बागलुङ/निसीखोला गाउँपालिका वडा नं. १ को देविस्थानलाई मध्यपहाडी लोकमार्ग र सालझण्डी ढोरपाटन सडकको ट्रयाकले छोएको छ । दुई राष्ट्रिय राजमार्ग रहेको वडाको विकास निकै अगाडि हुनुपर्ने हो, तर त्यस्तो हुन सकेको छैन । लोकमार्गले केही भाग छोएर गएकोले देवीस्थान गाउँमा सहज छ । स्वास्थ्य सेवा लिनेले तत्काल गाडी चढेर सहर जान पाउँछन् । तर, अधिकांश बस्ती ग्रामीण क्षेत्रमा छ । हर्पेलगायतको गाउँलाई सालझण्डी ढोरपाटनको सडकले छोए पनि अहिलेसम्म यो खण्ड स्तरीय बन्न सकेको छैन । जसका कारण आम नागरिकले पालिका र वडा कार्यालय आउन पनि सास्ती खेप्छन् ।
केन्द्रीय सरकारले सालझण्डी सडकमा बजेट विनियोजन गरेपनि नियमित रुपमा अन्य जिल्लामा मात्रै खर्च गर्दा बागलुङ खण्ड ओझेलमा परेको छ । स्थानीय तहले लगानी गर्दा बेरुजु आउने भएपछि यो सडक खण्ड अलपत्र छ । जसका कारण वडा नं. १ र ७ को लाइफलाइनमा समस्या आएको हो । यो समस्याबाहेक स्थानीय तहले आफ्नो ढंगले लगानी गरेर समृद्ध पालिका र समृद्द वडा बनाउने काममा नियमित अग्रसर भैरहेका छन् ।
गाउँपालिकाले सबै वडाका ग्रामीण क्षेत्रमा सडक सञ्जाल लैजान करोडौं लगानी गरेको छ । त्यो बाहेक वडा नं. १ मा पनि सडक, पदमार्ग र अन्य पुर्वाधारका लागि धेरै लगानी भैरहेको वडाध्यक्ष चन्द्रसिंह रामजाली मगरले बताए । यातायातको सहजताका लागि वडाको हर्पेदेखि बगा जाने आकासे पुल बनाइएको छ । यो पुलले विद्यार्थी, स्वास्थ्य चौकी आउने बिरामी र साविकको ५ वटा वडालाई सहज आउजाउको व्यवस्था मिलेको छ । ४ सय ६५ मिटर लामो यो पुलले पर्यटक प्रवद्र्धनका लागि पनि सहयोग पुगेको छ भने दुइ घण्टा पैदल हिंडेर पढ्न आउने बालबालिका १० मीनेटमा आउजाउ गर्न पाएका छन् । स्थानीयलाई पनि अन्य कामका लागिसमेत यो पुल उपयोगी बनेको छ ।
सडकतर्फ वडाको पाँचफुटे बतासेका लागि गण्डकी प्रदेश सरकारको समपुरक योजनामार्फत् ६५ लाख रुपैयाँको लागतमा ग्राभेल गर्ने काम भएको छ । मुख्य बस्तीदेखि हर्पे राजकुत हुँदै प्युठान जोड्ने सडक बनेको छ । ५५ लाख खर्चेर साठीमुरेदेखि बतासेडाँडा सम्मको सडक बनेको छ । चालु वर्षका लागि सालझण्डी सडकमा ५५ करोड बजेट छ तर काम भएको छैन । यो काम हर्पे क्षेत्रमा गरिदिने हो भने प्युठानदेखि बागलुङको देवीस्थानस्थित मध्यपहाडीमा सालझण्डी ढोरपाटन सडक स्तरीय भएर जोडिने छ । बहुवर्षे योजना भएकोले बजेट फ्रिज नभए पनि काम नहुँदा स्थानीयले समस्या भोगिरहेका छन् ।
