पोखरा / पोखरा–११ अन्तर्गत वातावरण संरक्षण, सरसफाइ तथा फोहोर व्यवस्थापन सम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले डा. कृष्णमुरारी अधिकारीको संयोजकत्वमा ‘फोहोर व्यवस्थापन अभियान पोखरा, मणिपाल शाखा’ गठन गरिएको छ।
फोहोर व्यवस्थापन अभियान पोखराका संयोजक राजन श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पोखरा–११ का फोहोर व्यवस्थापन संयोजक तथा शिवप्रसाद बास्तोलाले स्वागत मन्तव्य व्यक्त गर्दै वातावरण संरक्षणका लागि सामूहिक प्रयास आवश्यक रहेको उल्लेख गरे । उनले अभियानलाई प्रभावकारी रूपमा अगाडि बढाउन सबैको सहभागिता अपरिहार्य रहेको धारणा व्यक्त गरे ।
त्यसैगरी वरिष्ठ फोहोर व्यवस्थापन अभियानकर्मी बलराम बरालले जुनसुकै स्थानको फोहोर व्यवस्थापन प्रभावकारी बनाउन स्थानीय तहको जनचेतना र सक्रिय सहभागिता अत्यन्त आवश्यक रहने आफ्नो अनुभव साझा गरे । कार्यक्रममा क्लिन अप नेपालकी सामाजिक परिचालिका दुर्गा अधिकारीले परियोजनामार्फत रिसाइक्लिङ्ग तथा अपसाइक्लिङ्गलाई प्राथमिकतामा राखी हरित रोजगारी प्रवर्द्धनमा काम भइरहेको जानकारी दिइन् । साथै उनले विभिन्न सामाजिक संघसंस्थासँग सहकार्य गर्दै वातावरणमैत्री कार्यक्रम सञ्चालन भइरहेको समेत बताइन् ।
पोखरा–११ र २० लाई लक्षित गरी गठन गरिएको उक्त शाखाले बढ्दो फोहोर व्यवस्थापन समस्यालाई समुदायस्तरबाट समाधान गर्न सरसफाइ अभियान, जनचेतनामूलक कार्यक्रम तथा वातावरण संरक्षणसम्बन्धी विविध गतिविधि सञ्चालन गर्ने जनाएको छ।
नवनियुक्त संयोजक डा. कृष्ण मुरारी अधिकारीले स्थानीय स्तरमा स्वच्छ वातावरण निर्माण, फोहोरको उचित व्यवस्थापन तथा सामाजिक उत्तरदायित्व अभिवृद्धिका लागि निरन्तर कार्यक्रम सञ्चालन गरिने जानकारी दिए । कार्यक्रमका अध्यक्ष राजन श्रेष्ठले पोखराका हरेक सचेत नागरिक आबद्ध क्षेत्रमा शाखा गठन गर्दै अभियानको सञ्जाल विस्तार गर्ने योजनाअन्तर्गत पहिलो शाखा गठन गरिएको जानकारी दिए । अन्त्यमा सहभागीहरूले स्वच्छ, हरित तथा व्यवस्थित पोखरा निर्माणका लागि सामूहिक अभियान आवश्यक रहेको निष्कर्ष व्यक्त गरेका थिए।





