पोखरा/ पोखराका पुराना पत्रकार माधव शर्मा र केशवराज पराजुलीसहित विभिन्न क्षेत्रमा योगदान पुर्याएका व्यक्तित्वलाई गण्डकी प्रदेश सरकारले गणतन्त्र दिवसको अवसरमा सम्मान गरेको छ ।
प्रदेश सरकारले सञ्चार, शिक्षा, कृषि, पर्यटन, समाजसेवा र सुरक्षालगायत क्षेत्रमा सक्रिय व्यक्तित्वलाई नगद पुरस्कार, सम्मानपत्र र दोसल्लासहित सम्मान गर्दै गणतन्त्रको प्रतिफल नागरिकस्तरसम्म पुर्याउने काममा प्रोत्साहन गर्ने प्रयास गरेको जनाएको छ ।
पोखरामा शुक्रबार आयोजित विशेष समारोहमा कास्कीका पत्रकार माधव शर्मा र केशवराज पराजुलीलाई सञ्चार क्षेत्रतर्फ सम्मान गरिएको हो । उनीहरूसँगै पर्वतकी सरस्वती शर्मा जिज्ञासुलाई पनि पत्रकारितामार्फत समाजमा योगदान दिएको भन्दै सम्मानपत्र र दोसल्ला प्रदान गरियो । प्रदेश प्रमुख डिल्लीराज भट्ट र मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सम्मानित व्यक्तित्वलाई पुरस्कार तथा सम्मान हस्तान्तरण गरे ।
गण्डकी प्रदेश सरकारले विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएका व्यक्तित्वलाई छनोट गरेर सम्मान गरेको जनाएको छ । कार्यक्रममा समाजसेवा क्षेत्रमा गोरखा चुमनुब्री–७ का पेमा छेवाङ लामा, कास्की पोखरा–११ की डा. चन्द्रा भद्रा र कास्कीका आनन्दराज मुल्मी सम्मानित भए ।
सुरक्षातर्फ नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका ९ जना सुरक्षाकर्मीलाई जनही २५ हजार रुपैयाँ नगदसहित सम्मान गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयकी उपसचिव तथा सूचना अधिकारी हिमा पोख्रेलले बताइन् । उनका अनुसार गणतन्त्रको मर्मअनुसार नागरिकको सुरक्षामा खटिएका सुरक्षाकर्मीको योगदानको मूल्यांकन गर्दै पुरस्कार प्रदान गरिएको हो ।
सशस्त्र प्रहरी बलबाट नम्बर २४ गण हेडक्वाटर कालिका गणका तत्कालीन सशस्त्र प्रहरी नायब उपरीक्षक अरुणकुमार शर्मा, प्रहरी वरिष्ठ हवल्दार लोकेन्द्रबहादुर नेगी तथा नम्बर २३ गण हेडक्वाटर मनकामना तनहुँका सशस्त्र प्रहरी सहायक हवल्दार विनोद खड्का सम्मानित भए ।