पालिकाले सानो सानो बजेट लगानी गरेपनि काममा प्रभावकारिता देखिएको छ । विशेषगरी नेपाल गाजा डेभलपमेन्ट फाउण्डेसनले बनाइदिएको भवनमा मात्र अन्नपुर्ण आधारभूत विद्यालयको पढाइ सञ्चालन हुन नसकेपछि अहिले पालिकाले ५ कोठे भवन बनाएको छ । विद्यालयमा गुणस्तर सुधार गर्न २ जना निजीश्रोतका शिक्षक राखिएको छ । देविस्थान मावि र अन्नपुर्ण आधारभूत विद्यालय वडा नं. १ को शैक्षिक गन्तव्य नै हुन् । देविस्थान माविमा ६ कोठे आवास भवन पनि बनाइएको छ । यो भवनका लागि गाउँपालिकाको सानो सहयोगपछि स्थानीयले श्रमदान र नगद चन्दा उठाएका छन् ।

मध्यपहाडीबाट देवीस्थान, लेवाङ हुँदै प्युठान जोड्ने सानो नाङगे र ठूलो नाङगे तर्फको सडक बनाइएको छ । यो सडकले पर्यटन प्रवद्र्धनमा महत्वपुर्ण साथ मिलेको छ । त्यस्तै कृषि सडक सञ्जाल बनेकोले किसानका उत्पादन बजारसम्म लैजान सहज बन्दै गएको छ ।
वडा कार्यालयको भवन बनाउन २ रोपनी जमिन तयार भएको छ । ५५ लाख रुपैयाँमा वडा कार्यालय भवन बनाउन प्रदेश सरकारको ५० प्रतिशत साझेदारीको सहमति भएको छ । स्वास्थ्य कार्यालयको आफ्नै भवन भएकोले सेवा प्रवाहमा सहजता भएको छ । यद्यपी बर्थिङ सेन्टर पनि भएकोले अनमी लगायतको कर्मचारी आवश्यकता छ ।
वडाभित्र पदमार्ग पनि बनेका छन् । जिल्लास्थित एकीकृत सेवा कार्यालय, पालिका र वडाको बजेटबाट पदमार्ग बनाएर गाउँलेलाई सहज आउजाउको व्यवस्थापन भएको छ । असारेडाँडादेखि प्युठान जोड्ने सिमाना सम्मको गोरेटोलाई पदमार्ग बनाउन चालु वर्ष ५ लाख बजेट खर्च गरिएको छ भने अन्नपुर्ण आधारभूत विद्यालयको प्राङगणमा पनि ५ लाख खर्चेर पदमार्ग बनाइएको छ । कृषितर्फ अर्गानिक खेतीमा वडाले जोड दिएको छ । विशेषगरी समूहमा अन्तरक्रिया गर्ने र मिलेर गर्ने खेतीका लागि बीउ वितरण गर्ने, पशुपालनमा स्थानीयलाई प्रोत्साहन गर्ने, आमा समूहलाई २ लाखको पाठी वितरण गरेर नयाँ जन्मेपछि बहिनी समूहलाई दिने व्यवस्था गरिएको छ ।
भौतिक विकासको लक्ष्य आँफैमा महत्वपुर्ण छ । त्यो भन्दा बढी सामाजिक क्षेत्रको विकासलाई प्राथमिकता दिएर कतिपय काम पनि भएका छन् । स्वास्थ्य सेवालाई गुणस्तरीय बनाउने, प्रभावकारी शिक्षा, सुशासन, पारदर्शीता जस्ता विषयलाई प्राथमिकता दिइएको रामजालीको भनाइ छ । थोरै लगानीमा धेरै योजनामा काम गर्न खोज्दा जनआकांक्षा पुरा गर्न नसकिने भएपछि यस्ता क्रियाकलापमा पनि लगानी गरिएको हो । निसीखोला गाउँपालिका वडा नं. १ को हुल्दीमा केही वर्ष अघिदेखि नै पहिरोको प्रकोपको समस्या छ । त्यसैले संरक्षणका योजना समेत बनाएर लागू गरिएको छ । अव्यवस्थित सडक खन्दाको पीडा सबैले बुझेकोले अबका दिनमा संरक्षणको दृष्टिले पनि हेरेर मात्र काम गर्नुपर्ने सुझाव आए अनुसारको काम गरिएको हो ।
