बागलुङ/रोटरी क्लब अफ बागलुङको आयोजनामा शनिबार क्लबका पदाधिकारी तथा सदस्यहरूको नेतृत्व विकास, क्षमता अभिवृद्धि तथा प्रभावकारी क्लब सञ्चालन गर्ने उद्देश्यले क्लब अफिसर लर्निङ सेमिनार सम्पन्न भएको छ ।
कार्यक्रममा क्लबका २५ जना सदस्यहरूको सहभागिता रहेको थियो । कार्यक्रममा रोटरीका विभिन्न विषयमा अनुभवी पूर्व अध्यक्षहरूले प्रशिक्षण तथा सहजीकरण गरेका थिए ।
पूर्व अध्यक्ष भवनराज बरालले क्लब प्रशासन तथा रोटरी फाउन्डेसनबारे सहजीकरण गरेका थिए । पूर्व अध्यक्ष बिना कार्कीले सेवा परियोजना तथा सदस्यता विकास सम्बन्धी प्रशिक्षण दिँदै समुदायको आवश्यकता अनुसार दिगो तथा प्रभावकारी सेवा परियोजना सञ्चालन तथा सदस्य विस्तारलाई व्यवस्थित रूपमा अगाडि बढाउनुपर्नेमा जोड दिएकी थिइन् ।
अर्का पूर्व अध्यक्ष लक्ष्मीदेवी जिसीले सार्वजनिक छवि सम्बन्धी प्रशिक्षण दिँदै रोटरीका गतिविधिलाई सामाजिक सञ्जाल तथा सञ्चार माध्यममार्फत प्रभावकारी रूपमा समुदायसम्म पु¥याउन आवश्यक रहेको बताइन् ।
क्लबका अध्यक्ष नारायण गौतमको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव निशान खड्का र धन्यवाद मन्तव्य निर्मला जीसी पन्तले व्यक्त गरेकी थिइन् ।
कार्यक्रममा सहभागी सदस्यहरूले तालिम उपलब्धिमूलक तथा ज्ञानवद्र्धक रहेको प्रतिक्रिया दिएका थिए । उनीहरुले यस्ता कार्यक्रमले नेतृत्व विकाससँगै क्लबलाई अझ सक्रिय, प्रभावकारी र सेवामुखी बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेका थिए ।





