आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

गणतन्त्रको वास्तविक कार्यभार जनताको जीवनमा सार्थक परिवर्तन ल्याउनु हो– मुख्यमन्त्री पाण्डे

गणतन्त्रको वास्तविक कार्यभार जनताको जीवनमा सार्थक परिवर्तन ल्याउनु हो– मुख्यमन्त्री पाण्डे


  • ढाेरपाटन संवाददाता
  • जेष्ठ १५ २०८३, शुक्रबार

पोखरा/ गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गणतन्त्रको वास्तविक कार्यभार जनताको जीवनमा सार्थक र सकारात्मक परिवर्तन ल्याउनु रहेको बताएका छन् । गणतन्त्र दिवसको ऐतिहासिक अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री पाण्डेले नेपाललाई सबल, आत्मनिर्भर तथा समाजवादउन्मुख अर्थतन्त्रसहितको विकसित राष्ट्रका रूपमा अघि बढाउनु नै गणतन्त्रको मूल मर्म भएको उल्लेख गरेका हुन् ।

उनले यस अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गरेका छन् । संघीय शासन व्यवस्थाको अभ्यास भएको आठ वर्ष पूरा भएको उल्लेख गर्दै मुख्यमन्त्री पाण्डेले संविधानको परिकल्पना अनुसार संघ, प्रदेश र स्थानीय तहबीचको सहकार्य, समन्वय र सहअस्तित्व मार्फत संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालाई संस्थागत गर्ने कार्य जारी रहेको बताएका छन् ।

यो अवधिमा प्रदेश सरकारबाट जनअपेक्षा बमोजिमका काम गर्ने भरपुर प्रयास भएको दाबी गर्दै उनले विकास, नीति, सुशासन, पारदर्शिता र जनविश्वासलाई सुदृढ गर्दै नागरिकले देख्ने, सुन्ने र महसुस गर्ने गरी गण्डकी प्रदेश सरकारले आफूलाई स्थापित गर्दै ल्याएको उल्लेख गरे ।

मुख्यमन्त्री पाण्डेले गत भदौ २३ र २४ गते जस्ता ध्वंसका घटनाबाट चाहेजस्तो तत्काल परिवर्तन सम्भव नभएको स्पष्ट पार्दै सकारात्मक सोच र आत्मविश्वासका साथ सामूहिक प्रयत्नबाट मुलुकमा देखिएका समस्याको दीर्घकालीन समाधानतर्फ अघि बढ्नु आजको आवश्यकता रहेको औंल्याएका छन् ।

नेपालको संविधानले मौलिक हकका रूपमा व्यवस्था गरेका शिक्षा, स्वास्थ्य, खाद्य सुरक्षा, सरसफाइ, खानेपानी र पर्यावरण लगायतका आधारभूत अधिकारलाई व्यवहारिक रूपमा कार्यान्वयन गर्न गणतन्त्र दिवसले सबैलाई उत्साह प्रदान गर्ने उनले विश्वास लिएका छन् । सबै जाति, धर्म, भाषा र समुदायको सुदृढ राष्ट्रिय एकताको बलमा गण्डकी प्रदेश सरकारले लिएको “आत्मनिर्भर र समुन्नत प्रदेशः सुखी प्रदेशवासी” को संकल्प पूरा गर्न सम्पूर्ण राजनीतिक दल, नागरिक समाज, पत्रकार एवं आम जनसमुदायबाट सहयोग रहने अपेक्षा गर्दै उनले यस ऐतिहासिक दिवसले मुलुकको भौगोलिक अखण्डता, राष्ट्रिय सार्वभौमिकता, स्वाधीनता र राष्ट्रिय एकतालाई अझ सुदृढ गर्न सबैलाई प्रेरणा मिल्ने विश्वास व्यक्त गरेका छन् ।

सन्देशमा मुख्यमन्त्री पाण्डेले मुलुकमा लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न आफ्नो जीवन उत्सर्ग गर्नुहुने अमर सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुका साथै विभिन्न कालखण्डका आन्दोलनमा बेपत्ता, घाइते तथा अपाङ्गता हुनुभएका नागरिकहरूको योगदानको उच्च सम्मान गर्दै स्वास्थ्यलाभको कामना समेत गरेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->