पोखरा/नेपाल पत्रकार महासंघ कास्कीको १८ औं साधारण सभामा ‘गजेन्द्र भण्डारी स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार २०८३’ बाट ढोरपाटनकर्मी लालप्रसाद शर्मा सम्मानित भएका छन् ।
नेपाल पत्रकार महासंघ, कास्कीद्वारा सञ्चालित गजेन्द्र भण्डारी परिवारबाट स्थापित उक्त पुरस्कारबाट पत्रकार शर्मा सम्मानित भएका हुन् । उनलाई गण्डकी प्रदेशका कृषि, भूमि तथा सहकारी व्यवस्था मन्त्री भीम कार्की, पुरस्कार स्थापनाकर्ता भण्डारी परिवार, नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष माधव बराललगायतले नगद २५ हजार रुपैयाँ, सम्मान पत्र र दोसल्लाले सम्मान गरेका हुन् ।
नेपाल पत्रकार महासंघ, कास्कीका पूर्वअध्यक्ष नारायण कार्कीको संयोजकत्वमा सदस्यहरु भरत कोइराला, रुपनारायण ढकाल, माधव बराल र भूपाल गुरुङ सदस्य रहेको छनौट समितिले उनको पत्रकार शर्माको नाम सम्मानका लागि सिफारिस गरेको थियो ।
सम्मानपछि पत्रकार शर्माले यस सम्मानले पत्रकारिता क्षेत्रमा लाग्न अझ प्रेरित गरेका बताए । कार्यक्रममा पुरस्कार स्थापनाकर्ता भण्डारी परिवारले उक्त पुरस्कारको अक्षयकोषमा थप १ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका थिए ।
मोफलसका पत्रकारको मूल्याङ्कन हुनुपर्छ : मन्त्री कार्की
साधारण सभा तथा गजेन्द्र भण्डारी सिर्जनशील राष्ट्रिय पत्रकारिता पुरस्कार अर्पण समारोहमा गण्डकी प्रदेशका कृषि, भूमि तथा सहकारी व्यवस्थामन्त्री भीम कार्कीले प्रमुख अतिथि थिए । उनले मोफसलमा रहेर पत्रकारिता गर्नेहरूको योगदानको कदर गर्दै उनीहरूको वृत्तिविकासका लागि सरकार सधैँ तत्पर रहेको बताए ।
उनले भने, ‘मोफसलमा रहेर पत्रकारिता गर्नेहरूको योगदानलाई मूल्यांकन गर्ने राष्ट्रिय माध्यमहरू कम छन्, त्यसैले गण्डकी प्रदेश सरकार पत्रकारमैत्री वातावरण निर्माणका लागि पूर्ण रूपमा प्रतिबद्ध छ ।’ उनले सरकारले पत्रकारिताको विकासका लागि बजेट विनियोजन गर्नेदेखि लिएर विभिन्न तालिमका कार्यक्रमहरू सञ्चालन गरिरहेको जानकारी दिए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ गण्डकीका अध्यक्ष रमेश पौडेल, नेपाल पत्रकार महासंघ कास्कीका पूर्वअध्यक्ष तथा प्रेस स्वतन्त्रता सेनानी माधव शर्मा, प्रेस स्वतन्त्रता सेनानी नवराज सुवेदी, नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष माधव बराल, उपाध्यक्ष माधव रेग्मी, गजेन्द्र भण्डारी सिर्जनशील राष्ट्रिय पत्रकारिता पुरस्कारको प्रतिभा छनोट समितिका संयोजक नेपाल पत्रकार महासंघ कास्कीका पूर्वअध्यक्ष नारायण कार्की, पुरस्कार स्थापनाकर्ता सावित्री भण्डारीलगायतले पत्रकारिताको मर्यादासँगै पत्रकारहरूको पेसागत सुरक्षा र हकहितका विषयमा जोड दिएका थिए ।
साधारण सभामा सचिव भूपाल गुरुङको प्रगति प्रतिवेदन र कोषाध्यक्ष राजाराम पौडेलको आर्थिक प्रतिवेदन प्रस्तुत गरिएको थियो ।





