आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

अब भाषण होइन, जनतालाई भविष्य दिनुपर्छ– पञ्चराम

अब भाषण होइन, जनतालाई भविष्य दिनुपर्छ– पञ्चराम


  • ढाेरपाटन संवाददाता
  • जेष्ठ ११ २०८३, सोमबार
फाइल तस्विर

पोखरा/ गण्डकी प्रदेश सभामा राप्रपा संसदीय दलका नेता पञ्चराम गुरुङले गण्डकी प्रदेशसभाको अधिवेशनमा सम्बोधन गर्दै जनताको विश्वासअनुसार काम गर्न सबै दललाई आग्रह गरेका छन् । उनले आन्दोलनपछि उत्पन्न परिस्थितिले प्रदेश सरकार र सरकारी संरचनामा ठूलो क्षति पुगेको उल्लेख गर्दै अहिले मन्त्रालयको बैठक कक्षमै प्रदेशसभा सञ्चालन गर्नुपरेको अवस्था आएको बताए ।

गुरुङले संसद् जनताको ‘मन्दिर’ भएको उल्लेख गर्दै सांसदहरूले जनतासँग गरेका प्रतिबद्धता पूरा नगरे भविष्यमा जनताले जवाफ माग्ने चेतावनी दिए । उनले विगतको राजनीति र निरन्तर असफल अभ्यासबाट जनता दिक्क भइसकेको भन्दै अब व्यवहारमै परिवर्तन देखाउनुपर्ने आवश्यकता औँल्याए ।

उनले प्रदेश सरकार अझै एक वर्षभन्दा बढी समय बाँकी रहेको उल्लेख गर्दै यही अवधिमा उदाहरणीय काम गर्न सकिने बताए । बुद्धको भनाइ उद्धृत गर्दै उनले ‘एक दिनले एक वर्ष र एक वर्षले एक शताब्दी बदल्न सक्छ’ भन्दै समयको सदुपयोग गर्न आग्रह गरे ।

सम्बोधनका क्रममा उनले मुख्यमन्त्री सुरेन्द्रपाण्डे लाई समर्थन गर्दा राखेको विश्वास पनि स्मरण गरे । उनले सुरेन्द्र पाण्डेलाई अनुभवी, स्पष्टवक्ता र प्रदेशको हितमा काम गर्न सक्ने नेताको रूपमा आफूले देखेको बताए । गुरुङले ठूलो योजना र चर्का नाराभन्दा साना तर परिणाममुखी कार्यक्रम आवश्यक रहेको बताए। सीमित स्रोतसाधनलाई ध्यान नदिई पहुँच र नातावादका आधारमा बजेट बाँड्ने प्रवृत्तिले सरकार आलोचित भएको टिप्पणी गरे ।

उनले ‘भाषण धेरै दियौँ, अब भविष्य दिन सक्नुपर्छ’ भन्दै आत्मनिर्भर, सुशासनयुक्त गण्डकी प्रदेश निर्माणका लागि सबै दल एकजुट हुनुपर्ने धारणा राखे । साथै प्रदेशलाई रोजगारी र विकासको केन्द्र बनाउने दीर्घकालीन योजना आवश्यक रहेकोमा जोड दिए । सम्बोधनको अन्त्यमा उनले समय फर्केर नआउने भएकाले इतिहासमा सम्झनलायक एउटा उदाहरणीय काम गरेर जान सबैलाई आग्रह गरे ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->