बागलुङ/जैविक गाउँपालिकाको पहिचान बनाएको पश्चिम बागलुङको ताराखोलाका सामुदायिक वनमा भिरमहको शिकार गर्न शुरु गरिएको छ ।
ताराखोला–५ मा पर्ने जुल्फे सामुदायिक वनमा भिरमह शिकार गरिएको हो । सो वडाको ठुलोभिर र वडा नं. ३ हिलको गुफा सामुदायिक वनमा भिरमह शिकारको तयारी छ । कुनै वर्षमा दुई याममा मह पाइने भएपनि प्रायः वर्षको एकपटक मात्र मह शिकार गरिन्छ ।
जुल्फे सामुदायिक वनको तारेभिरमा रहेका १३ घारबाट यसवर्ष ६० लिटर मह काढिएको उपभोक्ता समूहका सचिव नारायण घर्तीले बताउनुभयो । यसवर्ष मह उत्पादन घटेको घर्तीको भनाई छ । गतवर्ष जुल्फे र ठूलोभीरमा २ सय ६० लिटर मह काढिएको थियो । ‘‘मौसम परिवर्तनको असर भिरमौरीमा देखिँदा वर्षेनि उत्पादन घट्दै छ’’ घर्तिले भने ।
परम्पराका रुपमा भिरमह काढ्दै आएपनि यसलाई व्यवस्थित र व्यावसायिक बनाउने सके आयआर्जनको माध्यम बन्ने घर्ती बताउँछन् । भिरमह काढ्ने परम्परालाई ग्रामिण क्षेत्रमा उत्सवकै रुपमा लिइन्छ । ‘‘स्थानीय भेला भई मह काढ्दा वनमा मेला नै लागे जस्तो हुन्छ’’ घर्तीले भने, ‘‘अग्ला र अक्करेभिरमा मह काढ्ने पेशा जोखिमपूर्ण र साहसिक मानिने हुनाले प्रचार प्रसार गर्न सके ग्रामिण पर्यटनको प्रवद्र्वन पनि गर्न सकिन्छ ।’’
मह काढेपछि त्यसमा संलग्न भिरौटे, मह काढ्दा आवश्यक सामान बोक्ने भरिया र राम हेर्नेलाई बाँड्ने प्रचलन छ । धेरै मात्रामा मह निस्केमा बिक्री गरेर वन उपभोक्ता समितिको हितमा खर्च गरिने सचिव घर्तीले बताए । औषधिजन्य गुण र स्वास्थ्यबद्र्धक मानिने भिरमह प्रतिलिटर ३ हजार रुपियाँमा बिक्री हुँदै आएको छ ।
मह काढ्ने पेशा जोखिमपूर्ण हुने हुँदा जो–कसैले सजिलै काढ्न सक्दैनन् । जिजुबाजेले सिकाएको ज्ञान र सिपलाई पछ्याउँदै हरेक वर्ष ताराखोलामा मह काढिन्छ ।
घर्तीका अनुसार, लेकाली चोयाँ र काठबाट बनेको पराङ मह काढ्दा प्रयोग हुने मुख्य सामग्री हुन् । पराङकै सहायतामा सिकारीहरु भिरमा पुग्छन् । महको चाका झिक्ने साजसंगै मह संकलन गर्न निगालोको चोयाबाट बनेका डाली पनि प्रयोग हुने गर्छन् ।