कतिपय स्थानमा सामान्य पदमार्ग बनाए पुग्ने भएपछि डोजर नचलाउने स्थानीयको मागलाई वडाले साथ दिएको छ । पर्यटकीय गन्तव्यका लागि सडक मार्गभन्दा पदमार्ग आर्कषक र कम जोखिमको हुन्छ । देविस्थानदेखि हर्पे, धुँवाकोट जाने पदमार्ग स्थानीयले खनीखोस्री गरेर बनाएका छन् । त्यसका स्थानीय तहको सामान्य लगानी परेको छ । सिमेन्ट भन्दा स्थानीय ढुंगा माटोले काम गर्न पहल गरिएको छ । केही स्थानमा भत्केकोले सिमेन्ट प्रयोग गरेको उनले बताए ।
गत वर्षको ९ लाख रुपैयाँ लगानी गरेर बनेको पदमार्गले धुँवाकोट जान सहज भएको छ । देविस्थानदेखि हुल्दी, ठूलो नाङगी जाने पदमार्ग पनि ७ लाख रुपैयाँको लागतमा व्यवस्थित बनाइएको छ । यी दुवै पदमार्गमा वडा र गाउँपालिकाको लगानी परेको छ ।
देविस्थान बजारदेखि हुल्दी, रसानन्द, झुपरीकोट आधारभूत विद्यालय, त्यहाँको आधारभूत स्वास्थ्य इकाईसम्म वाइफाइ जोन बनाइएको छ । जसका कारण विद्यार्थीले इन्टरनेटको माध्यमले पढ्न पाएका छन् भने स्वास्थ्य इकाईमा आइपर्ने समस्याबारे आफूभन्दा माथिल्लो निकायमा सोधखोज गर्ने तथा उपचार पद्धतिमा सल्लाह गर्न पाउने अवस्था बनेको छ । यो सेवाले अभिभावक, विद्यार्थी र शिक्षक तथा स्वास्थ्यकर्मीले भरपुर उपयोग गरिरहेका छन् ।
लेवाङ, हुल्दी, पाखापानी जाने सडकमा १५ लाख लगानी भएको छ । कच्ची सडक भएकोले वर्षातमा समस्या पर्ने भएकोले ग्राभेलका लागि बजेटको खोजी भएको छ । वडा नं. १ ले स्वास्थ्य क्षेत्रमा पनि लगानी बढाएको छ । स्वाथ्य क्षेत्र सुधार गर्न लेवाङमा प्राथमिक स्वास्थ्य इकाइ स्थापना भएको छ । देविस्थानमा स्वास्थ्य चौकी छ । देविस्थान आइपुग्न तीन घण्टा लाग्ने स्थानका बिरामीले यो इकाईबाट राम्रो सेवा पाएका छन् । साबिकको ३ वटा वडा त यो इकाइमा निर्भर जस्तै छ । त्यसैले यहाँ आवस्यक उपकरण र सामग्रीहरु बढाउन जरुरी छ । दक्ष जनशक्तिको खोजी भैरहेको छ ।
बालबालिकाको क्षेत्रमा पुर्ण खोप, अनिवार्य शिक्षा जस्ता अभियान चलाएपछि विद्यालयदेखि बाहिर बालबालिका छैनन् । खोप लगाउन छुटेका बालबालिका पनि छैनन् । कुनैबेला विद्यालय नजाने धेरै भेटिने, खोप नलगाएकाहरु भेटिने अबस्था परिवर्तन भएको छ । तरपनि अझै यो क्षेत्रमा बालविवाह जटिल समस्याको रुपमा छ । विभिन्न सचेतनाका कार्यक्रम गरेर भएपनि त्यो