पोखरा/२०६३ मा हतियार बिसाए पनि नेपाल कम्युनिष्ट पार्टी (माओवादी)ले आफ्नो सैन्य संरचना तत्काल विघटन नगर्ने नीति लियो ।
ब्यारेक नपठाइएका लडाकुहरुलाई माओावादीले योङ कम्युुनिष्ट लिग (वाईसीएल) मा संगठित गरियो ।
२०६३ सालको पुसमा बसेको माओवादी केन्द्रीय कमिटी बैठकले अस्थायी शिविरभित्र रहेका ७ डिभिजन जनमुक्ति सेना र १४ बटालियनमा अधिकांश उच्च तहका कमाण्डर अनि कमिसारलाई वाईसीएलमा सार्ने निर्णय भयो । माओवादी जनसेनाको चौथो डिभिजन कमाण्डर गणेशमान पुन‘रश्मी’ लाई
वाईसीएलको अध्यक्षको जिम्मेवारी दिइयो । शान्ति प्रत्रियासँगै माओवादीले सहरकेन्द्रीत गतिविधि ह्वात्तै बढायो । सशस्त्र विद्रोहको ‘राप रताप’सहित शान्ति प्रक्रियामा आएका माओवादी कार्यकर्ताहरुका लागि सहर नौलो थियो भने सहरलाई उनीहरु ! सहर केन्द्रीत गतिविधिको अग्रमोर्चामा वाईसीएल थियो ।
२०६२÷०६३ को जनआन्दोलनमा तत्कालीन संसदवादी दलसँग सहकार्य गरे पनि माओवादीले ती दललाई ‘पुरानो सत्ताको तावेदारी गर्ने समूह’ मान्थ्यो । लडाकु पृष्ठभूमिबाट आएका वाईसीएलका कार्यकर्ताहरु ‘वाईसीएल’लेखिएको रातो टिर्सट र टोपी लगाएर हिँड्थे । कुटपिट र आक्रमण उनीहरुको लागि सामान्य थियो । सानो निहुँमा पनि पुराना दलका नेता÷कार्यकर्तामाथि आक्रमण गरिहाल्थे । सरकारी कार्यालय, व्यक्तिको सम्पत्ति कब्जा गर्न पछि पर्दैनथे ।
अर्धसैन्य दस्ताको रुपमा परिचित यही वाईसीएल पोखरा पसेपछि सुरुमा यहाँका केही पार्टी प्यालेसलाई आफ्नो मुकाम बनायो । पोखराको नयाँ बजारमा रहेको कृषि विकास बैंकको स्वामित्वमा रहेको जग्गामा निर्माणाधीन कोल्डस्टोर पनि उनीहरुको ‘सेल्टर’ बन्यो । अन्ततः यसले पोखरा ९,पृथ्वीचोकमा रहेको जग्गामा आँखा लगायो । पृथ्वीचोकमा रहेको शान्ति वन बाटिकाको पछिल्लो भागमा रहेको सो ठाउँमा पृथ्वी राजमार्ग निर्माणकै क्रममा बनेका केही पुराना संरचनाहरु थिए । वाईसीएल ती संरचना भएको ठाउँमा स¥यो । त्यो बेला गुण्डागर्दी नियन्त्रणको नाममा वाईसीएल कार्यकर्ताहरु दिनदहाडै कसैलाई अपहरण गर्थे । व्यापारी वा अन्य व्यक्तिलाई समातेर लैजाने र कारवाही प्रक्रिया भन्दै पु¥याउने ठाउँ पनि त्यही बन्यो ।मान्छेहरुले शान्ति वन पछाडिको त्यो ठाउँलाई त्यसपछि ‘वाईसीएल क्याम्प’ भन्न थाले । वाईसीएल क्याम्प यति कुख्यात थियो कि, मान्छेहरु कसैलाई गाली गर्दा‘तलाईं वाईसीएल क्याम्प जान परोस् !’ भन्ने गाली गर्थे ।

पृथ्वीचोकमा बस्दै आएका माओवादी कार्यकर्ताले अन्ततः उपत्यका नगर विकास समितिको स्वामित्वमा रहेको सो जग्गामा नयाँ भवनको जग हाल्यो । त्यो बेला वाईसीएलको प्रतिवाद गर्नु भनेको ‘भाँटा’ खानु थियो । उता,यसअघि नै त्यसको छेउ पृथ्वीचोकमा नेपाली कांग्रेस र एमालेका भातृ संस्था टे«ड युनियनका भवनहरु उपत्यका नगर विकास समितिकै स्वामित्वको जग्गामा ठडिएका थिए । हिमाली सांस्कृतिक परिवार र सहारा क्लबजस्ता संस्थाहरुले पनि उपत्यका न नगर विकास समितिकै जग्गामा भवन बनाएको जानकारी पाएपछि माओवादीले पनि शान्ति वन पछाडिको जग्गामा भवन बनाउने निर्णय ग¥यो । उसको निर्णयको कतैबाट प्रतिवाद भएन । निर्माणको क्रममा बनेको एउटा पोखरीलाई पुरियो । माओवादीको भातृ संस्था अखिल नेपाल टे«ड युनियन महासंघ गण्डकी अध्यक्ष रुद्र गौतमका अनुसार संस्थाको कार्यालय निर्माणको क्रममा ५ सय ट्रिप माटो हालेर पोखरी पुरिएको र भवन बनाउन १ करोड ५३ लाख रुपैयाँ लागेको थियो । सेतीमा त्यसपछि धेरै पानी बग्यो । माओवादीले उपत्यका नगर विकास समितिको स्वामित्वमा रहेको ४ रोपनी जग्गामा बनेको भवन उपयोग गरिरह्यो । त्यहाँ बनेको हलमा सभा÷सम्मेलन आयोजना हुने थाले भने मजदुर संगठनको नाममा बनाइएको भवन माओवादी पार्टीका नेताहरुको आवास पनि बन्यो ।
