पोखरा / गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मुस्लिम समुदायको महान् पर्व बकर ईद (ईद–उल–अज्हा) का अवसरमा शुभकामना व्यक्त गर्दै पर्वले सामाजिक सद्भाव, सहिष्णुता र राष्ट्रिय एकतालाई थप मजबुत बनाउन प्रेरणा मिलोस् भन्ने कामना गरेका छन् ।
बिहीबार जारी शुभकामना सन्देशमा मुख्यमन्त्री पाण्डेले गण्डकी प्रदेश तथा स्वदेश–विदेशमा रहेका सम्पूर्ण नेपाली मुस्लिम दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका हुन् । उनले त्याग, आस्था, निष्ठा, बलिदान, मानवता र भाइचाराको सन्देश बोकेको बकर ईदले आपसी मेलमिलाप, सहकार्य र सामाजिक एकतालाई सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गरेका छन् । विविध धर्म, संस्कृति, भाषा र परम्पराले समृद्ध नेपाली समाजमा यस्ता पर्वहरूले पारस्परिक सम्मान र सामाजिक सद्भाव अभिवृद्धि गर्दै आएको उनको भनाइ छ ।
मुख्यमन्त्री पाण्डेले ‘विविधतामा एकता’ नेपालको मौलिक विशेषता रहेको उल्लेख गर्दै गण्डकी प्रदेश बहुभाषिक, बहुसांस्कृतिक तथा बहुधार्मिक सहअस्तित्वको उत्कृष्ट उदाहरणका रूपमा रहेको बताएका छन् । साझा सांस्कृतिक सम्पदा र मौलिक परम्पराको संरक्षण तथा प्रवर्द्धनले सामाजिक सद्भावसँगै पर्यटन विकास र आर्थिक समृद्धिमा समेत योगदान पुग्ने विश्वास उनले व्यक्त गरेका छन् ।
उनले गण्डकी प्रदेश सरकारले अघि सारेको ‘आत्मनिर्भर र समुन्नत प्रदेशः सुखी प्रदेशवासी’ भन्ने संकल्प साकार पार्न यस्ता पर्वहरूले थप ऊर्जा प्रदान गर्ने धारणा राखेका छन् । साथै बकर ईदको पावन अवसरले सबै नेपालीबीच आपसी सम्मान, सहयोग, सहकार्य र भातृत्वको भावना अभिवृद्धि गर्दै सभ्य, समुन्नत र सुसंस्कृत समाज निर्माणमा प्रेरणा प्रदान गरोस् भन्ने कामना गरेका छन् ।