न्युनिकरणको प्रयास भने भएको छ । वडा, पालिका र बाहिरी संस्थाबाट पनि बालविवाहविरुद्धका अभियान भने चाल्नुपर्ने बाध्यता छ । स्वास्थ्य शाखाको तथ्यांकमा २० मुनिका आमा छिटफुट भेटिन्छन् । उनीहरुलाई कानूनले तोकेको उमेर नपुगी विवाह गर्दा स्वास्थ्यमा समस्या आउने गर्छ भनेर महिला स्वास्थ्य स्वयंसेविकामार्फत पनि बुझाउने काम भैरहेको छ । स्वयंसेविकाहरुले ग्रामीण क्षेत्रमा पुगेर सचेतनाका अभियान चलाइरहेका छन् । यो समस्या कम गर्न युवा क्लब, किशोरी समूह र आमा समूहलगायतलाई पनि सक्रिय बनाइएको छ । कतिपयलाई त कारवाही गरियो, परिवारमा सिफारिस नदिने जस्ता चेतावनी पनि दिइएको थियो । कतिपयले त यस्ता समस्या आउने थाहा पाएर विवाह गर्दैनन् छिटफुट रुपमा भैरहेका छन् । तर पनि पछिल्लो तीन वर्षमा धेरै सुधार भएको छ । अभिभावक शिक्षालाई धेरै नै जोडबल गराइएको छ । उल्लेख्य पर्यटकीय क्षेत्र नभएपनि साना साना क्षेत्रको विकास, प्रचार तथा स्थानीय संस्कृति जोगाउने काममा लगानी गर्दा पर्यटन प्रवद्र्दन हुने ठानेर काम गरेको अध्यक्ष रामजाली बताउँछन् ।
लोकमार्गलाई अधिकतम सदुपयोग गरेर विकासका पुर्वाधार बनाउने, पर्यटकीय क्षेत्र विकास गर्ने र लगानी बढाउने हो भने पर्यटनबाट पनि समृद्धि ल्याउन सकिने स्थानीय शोभा कुँवर बताउँछिन् । उनका अनुसार कृषि र पर्यटन पनि यहाँको संभावना हो । पशुपालन व्यवसायलाई प्रवद्र्दन गर्दा स्थानीयले नगद हात पार्ने अवस्था आउँछ । खसीबोका, भेडा जस्ता चौपाया बेचेर सहजै रकम पाउन सकिने उनले बताइन् ।
पदमार्ग र सडकमार्गले जोड्दा प्युठानदेखिका मानिस वनभोज खानमात्र होइन, मध्यपहाडी लोकार्ग झरेर यात्रा गर्नपनि थालेका छन् । सालझण्डी सडक बनिसक्दा यो क्रम बढ्नेछ । बुर्तिवाङ, देविस्थानलगायतका बजारको व्यवसाय पनि बढ्नेछ । तीन बैनी धुरी, धुँवाखोर चुली लगायतको स्थानमा पर्यटन प्रवद्र्धनका कार्यक्रम सञ्चालन गर्न सकेमा मात्र सोचे अनुसार वडालाई समृद्धि तर्फ लैजान सकिन्छ भन्ने स्थानीयको मत छ । ग्रामीण क्षेत्रका स्थानीय तह भएकोले शुन्यताबाट काम थाल्नुपर्ने बाध्यताले धेरै ढीलाई भएको हो । वडाले गाउँ प्रोफाइलमार्फत् आवस्यक स्थानको पहिचान गरिसकेकोले लगानीको बाटो भेटाइयो भने सबै का मगर्न सकिन्छ । विद्यालय शिक्षा नै नपाएका स्थानीयलाई शैक्षिक हब बनाएर देविस्थानले शिक्षाको ज्योती फैलाएको छ । आजकल यहाँको शिक्षामा आएको परिवर्तन देखेर पालिका अध्ययक्ष सहितका जनप्रतिनिधिले पनि शिक्षा क्षेत्रको विकासबाटै समुन्नत समाज र समृद्धिका लागि ढोका खोल्न सकिने बताउन थालेका छन् ।