यही बीचमा गएको वैशाख ४ गते पोखरा महानगरपालिकाले पोखरा बसपार्कसहित सरकारी जग्गामा बसेका व्यक्ति र संस्थाहरुलाई सो ठाउँ छाड्न ३५ दिने सूचना जारी ग¥यो । महानगरपालिका र उपत्यका नगर विकास समितिको ३५ दिने सूचना बमोजिम हाल नेपाली कम्युनिष्ट पार्टीको भातृ संगठनमा बलदिएको ट्रेड युनियन महासंघ गण्डकीले सो भवन छाड्ने निर्णय ग¥यो । सोही निर्णय बमोजिमत महासंघका गण्डकी प्रदेश अध्यक्ष रुद्र गौतमले शनिबार उपत्यका नगर विकास समितिका अध्यक्षसमेत रहेका पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यलाई त्यो भवनको चाबी हस्तान्तरण गरेका छन् ।
कांग्रेस र माओवादीका भातृ संगठनभन्दा एक कदम अगाडि बढेर चाबी बुझाउने क्रममा अध्यक्ष गौतमले श्रमिकहरुको पसिनाले १३ कोठ भवन बनेको र त्यसको पूर्ण सदुपयोग होस् भन्ने आफ्नो चाहना भएको बताए ।
भवनको चाबी बुझ्दै नगर प्रमुख आचार्यले सार्वजनिक तथा सरकारी स्वामित्वमा रहेको जग्गा संरक्षणका सम्बन्धमा यसलाई सुखद सुरुवातको उपमा दिए । भवनको नक्सापास नभएको तर भवन उपयोग गर्न मिल्ने भएकाले तत्काल नभत्काइने उनको भनाइ थियो । मुल भवनसँगैका केही संरचनामा भने महानगरले भत्काएको छ । मेयर आचार्यले सरकारी जग्गा कब्जा गरेका अन्य संघ÷संस्थालाई पनि स्वतःस्फूर्त रुपमा जग्गा छाड्न आग्रह गरे । महानगरले जारी गरेको ३५ दिने सूचनाको म्याद सकिँदै गर्दा त्यहाँ भवन बनाएर बसेका कांग्रेस र एमाले निकट टे«ड युनियनहरुले पनि भवन छाड्ने तयारी गरिरहेका छन् । ती भवनबाट सामानहरु सार्न थालिएको छ ।
बसपार्क खाली गराउन थप समय
पोखरा महानगरपालिकाले पोखरा ९ मा रहेको प्रस्तावित बसपार्क क्षेत्रमा बसोबास गर्नेहरुलाई सटर÷कवल खाली गर्न पुनः सूचना जारी गरेको छ । पोखरा उपत्यका नगर विकास समितिको नाममा शनिबार जारी सूचनामा त्यस्ता संरचना हटाउनको लागि १५ दिन समय दिइएको छ । यसअघि जारी सूचनाको म्याद सकिएकै दिन महानगरले अर्को सूचना जारी गरेको हो । यो सूचनामा पनि अव्यवस्थित बसोबासीलाई आफू बसेको जग्गाको अस्थायी निस्सा र नागरिकताको फोटोकपी बुझाउन भनिएको छ । सूचनामा भनिएको छ,‘पोखरा बसपार्क क्षेत्र, पोखरा घरदेखि सेतिपुलसम्म, पृथ्वी राजमार्गदेखि दक्षिण, एयरपोर्टदेखि उत्तर, पूर्वमा सेति नदि क्षेत्रमा पसल कवल निर्माण गर्नुभएका व्यवसायीहरुलाई सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र उक्त पसल कवल लगायतका सम्पूर्ण संरचनाहरु हटाई पोखरा बसपार्क निर्माणको प्रकृयामा सहजीकरण गर्नुहुन सूचित गरिन्छ । उल्लिखित मितिभित्र संरचनाहरु नहटाएमा नियमानुसार पोखरा उपत्यका नगर विकास समिति आफैले हटाउने र सो क्रममा लाग्ने लागत सम्बन्धित व्यक्ति वा संस्थाबाट सरकारी बाँकी सरह असूल उपर गरिने बेहोरा समेत जानकारी गराइन्छ ।’
फिर्के अतिक्रमण हटाउन सुरु
यता, फिर्के खोलाको अतिक्रमण हटाउने काम सुरु भएको पोखरा ३ का वडाध्यक्ष देवकृष्ण पराजुलीले बताएका छन् । पोखरा फोटोग्राफर संघले फिर्केको खोलाघरमै निर्माण गरेको भवन हटाएको जानकारी दिँदै उनले आइतबार अँधेरीकुना,बुढानिलकण्ठ मन्दिरसहित सबैजसो ठाउँमा सो अभियान सुरु गर्ने जानकारी दिएका हुन् ।





