्र, पोखरा हटलाइन पत्रिकामा काम गरिसकेका छन् । यसैगरी पर्वतबाट प्रकाशित हुने ‘निष्पक्ष अभिमत’ पत्रिकामा सहसम्पादक भएर काम गरेका शर्मा २०५७ जेठदेखि २०८० माघसम्म कान्तिपुर पब्लिकेशन्समा आवद्ध रही काम गरेका थिए ।

उनी कान्तिपुरको गण्डकी प्रदेश ब्यूरो संयोजकसमेत भइसकेका उनी हाल ढोरपाटन दैनिकमा कार्यरत छन् । उनीसंग रेडियो कान्तिपुर, कान्तिपुर टेलिभिजन, रेडियो अन्नपूर्ण, धौलागिरी एफएम बागलुङ र श्रीनगर एफएम पाल्पामा काम गरेको पनि अनुभव छ । मुलुक संघीयतामा गएसंगै प्रदेश सभा र प्रदेश सरकार गठन भएपछि शर्माकै नेतृत्वमा संसदीय पत्रकार मञ्च गण्डकी स्थापना भएको थियो । उनी आफ्नो जन्मथलो पर्वत र हालको कर्मथलो पोखराका विभिन्न सामाजिक संघसंस्थाहरूमा पनि सक्रिय छन् ।

शर्मालाई सम्मान गर्दै मन्त्री कार्कीले मोफसलको पत्रकारिता नै प्रदेशको आवश्यकता रहेको बताए । उनले राष्ट्रिय सञ्चार माध्यमले प्रदेशका गतिविधिलाई चासो नदिईरहँदा मोफसलका सञ्चार माध्यम आफुहरुका लागि महत्वपूर्ण रहेको धारणा राखे । समाचार उत्पादन गरि प्रकाशित गरिरहँदा अनुमानको भरमा नभइ सत्य तथ्यको आधारमा प्रकाशित गर्नुका साथै पत्रकारिता सतही अध्ययनले नहुने भन्दै गहिरो अध्ययन गरि प्रभावकारी समाचार प्रदान गर्नुपर्नेमा उनको जोड थियो । संघीयताको मर्म र भावना अनुसार गण्डकी प्रदेश सरकार पत्रकारमैत्री वातावरण निर्माणमा कटिबद्ध रहेको उनले सुनाए । प्रदेश सरकारले पत्रकारिताको विकाससंगै समस्या पहिचान र समाधानका लागि बजेट विनियोजन संगै प्रेस रजिस्टारको कार्यालय नै स्थापना गरि काम अघि बढाएको उनले सुनाए ।

पत्रकार महासंघ गण्डकी समितिका अध्यक्ष रमेश पौडेलले संघीय सरकारले सरकारी विज्ञापन रोकेर निजी सञ्चारमाध्ययम बन्द गर्न खोजेको भन्दै यसको बिरुद्ध सबै लाग्नु पर्नेमा जोड दिए । महासंघ कास्कीका पूर्वअध्यक्ष माधव शर्मा, स्वतन्त्रता सेनानी नवराज सुवेदीले पनि मन्तव्य राखेका थिए । पुरस्कारका संस्थापक एवं स्वर्गीय पत्रकार गजेन्द्र भण्डारीकी धर्मपत्नी सरस्वती भण्डारीले पुरस्कारको कोषमा एकलाख रुपैयाँ थप गर्ने बताइन् ।

साधारणसभाले प्रेस स्वतन्त्रता, सवलिकरण र क्षमता विकासलगायत विषय समेटेर ५ बुँदे प्रस्ताव पनि पारित गरेको छ । साथै अध्यक्ष, सचिव र कोषाध्यक्षको प्रतिवेदन पनि पारित गरेको थियो । कार्यक्रममा धन्यवाद महासंघ कास्कीका उपाध्यक्ष माधव रेग्मीले दिएका थिए भने सञ्चालन सचिव भूपाल गुरुङले गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->