शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

सोलेडाँडामा जडिबुटी संरक्षणका लागि पार्क

सोलेडाँडामा जडिबुटी संरक्षणका लागि पार्क

गाउँपालिकाले लगानी गरेर सिंगो जंगललाई नमूनाको रुपमा पार्क बनाएको हो । औषधीको रुपमा प्रयोग हुने सतुवा, अश्वगन्धा, चिराइतो, वनमकै लगायतका दर्जन प्रकारका जडिवुटी रोपिएको गाउँपालिकाका अध्यक्ष जोकलाल बुढाले बताए ।


  • ढोरपाटन संवाददाता
  • जेष्ठ ११ २०८३, सोमबार

बागलुङ/सामान्यतया पार्क भन्ने बित्तिकै घुम्ने, बस्ने, स्थान बुझिन्छ । तर बागलुङको तमानखोला गाउँपालिका–४ को सोलेडाँडामा घुम्ने पार्कसहित जडिबुटी पार्क बनाइएको छ ।

सोलेडाँडा समुन्द्री सतहदेखि २ हजार ६ सय मीटर अग्लो छ । यहाँको जंगल जैविक विविधताले भरिएको स्थानीयले चर्चा गर्दै आएका छन् । यहाँको जंगलमा पाइने जडिबुटीको संरक्षण, उत्पादन बढाउने र त्यसबाट पालिकाले फाइदा लिने लक्ष्यले नमूना जडिबुटी पार्क बनाइएको छ । यो क्षेत्रमा पाइने महत्पुर्ण एक दर्जन प्रकारका संरक्षित जडिबुटी रोपेर नमुना पार्क बनाएको गाउँपालिकाका अध्यक्ष जोकलाल बुढाले बताए ।

लामेला गाउँदेखि सोलेसम्म फैलिएको जंगलको ७ रोपनी जमिनमा नमूनाको रुपमा जडिबुटीका बिरुवा रोपिएको हो । गाउँपालिकाले लगानी गरेर सिंगो जंगललाई नमूनाको रुपमा पार्क बनाएको हो । औषधीको रुपमा प्रयोग हुने सतुवा, अश्वगन्धा, चिराइतो, वनमकै लगायतका दर्जन प्रकारका जडिवुटी रोपिएको बुढाले बताए ।

गत आर्थिक वर्ष र चालु वर्ष गरी यो पार्क निर्माणमा ७ लाख रुपैयाँ खर्च गरी जडिवुटीका बिरुवा रोपिएको छ । यो क्षेत्र संरक्षणका लागि पालिकाले तारवार पनि लगाएको छ । ‘हामीले नमूनाको रुपमा यहाँ पाइने केही जडिवुटीका बिरुवा रोपेका छौं’ बुढाले भने, ‘यो पार्कमा हुर्काएपछि व्यवसायिक रुपमा उपयोग पनि गरिने छ ।’ जडिबुटीको उत्पादन बढाउन सकेमा स्थानीय तहमै प्रशोधन केन्द्र बनाउने योजना पनि उनले सुनाए ।

हजारौं रोपनी जमिनमा फैलिएको यो वनमा सबैखाले जडिबुटी पाइने स्थानीय छप्रसाद सिर्पालीले बताए । ती जटिबुटीको संरक्षण नभएपछि चोरी तस्करी समेत हुने गरेको उनले बताए । ‘यो पार्क बनेपछि जंगलमा सिधा प्रवेश गर्न पनि रोक लगाइएको छ’ सिर्पालीले भने, ‘पार्कमा पनि आवस्यकताको समयमा मात्र खोलेर गोडमेल गर्ने, जडिबुटीको स्याहार गर्ने काम गरिन्छ ।’ जडिबुटीबाट औषधी र कस्मेटिक सामाग्रीका लागि बजार खोजी गर्ने काम भने स्थानीय तहले गर्ने बुढाको भनाइ छ ।

