आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

अमेरिका पठाउने भन्दै लाखौ ठगेर फरार

अमेरिका पठाउने भन्दै लाखौ ठगेर फरार

बैदेशिक रोजगार बिभाग र जिल्ला प्रहरी कार्यालय कावासोतीमा पटक पटक जानकारी गराउँदा समेत गिरी पक्राउ परेका छैनन् ।


  • नारायण शर्मा
  • जेष्ठ १४ २०८३, बिहिबार

नवलपुर/ ड्राइभर भिसामा अमेरीका लैजाने भन्दै एक दर्जन भन्दा धेरैको लाखौ रुपैया ठगि गरेका गैडाकोटका प्रितम गिरी २ वर्ष अघि देखि फरार छन ।

गैडाकोट–२ निवासी ४२ वर्षीय गिरीले कावासोती गोछडाका प्रेमलाल महतोवाट अमेरीका लैजाने भन्दै ५७ लाख रुपैया नगद लिएर बेपत्ता भएका हुन् ।

प्रेमलालले दिएको जानकारी अनुसार गिरीले आफनो कर्मचारी भन्ने गरेका चितवनका नारायण रेग्मीको खातामा रकम जम्मा गरिदिएका हुन । ‘रकम जम्मा गरेपछि अमेरीकामा रहेको कसैलाई भिडियो कलमा कुरा गर्न लगाउथे’, प्रेमलालकी आमा परमेश्वरी महतोले भनिन, ‘आज भिसा पठाउला भोली पठाउला भन्दा भन्दै २ वर्ष बितिसक्यो, तर भिसा आएन ।’ अमेरीका लैजाने भनेर बसन्त बंसि, रामबहादुर सेन र हरी बहादुर बम र राजन भन्ने युवाहरुवाट समेत थप ६५ लाख गिरीले लगेको जनाइएको छ ।

भिसा पठाउन नसक्ने भएपछि पैसा फिर्ता दिनुस भनेर धेरै पटक सम्पर्क गर्दा उल्टै धम्क्याउने गरेको परमेश्वरीको गुनासो छ । ‘फोन गर्दा म नेपाल प्रहरीको आइजीपीसंग छु, कहिले गृहमन्त्रीसंग छु भनेर धाक लगाउने गरेका छन्’, परमेश्वरीले भनिन् ‘आफुहरुले बैदेशिक रोजगार बिभाग र जिल्ला प्रहरी कार्यालय कावासोतीमा पटक पटक जानकारी गराउँदा समेत गिरी पक्राउ परेका छैनन् ।’

अमेरिका लैजाने भन्ने र नलगेर पैसा फिर्ता माग्दा उल्टै प्रहरी लगाएर थुनिदिने धम्की आएपछि परमेश्वरी महतो समेतले काठमाण्डौ स्थित बैदेशिक रोजगार बिभागमा उजुरी दिएकी छन । उजुरी र प्रमाणका आधारमा बिभागले ०८२ माघ १३ गते जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्व, सिन्धुली, रुपन्देही र गोरखालाई पत्र लेखेर गिरीलाई पक्राउ गरेर बुझाउन आदेश दिएको छ ।

त्यसअघि पीडितले ०८१ साल माघमा जिल्ला प्रहरी कार्यालय काठमाण्डौमा गिरीले बिदेश पठाइदिने प्रलोभन पारेर धेरैको रकम ठगि गरेर फरार भएको भन्दै उजुरी दिएका थिए । ती जिल्लाका अन्य ब्यक्तिहरुलाइ समेत अमेरीका पठाउने भनेर पैसा लिएको र नपठाएका कारण दिएका उजुरीका आधारमा रोजगार बिभागले जिल्लाहरुलाई पत्राचार गरेको हो ।

गिरीले धेरै जनाको लाखौ रुपैयाँ ठगेर बेपत्ता भएको उजुरी आएको जिल्ला प्रहरी प्रमुख एसपी युवराज खड्काले बताए । ‘हामीले खोजी गरिरहेका छौ, छिटै पक्राउ गर्छौ,’ उनले भने, ‘हामीले विभिन्न प्रमाण संकलन गरिरहेका छौ ।’ गिरीको कावासोती नगरपालिका वडा नम्बर १७ ढोकी र गैडाकोटमा घर रहेको छ ।

 

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->