पोखरा / नेपाल उद्योग वाणिज्य संघका उपाध्यक्ष नरेशलाल श्रेष्ठले पोखरा र समग्र गण्डकी प्रदेशमा लगानी भित्र्याउन तथा पर्यटन प्रवद्र्धनको नेतृत्व पोखरा उद्योग वाणिज्य संघले गर्नुपर्ने बताएका छन् ।
पोखरा उद्योग वाणिज्य संघले उनको सम्मानमा आइतबार आयोजना गरेको स्वागत तथा भेटघाट कार्यक्रमका अवसरमा श्रेष्ठले गण्डकीको राजधानी पोखरामा रहेको पोखरा उवासंघको सक्रियता निजी क्षेत्रको हितका निम्ति हुनुपर्नेमा जोड दिए ।
पोखरा उद्योग वाणिज्य संघका वर्तमान अध्यक्ष गोकर्ण कार्की महासंघको केन्द्रीय सदस्यमा मनोनित भएको प्रसंग झिक्दै उनले महासंघमा भएको उपस्थितिले पनि पोखराको भूमिका बढेको बताएका हुन् । गण्डकी प्रदेश सरकारले निकट भविष्यमा लगानी सम्मेलन गर्न लागेको र सो सम्मेलनमार्फत् गैरआवासीय नेपालीबाट, विदेशी उद्योगी÷व्यवसायीबाट र स्वदेशकै उद्योगीलाई पनि पोखरा र गण्डकी क्षेत्रमा लगानी गर्न प्रोत्साहित गरिने उनको भनाइ थियो ।
कार्यक्रममा संघका अध्यक्ष गोकर्ण कार्कीले केन्दीय सदस्यको जिम्मेवारीलाई कुशलतापूर्वक निभाउने बताए । पोखरा उद्योग वाणिज्य संघका उद्योगतर्फका उपाध्यक्ष दिनेशचन्द्र बास्तोलाको अध्यक्षता र स्वागत रहेको कार्यक्रमको संचालन संघकी महासचिव शोभा गौतमले गरेकी थिइन् भने कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशका जिल्ला नगरतर्फका उपाध्यक्ष मृगेन्द्र घिमिरेको पनि उपस्थिति रहेको थियो ।