अध्ययन गरेर सबै जडिबुटीको पहिचान, उपयोगिता र बजारीकरणमा पालिकाले लगानी समेत गर्ने योजना बनेको छ । सोलेडाँडाको बिस्तृत गुरुयोजना बनाएको पालिकाले यहाँ जडिबुटी संरक्षण र प्रशोधन गर्न सकिने संभावित योजना सहित पर्यटक भित्राउने, सहिद पार्क, बनभोज स्थल, चरन क्षेत्रको संरक्षण गरी पशुपालनलाई प्रोत्साहन गर्ने सहितका दर्जन योजना बनाएको छ । गाउँपालिकाले संरक्षित गरेर जडिबुटी रोपेको स्थानलाई अनुसन्धानको रुपमा पनि विकास गर्ने योजना छ । अनुसन्धान र पहिचानबाट पत्ता लागेका जडिबुटीको आधारमा सोलेको जंगलमा भएको परिणाम पत्ता लगाउने, त्यसलाई ब्लक बनाउने र संकलन गरी बजारीकरण गर्न सकिने वडा नं. ३ का अध्यक्ष झकबहादुर बुढाले बताए । यो काम तत्काल पुरा नभएपनि अभियान शुरुवात भएको उनले बताए ।

बुर्तिवाङदेखि बोङगादोभान, तमान, लामेला हुँदै सोले पुग्ने सडक बनेको छ । यो सडक प्रदेश रणनीतिक सडकको रुपमा पनि सूचिकृत छ । म्याग्दीको मालिका गाउँपालिकाको रुम र ओखरबोट जोड्ने सोलेलाई जोडेर पदमार्ग पनि रेखांकन भएको छ । बागलुङको ताराखोलादेखि सोले हुँदै तमानखोलाको वडा नंं ६ स्थित नोडल्ले पहाडसम्म यात्रा गर्न सकिने पदमार्गको रेखांकन भएको हो । यो मार्ग भएर ढोरपाटन पनि जान सकिन्छ ।

पर्यटकीय दृष्टीले समेत सोलेडाँडा चर्चित छ । म्याग्दीको मालिका गाउँपालिका र बागलुङको तमानखोला गाउँपालिकाको सिमानामा रहेकोले यहाँ घुम्ने आन्तरिक पर्यटक दुवै जिल्लाका पुग्छन् । लोक गायक खड्ग गर्बुजाको ‘हेर्दा हेर्दै कान्छीले सोले डाँडा काट्यो मायालाई’ भन्ने गीतलेसमेत चर्चित यो डाँडामा दर्जन प्रकारका गुँरास समेत पाइन्छ । ठूला खर्क, पशु चरन क्षेत्र, उत्तरतर्पm हिमाली श्रृंखला समेत देखिने भएकोेले धेरैको रोजाइमा पर्छ । गर्मी मौषममा शितल खोज्ने जाने समेत उत्तिकै हुन्छन् ।

तमानखोलाका बासिन्दाले २०६६ सालमा चन्दा उठाएर ओखरबोटदेखि सडक बनाइ सोले र तमानगाउँ जोडेका थिए । त्यतिबेला देखिनै यो डाँडा पर्यटकीय रुपमा चिनिन थालेको हो । गाउँपालिकाले ५० लाख बढी खर्चेर वनभोज स्थल, पानी पोखरी, शहिद पार्क र मन्दिर पनि बनाएको छ । यस्ता पूर्वाधार बनेपछि एक दिन बासै बस्ने गरी पनि कतिपय पर्यटक पुग्न थालेका छन् । बास बस्नेले गोठ वा टेन्टमा बस्छन् ।

तत्कालिन पर्यटन कार्यालय हालको एकीकृत कार्यालय बागलुङले यहाँ पाहुना घर बनाएको छ भने म्याग्दीतर्फ पनि बास बस्ने अतिथि गृह बनाइएको छ । आर्कषक पदमार्ग समेत बनाइएकोले यहाँ पुगेर तस्वीर खिच्ने, भिडियो र भ्लग बनाउनेहरु पनि पुग्न थालेको स्थानीयले बताए । सोले नजिकैको लामेलामा हरेक बर्ष जेठको पहिलो र दोश्रो साता पुरुष तथा महिला भलिबल, तारो हान्ने, छेलो जस्ता खेलकुदसहित मेला पनि लाग्छ । स्थानीय आलुसहितका उत्पादनको बजारीकरणका लागि पनि मेला चर्चित छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->