आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

सुशासन र संविधानको रक्षा गर्दै अघि बढ्न कांग्रेसको आग्रह

सुशासन र संविधानको रक्षा गर्दै अघि बढ्न कांग्रेसको आग्रह

सुकुम्बासीमाथि ‘मध्यरातको डोजर’ मानवताविरोधी


  • ढाेरपाटन संवाददाता
  • जेष्ठ ११ २०८३, सोमबार

पोखरा/ गण्डकी प्रदेश सभामा नेपाली कांग्रेसका प्रमुख सचेतक प्रकाश बरालले वर्तमान राजनीतिक परिस्थितिमा सबै दलबीच सहकार्य आवश्यक रहेको भन्दै सुशासन, संविधान र नागरिक अधिकारको रक्षा गर्दै अघि बढ्न सबैसमक्ष आग्रह गरेका छन् ।

गण्डकी प्रदेश सभाको सोमबार सुरु भएको दशौँ अधिवेशनको पहिलो बैठकलाई सम्बोधन गर्दै उनले बेला मुलुक जटिल राजनीतिक संक्रमणबाट गुज्रिरहेको बताए । उनले लामो राजनीतिक संघर्षपछि मुलुक गणतन्त्रमा प्रवेश गरेको स्मरण गर्दै पछिल्लो समय ‘जेनजी आन्दोलन’ ले संघीय सरकारदेखि सर्वोच्च निकायहरुसम्ममा प्रभाव पारेको उल्लेख गरे । आन्दोलनले सुशासन र भ्रष्टाचार नियन्त्रणको मुद्दा उठाए पनि त्यसको प्रभावले राजनीतिक अस्थिरता निम्तिएको उनको भनाइ थियो ।

बरालले गण्डकी प्रदेशले आन्दोलनअघि नै सुशासन, सेवा प्रवाह र भ्रष्टाचार नियन्त्रणमा उदाहरणीय काम गरेको दाबी गरे । ‘एकीकृत सेवा प्रणालीमार्फत नागरिकलाई सेवा दिने काम सुरु भएको थियो, तर आन्दोलनले प्रदेशलाई पनि प्रभावित बनायो,’ उनले भने ।

उनले पुराना राजनीतिक दलमाथि भइरहेको आलोचनाप्रति पनि प्रतिक्रिया जनाउँदै संविधानलाई ‘पुराना दलले मिलेर खाने भाँडो’ भन्ने भाष्य गलत भएको बताए । मिश्रित निर्वाचन प्रणालीका कारण कुनै दलले स्पष्ट बहुमत ल्याउन नसक्ने भनाइलाई गत फागुनको निर्वाचन परिणामले खण्डन गरिसकेको उनको भनाइ थियो ।

‘आरोप–प्रत्यारोपभन्दा सहकार्यको राजनीति आवश्यक छ । अहिले पुराना दलहरूको औचित्य झनै बढेको छ,’ उनले भने । संघीय संसदमा संसदीय मर्यादा कमजोर बन्दै गएकोप्रति चिन्ता व्यक्त गर्दै उनले नयाँ राजनीतिक शक्तिलाई पनि जिम्मेवार बन्न आग्रह गरे ।

‘मध्यरातमा डोजर चलाउनु संविधानविपरीत’

प्रमुख सचेतक बरालले पोखरालगायत क्षेत्रमा भूमिहीन तथा सुकुम्बासी बस्तीमा रातारात डोजर चलाइएको घटनाप्रति कडा आपत्ति जनाए । उनले संवैधानिक व्यवस्थाविपरीत हुने गरी गरिएको यस्तो गतिविधि मानवताविरोधी भएको टिप्पणी गरे ।

‘राज्यले अभिभावकत्वको भूमिका निर्वाह गर्न सकेको छैन । संविधानले मानवताविरोधी काम गर्ने छुट दिएको छैन,’ उनले भने, ‘भूमिहीन र सुकुम्बासीमाथिको धरपकड तुरुन्त रोकियोस् र संविधानको परिधिभित्र रहेर मात्र काम गरियोस् ।’
उनले महँगीका कारण आम नागरिकको दैनिक जीवन कठिन बनेको उल्लेख गर्दै चुलो बाल्नसमेत समस्या भइरहेको बताए । महँगीको मारमा परेका नागरिकलाई राहत दिन सरकार गम्भीर हुनुपर्ने उनको माग थियो ।

निजी क्षेत्रलाई मनपरी ढंगले प्रभावित पार्ने संघीय सरकारको कदमप्रति पनि उनले असन्तुष्टि जनाए । ‘तानाशाही शैलीको विरुद्ध कांग्रेस सधैं उभिन्छ,’ उनले चेतावनी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->