सामाजिक विकास पहिलो प्राथमिकता
चन्द्रसिंह रामजाली
वडाध्यक्ष
वडा नं. १ निसीखोला गाउँपालिका
हिजोको शिक्षा, र आजको शिक्षाको स्तर, गुणस्तर र प्रभाव देख्दा निसीखोला गाउँपालिका अब दुर्गम छैन । तर जति प्रयास भयो त्यो राम्रो हो, तर सहरी क्षेत्रका विद्यालयसँग प्रतिस्पर्धा गर्ने शिक्षाको वातावरण बनाउन भने सकिएको छैन । त्यो बनेको दिन यहाँका जनता सचेत र शिक्षित बन्नेछन् । सचेत र शिक्षित नागरिकबाट मात्र आफ्नो क्षेत्रको उचित विकासको खाका बन्नेछ ।

वडा र पालिकाले जबरजस्ती गरिदिएको विकासले भौतिक प्रगती देखिएला, तर आम नागरिकको आवस्यकता पुरा गरेको वा नगरेको भन्न सकिंदैन । त्यसैले अझै पनि हामी शिक्षा, स्वास्थ्य र संचार क्षेत्रलाई प्रभावकारी बनाउन लागेका छौं । ग्रामीण बस्ती, दलित र जनजातीको बाहुल्यता, शिक्षा र स्वास्थ्यबाट निकै पछाडि परेको पालिका भएकोले हामीले भौतिक विकासभन्दा सामािजक विकासलाई प्राथमिकता दिनुपरेको हो । वडा तहको सानो बजेटले विकासमा फड्को मार्न कठिन छ । तर पनि हामीले लेवाङमा स्वास्थ्य इकाई राखेर नागरिकको स्वास्थ्य सेवालाई सहज बनाउने प्रयास गरेका छौं । गर्भवती महिलाले यहाँ सेवा पाउँछन् । त्यस बाहेक प्राथमिक उपचार पाएपछि मात्र अन्यत्र जान पनि सहज भएको छ ।
सबै विद्यालयमा गुणस्तरीय शिक्षा पु¥याउन पहल भएको छ । तर, ग्रामीण क्षेत्रमा दरबन्दीका शिक्षक अभाव छ । नीजि श्रोतको भरमा बस्दा अभिभावकलाई समस्या छ । तरपनि हामीले अनेकन प्रयास गरेर सेवा प्रवाह बढाउने काम गरिरहेका छौं । हिजोको दिनमा शिक्षा र स्वास्थ्यमा त हामी धेरै कमजोर थियौं, अहिले कम्तिमा पालिकाको अग्रणी बन्ने कोसिस गरेका छौं । नागरिकलाई सचेतना गराएर शिक्षामा आधुनिकता र गुणस्तर बढाउनुपर्ने आवस्यकता छ । तर अहिले पनि गणित, विज्ञान जस्ता विषयका शिक्षक पाउन पनि गाह्रो छ । ग्रामीण क्षेत्रमा आएर बसिदिनेहरु त झनै पाइँदैनन् । आधारभूत स्वास्थ्य इकाइ गठन गरेर पनि दक्ष स्वास्थ्यकर्मी राख्न सकिएको छैन । त्यसका लागि पहल भैरहेको छ । बिरामीलाई समयमा स्वास्थ्य संस्थामा लैजान सडक स्तरीय चाहिन्छ । मुल सडकलाई संघीय सरकराले समयमा हेरिदियो भने शाखा सडकमा हामी काम गरिरहेका छौं । नागरिकलाई बजारको ग्यारेन्टी दिन सकेमा कृषि र पशुपालन बढाउन सकिन्छ । हातमा पैसा आएमा किसानले पनि मेहेनत गर्छन् । बसाइँसराइ रोकिन्छ ।





