बागलुङ/ दक्षिण बागलुङको जैमिनी नगरपालिकाका घरधुरीलाई किसान सूचीकरण प्रणालीमा आवद्व गर्न गणकहरु खटिएका छन् । सबै घरधुरीलाई किसान सुचीकरण प्रणालीमा आवद्व गरी असारसम्म परिचयपत्र वितरण गर्ने जैमिनीको योजना छ ।
जैमिनीका कृषि शाखाका कृषि अधिकृत सुवास सापकोटाका अनुसार, अहिलेसम्म २ हजार २ सय ३९ घरधुरी किसान सूचीकरण प्रणालीमा आवद्व भएका छन् । जैमिनीमा ४ हजार ३ सय घरधुरी छन् । ती घरधुरीलाई किसान सूचीकरण प्रणालीमा समेट्ने लक्ष्य छ ।
प्रणालीमा सूचीवद्व हुन छुटेका किसानलाई समेट्न जैमिनी नगरपालिका ८ छिस्ती र वडा नं. ६ अर्जेवामा अभिमुखीकरण तथा घुम्ती शिविर सम्पन्न गरिएको छ । आठ जना गणकले किसानको घरदैलोमा पुगेर किसानको विवरण संकलन गर्ने काम गरिरहेका छन् ।
प्रत्येक वडामा सुचीकरणका लागि गणकहरु खटिएकाले त्यसमा आवद्व हुन जैमिनीका नगर उप–प्रमुख हरिहर शर्माले आव्हान गरेका छन् । ‘गणकहरु घरदैलोमा पुग्दा नभेटिने र किसान परिचयपत्रको महत्वबारे अनभिज्ञ हुँदा छुटेकालाई घुम्ती शिविरमार्फत् सूचीकरण प्रणालीमा समेट्ने काम समेत भएको छ,’ शर्माले भने ।
गणकहरुले किसानको व्यक्तिगत विवरण, पेशा, परिवारमा सदस्यको संख्या, जग्गा विवरण, किसान आवद्व भएको क्षेत्र (फलफूल, मसला, पशुजन्य), किसानको वार्षिक आम्दानी, जग्गा भाडा लिएको छ कि छैन, सरकारी अनुदान पाए नपाएको लगायतका विषयमा तथ्यांक संकलन गरिरहेको कृषि अधिकृत सापकोटाले जानकारी दिए ।
किसान सूचीकरण प्रणालीमा आवद्व भएपछि समूह वा सहकारीमा आवद्व हुन नपर्ने, अनुदान र बजारीकरणको व्यवस्थापनमा किसानलाई सहज हुने सापकोटाको भनाई छ ।
‘सूचीकरणले कृषकको वास्तविक अवस्थाबारे जानकारी हुँदा सेवा प्रवाह र योजना बनाउन सहयोग पुग्ने छ,’ सापकोटाले भने, ‘किसान लक्षित योजना र उनीहरुको आवश्यकता पूरा गर्न सूचीकरणले टेवा पुग्ने छ ।’ किसानका लागि आवश्यक पर्ने मल, बीउविजन वितरणदेखि अनुदानलगायतका काममा पनि सहयोग पुग्ने सापकोटाले बताए ।
सूचीकृत किसानलाई रासायनिक मल, बीउ, अनुदान, सेवा व्यवस्थापन र सुविधा उपलब्ध गराउने सरकारको योजना छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गत कृषि, सूचना तथा प्रशिक्षण केन्द्रले किसानलाई सम्बन्धित स्थानीय तहमा सुचीवद्व हुन आग्रह गरेपछि यहाँका स्थानीय तहले किसान सूचीकरणको काम थालेको हो ।





