काठमाडौं/ सरकारले राष्ट्रसेवक कर्मचारीको सुरु तलबमानमा १० प्रतिशत वृद्धि गरेको छ । आगामी आर्थिक वर्ष २०८३र८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री स्वर्णिम वाग्लेले यो घोषणा गरेका हुन । सबै तहका निजामती कर्मचारी, सेना, प्रहरी र शिक्षकको तलब बढेको हो ।
कर्मचारीले खाइपाइ आएको महँगी भत्तालाई निरन्तरता दिएको छ । ‘कर्मचारीको मनोबल उच्च बनाउन र जीवनयापन सहज बनाउन तलब वृद्धि गरिएको र सीमित स्रोतका बाबजुद कर्मचारीको मागलाई सम्बोधन गरेको वाग्लेले बताए ।
सरकारले यसपटक कार्यसम्पादनमा आधारित प्रोत्साहन भत्ताको व्यवस्था पनि गरेको छ । राम्रो काम गर्ने कर्मचारीलाई थप प्रोत्साहन भत्ता दिइने वाग्लेले जानकारी दिए । यसले सरकारी सेवा प्रवाहमा सुधार आउने र कर्मचारीलाई जिम्मेवार बनाउने सरकारको विश्वास छ ।





