पोखरा/होमस्टे अर्थात् घरबास संचालन गर्दै आइरहेका लमजुङका महिलाहरुको लागि आतिथ्यता सत्कार,अतिथि कक्ष व्यवस्थापन (हाउस किपिङ) र नृत्यसम्बन्धी प्रशिक्षण सुरु भएको छ ।
नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशको आयोजना,गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ गण्डकीको सहआयोजना एवं लमजुङको बेसीसहर ४, पुरानकोटमा रहेको सामदायिक होमस्टेको आयोजनामा शुक्रबारबाट ३ दिने तालिम सुरु भएको हो । तालिममा लमजुङका ३ वटा गाउँमा महिलाहरुको सहभागिता रहेको छ ।
तालिमको शनिबार गण्डकी प्रदेशकी उद्योग तथा पर्यटनमन्त्री यसोदा रिमालले उद्घाटन गरिन् । गाउँमै मान्छे थामिने अवस्था सिर्जना गर्न तथा महिलाहरुलाई आर्थिक उपार्जनको बाटोमा अगाडि बढाउन होम स्टे कार्यक्रमले सघाएको बताइन् । उनले गाउँमा पुग्ने पर्यटकले फर्कँदा त्यही गाउँको उत्पादन लिएर जाने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिइन् । गण्डकी प्रदेश सरकारले यसअघि सुरु गरेका होमस्टेहरुको स्तरोन्नतिको लागि अभियान सुरु भएको पनि उनको भनाइ थियो ।
‘हामी यसअघि सूचीकृत भएका हो स्टेहरुको स्तरीकरण गर्ने अभियानमा छौँ,’मन्त्री रिमालले भनिन्,‘स्तरीकरणपछि अभिलेख राखिन्छ । त्यसको डिजिटल प्रचार सामग्री बनाउने हो । अब तपाईंहरु पर्यटक खोज्न जाने हैन, पर्यटक नै आफूले चाहेको ठाउँ खोजेर आउने अवस्था सिर्जना गर्ने हो ।’
होम स्टेलाई सहर र विदेश गएका नागरिकलाई गाउँ फर्काउने माध्यम बनाउने दिशामा प्रदेश सरकार अगाडि बढेको पनि उनले सुनाइन् ।
कार्यक्रममा बोल्दै नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख मणिराज लामिछानेले पर्यटकीय गाउँहरुलाई अझ सुव्यवस्थित बनाउन, गाउँले महिलाहरुलाई आतिथ्यता तथा घर चिटिक्क पारेर राख्न सिकाउने उद्देश्यले तालिम आयोजना गरिएको बताए ।
‘गाउँहरुलाई बजारसँग जोड्ने नै हो, गाउँमा पर्यटक आएपछि खुसी भएर फर्कने गरी आतिथ्यता पस्कन सके त्यो सम्भव छ,’उनले भने,‘नेपाल पर्यटन बोर्ड उद्यम गर्न चाहनेहरुको सवलीकरणमा सघाउन सदैव तयार छ ।’
उद्घाटन कार्यक्रमकी विशेष अतिथि बेसींसहर नगरपालिकाकी उपमेयर पद्मा गुरुङले होम स्टेहरुले नेपालमै बसेर केही हुँदैन भन्नेहरुलाई जवाफ दिइरहेको बताउँदै स्थानीय उत्पादन बढाउने र त्यसको प्रवद्र्धन गर्दै होम स्टेहरु संचालन गरिनुपर्ने धारणा राखिन् । उनले गाउँमा आएका पाहुनालाई स्थानीय परिकार खुवाउनुपर्नेमा जोड दिँदै भनिन्,‘गाउँमा आएर उही बेसीसहरमा पाइने बोइलर कुखुराको मासु खुवाएर हुँदैन, गाउँको अर्गानिक उत्पादन खुवाउनु पर्छ ।’ त्यसका लागि नगरपालिकाले सघाउने उनको भनाइ थियो ।
बेसीसहर ४ का वडाध्यक्ष गमबहादुर गुरुङले गाउँसम्म पुग्ने बाटो राम्रो हुँदामात्र होम स्टे फस्टाउने धारणा राखे ।
कार्यक्रम तथा भिटोफ गण्डकीकी अध्यक्ष शोभा सापकोटाले होम स्टे नेपाली पर्यटन उद्योगको महत्वपूर्ण खम्बा रहेको बताउँदै त्यसमा संलग्नहरुको सवलीकरणले राष्ट्रिय अर्थतन्त्र नै बलियो बनाउने धारणा राखिन् ।
भिटोफका पूर्वअध्यक्ष रवीन्द्र पौडेलले होम स्टे सवलीकरणको लागि राज्यले सघाउनुपर्ने धारणा राखे ।
भिटोफका उपाध्यक्ष रमेश घिमिरेको संचालन रहेको कार्यक्रममा प्रशिक्षक डा.रामजी शर्मा, पुरानकोट सामुदायिक होम स्टेकी अध्यक्ष कन्याकाशी गुरुङलगायतले मन्तव्य दिएका थिए । नेपाल पर्यटन बोर्डका पूर्व सदस्य टीकाराम सापकोटाका अनुसार तालिमअन्तर्गत स्थानीय होम स्टे संचालकहरुलाई प्रयोगात्मक कक्षाहरु संचालन गरिने छ ।





