बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

गण्डकी प्रदेश सभामा असिनापानीको मार

गण्डकी प्रदेश सभामा असिनापानीको मार

त्यो टिनको छानो भएको हलले उनको आवाजलाई नै मत्थर पारिदियो । चुमानले सांसद र सभामुखतर्फ हेर्दै भने, ‘सुनिएको छैन क्या है, के गर्ने ?’ केहीबेर रोकिएर उनले फेरि आफ्ना कुरा राख्न थाले, ‘असिनासमेत परेकोले केही क्षण रोकिएँ, फेरि आयो ...।’


  • ढोरपाटन संवाददाता
  • जेष्ठ १२ २०८३, मंगलबार

पोखरा/ गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा खरानी बनेयता गण्डकी प्रदेशसभा बैठक नदीपुरमा रहेको नगर प्रशिक्षणबाट सरेर मालेपाटनस्थित कृषि मन्त्रालय भित्रको तालिम केन्द्रको हलमा चल्दै आएको छ ।

यो हलका पर्खाल पहिले जीर्ण थिए । मन्त्रालय परिसरभित्रै भएतापनि त्यहाँसम्म पुग्ने बाटो ढलान थिएन । हुन त, मन्त्रालय यहाँ आउनुअघि कृषि विकास निर्देशनालयको भवन त्यहाँ थियो ।

त्यही निर्देशनालयले कृषिका योजना तर्जुमा, वार्षिक समीक्षा गोष्ठीहरु सबै त्यहीँ गथ्र्यो । अन्य मन्त्रालय र सरकारी कार्यालय भन्दा अलि अपायक ठाउँमा रहेकोले कृषि मन्त्रालय र मातहतका संरचनाहरु भने जेनजी आन्दोलनमा जोगिन पुगे । त्यसपछि प्रदेशसभा बैठक खरानी बनेको ठाउँ छाडेर त्यही तालिम केन्द्रको हलमा बस्न थाल्यो ।
भवनको पर्खाल पक्की छ तर जस्तापाताले छाइएको छ । वायरिङका तार नदेखिउन र सजावट पनि राम्रो होस भनेर बीचमा जिप्सन हालिएको छ । त्यही हलभित्र सत्तापक्ष र प्रतिपक्ष बस्ने कुर्ची (रो) छुट्याइएको छ । सभामुखको आसन अगाडि छ भने सांसदको पछाडिपट्टि कर्मचारीदेखि मिडियाको लागि ठाउँ छ ।

सोमबारदेखि गण्डकीको बजेट अधिवेशन सुरु भएको छ । चालु आर्थिक वर्षको बजेट पारित गरेतापनि अधिवेशन अन्त्य नहुँदै प्रदेशसभा इतिहास बन्न पुगेको थियो ।
अहिलेको जुगाड सभाहलमा पनि सोमबार भने गज्जबको दृश्य देखियो । चैतको मध्यसातादेखि नै पोखरामा मौसम बिहान चिसो, दिउँसो पोल्ने र अपरान्हमा नै भीषण असिनापानीसहितको वर्षात हुने गर्दछ ।

पोखरामा असिना पानी प¥यो भने २ बजेछ भन्ने थाहा हुन्छ, घडी हेर्नुपर्दैन भन्ने व्यंग्य पनि सामाजिक सञ्जालमा त्यही असिनासहितको वर्षासँगै लाइभ गर्नेहरुको पोस्टमा देखिन्छ ।

सोमबार त्यसको मारमा प¥यो प्रदेशसभा । नेताहरुको सम्बोधनको कार्यसूची अनुसार अगाडि बढ्दै जाँदा रोस्टममा थिए, नेकपा (तत्कालीन माओवादी केन्द्र) संसदीय दलका नेता हरिबहादुर चुमान । चुमानअघि नेपाली कांग्रेसबाट प्रमुख सचेतक प्रकाश बराल र राप्रपा संसदीय दल नेता पञ्चराम गुरुङले बोलिसकेका थिए ।

चुमान बोल्दै थिए, अघिल्लो कार्यकाल सम्झिँदै थिए, जेनजी आन्दोलन सम्झिँदै थिए, अनि संघ सरकारको बारेमा पनि बोले । चर्को घाममा प्रदेशसभा हलमा मुख्यमन्त्री देखि अन्य मन्त्री र सांसदसहित छिरेका उनी बोल्दैगर्दा हलबाहिरको मौसम भने फेरिइसकेको थियो । कालो बादलले आकाश छोप्यो र पानीका छिटा बर्साउन थाल्यो । त्यसमाथि असिना पनि थपियो ।

बस, त्यो टिनको छानो भएको हलले उनको आवाजलाई नै मत्थर पारिदियो । चुमानले सांसद र सभामुखतर्फ हेर्दै भने, ‘सुनिएको छैन क्या है, के गर्ने ?’ केहीबेर रोकिएर उनले फेरि आफ्ना कुरा राख्न थाले, ‘असिनासमेत परेकोले केही क्षण रोकिएँ, फेरि आयो …।’

मुख्यमन्त्री, मन्त्रीदेखि सांसदसहित हलको छततर्फ हेर्दै थिए । कोही आपसमा गफिँदै थिए । रोस्टममा उभिएका चुमान चाहिँ भन्दै थिए, ‘उभिरहनुपर्ने भयो ।’ पाँच मिनेट उभिएपछि उनी आफ्नै सिटमा फर्किए । पानी मत्थर भएपछि चाहिँ फेरि गएर आफ्ना कुरा राखे । प्रदेशसभा सचिव गोविन्द पौडेलले असिनापानीसहितको आवाजले हलमा केही असहजता देखिएको बताए । सभा नरोकिएको तर, बोल्ने क्रममा भने केहीबेर रोकिनुपरेको बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->