बागलुङ/ अभिभावकविहीन बालबालिकाका लागि तमानखोला गाउँपालिकाले आफ्नै बालगृह बनाएको छ । उनीहरुलाई राखेर खाने–बस्ने व्यवस्थासहित वडा नं. ३ को तमान गाउँस्थित धनगौज्योति माविमा पढ्ने व्यवस्थापन समेत गराएको छ ।
गाउँपालिकामा अलपत्र भेटिएका, अभिभावकविहीन र अति बिपन्नताको कारण पढ्न नपाएका, खानेबस्ने समस्या भएका बालबालिका खोजेर यो गृह बनाइएको हो । तमान गाउँको तीनवटा घर भाडामा लिएर बालगृह सञ्चालनमा ल्याइएको छ ।
झण्डै ५ वर्षदेखि यो गृह सञ्चालनमा छ । गाउँपालिका अध्यक्ष जोकलाल बुढाले यो गृह निर्माणले संवैधानिक अधिकार रक्षा गर्न सहज भएको बताए । ‘संविधानमा बालबालिकाको हकको व्यवस्था छ, तर यो व्यवस्था अनुसार उनीहरुले बाँच्न, पढ्न लेख्न र अभिभावक पाउनुपर्छ,’ बुढाले भने, ‘त्यो व्यवस्थापन गर्ने जिम्मा स्थानीय सरकारको हो भन्ने मनन गरेर यो व्यवस्थापन गरिएको हो ।’ हरेक वर्ष नियमित खर्च गर्नुपर्ने भएकोले यो कार्यलाई पालिकाले आफ्नो नियमित बजेटमा समावेश गर्दै आएको छ ।
हाल यो गृहमा १८ जना बालबालिका छन् । गाउँपालिकाले खाना बनाउने, स्याहार सुसार गर्ने तीन जना कर्मचारीको व्यवस्था गराएर बालबालिका राख्न थालिएको थियो ।
हरेक वर्ष बालबालिकालाई खाद्यानको व्यवस्था पालिकाले गर्दै आएको छ भने विभिन्न संघसंस्था, लायन्स क्लबलगायतले यहाँ आएर बालबालिकालाई शैक्षिक सामाग्री, पोशाक वितरण गर्दै आएका छन् । यो कामलाई कतिपयले आलोचना पनि गरेका छन् ।
बालगृहमा राखेका बालबालिकाप्रति नागरिकको हेराइ नकारात्मक हुने उनीहरुले बताएपनि पालिकाले परोपकारी काम र बालबालिकाको उज्वल भविष्यका लागि काम गरेको भन्दै वडा अध्यक्ष झकबहादुर बुढाले भने यो नमूना काम भएको बताए ।
‘नगर्नेहरुले जे भने पनि यो गाउँपालिकाको नमूना र बालबालिकाको अधिकार सुरक्षाको काम हो,’ बुढाले भने, ‘जो सुकैले जानकारी दिएपनि हामी गएर ती बालबालिका ल्याएर राख्ने र सहयोग गर्छौँ ।’ अहिले पनि वडा नं. ५ खुंखानी, वडा नं. ६ नर्जाखानी लगायतका गाउँका बालबालिका समेत छन् ।
बाढी पहिरोले घरबारविहिन भएका, दुर्घटना वा अन्य कारणले अभिभावक गुमाएका बालबालिका यहाँ आउँदा साथी पाएर रमाएका छन् । उनीहरुलाई बेला बेला घुमाउने, खेल खेल्ने व्यवस्था गरिदिने जस्ता काम पनि गरिएको छ । विद्यालयमा पनि यी बालबालिकालाई सम्मानपूर्वक पढ्न पाउने व्यवस्थापनका लागि आग्रह गरिएको छ । उनीहरुलाई कुनै पनि अपमानित नहुने बरु थप सम्मान र हौसला प्रदान गर्ने गरी पढाउन लगाइएको गाउँपालिका अध्यक्ष बुढाले जानकारी दिए ।
यो कामलाई अब आउने जनप्रतिनिधिले पनि निरन्तरता दिने गरी कार्यविधि समेत बनाइएको छ । यहाँका बालबालिकाको अवस्थाबारे विभिन्न संघसंस्थालाई अध्ययन गर्न, अनुगमन गरी सुझाव पेश गर्न पनि लगाइने गरिएको छ । उनीहरुलाई कक्षा १२ सम्म पढ्नका लागि पालिकाले साथ दिने र गाउँकै विद्यालयमा पढ्ने अबसर दिइनेछ ।
बालगृहलाई नकारात्मक रुपमा लिने समाजले यो अवस्था देखेपछि राम्रो मान्न थालेका छन् । ‘पहिला त के होला र भन्ने थियो, तर धेरैले आफ्नो भविष्य सुरक्षित बनाउन पाएको देखेर हामी खुसी भयौं,’ बागलुङस्थित धौलागिरि बहुमुखी क्याम्पसका उपप्राध्यापक दिपक कंडेलले भने, ‘हामीले पनि त्यहाँ पुगेर सानो सहयोग गरेर फर्किएका थियौं ।’ बालबालिकाको हितमा गरेको कामलाई कँडेल सहितको टोलीले पालिकालाई धन्यवाद दिएको थियो ।





