पोखरा/ पोखरा महानगरपालिकाले पृथ्वीचोकस्थित बसपार्क अगाडि सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका अनधिकृत भौतिक संरचनाहरू विहीबारदेखि भत्काउन सुरु गरेको छ ।
सहारा क्लब र सामुदायिक प्रहरी सेवा केन्द्रका भवनका साथै हिमाली सांस्कृतिक परिवारले भोगचलन गर्दै आएका संरचना भत्काइएको छ । साथै अतिक्रमित क्षेत्रमा नि र्मित नेपाली कांग्रेस निकट ट्रेड युनियन कांग्रेस र एमाले निकट जिफन्ट गण्डकीलगायतका मजदुर संगठनका कार्यालयहरू समेत गरी ९ वटा भवनव भत्काइएको हो । महानगर प्रमुख धनराज आचार्यले लामो समयदेखि विभिन्न संघ संस्थाले उपभोग गर्दै आएका यी सार्वजनिक जग्गालाई संरक्षण गरी सडक चौडा बनाउने स्पष्ट पारेका छन् ।
सार्वजनिक जग्गा र सडक भोगचलन गर्दै आएका ती संस्थाहरूले संरचना बनाएर तेस्रो पक्षलाई भाडामा समेत लगाएका थिए । यसअघि नै नेकपा निकट मजदुर संगठनले भने संरचना भत्काएर चाबी बुझाइसकेको थियो । यो क्षेत्रका संरचनाहरू हटाएपछि पृथ्वीचोकबाट नयाँबजारतर्फ जाने सडकलाई दुईतर्फी रूपमा विस्तार गर्ने महानगरको योजना छ ।
महानगरपालिकाले सार्वजनिक जग्गा खाली गर्न यसअघि नै ३५ दिनको अन्तिम म्याद दिएर सूचना जारी गरेको थियो, जसको अवधि गत ९ जेठमा नै सकिएको थियो । १० जेठबाट फिर्केखोलाबाट सुरु भएको सार्वजनिक जमिन खाली गर्ने अभियान बिहीबार पृथ्वीचोक आइपुगेको हो । अमरसिंह माविको नाममा रहेको अमरसिंह चोकका टहरा व्यवसायीहरूले पनि महानगरको आग्रहपछि आफ्ना संरचना आफैं हटाएका छन् ।






