शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

तमानखोलाको गोर्दी र बयलीमा स्याउ खेती

तमानखोलाको गोर्दी र बयलीमा स्याउ खेती

वडा कार्यालयको अगुवाईमा सिहिली सामुदायिक वनमा २ सय बिरुवा र सोले सामुदायिक वनमा १२ सय बिरुवा रोपिएको हो ।


  • ढोरपाटन संवाददाता
  • जेष्ठ १६ २०८३, शनिबार

बागलुङ/तमानखोला गाउँपालिकामा स्याउ खेती शुरु गरिएको छ । समुद्री सतहदेखि पच्चिस सयदेखि ३ हजार मिटरको उचाईमा अवस्थित तमानखोला गाउँपालिका वडा नं. ४ लाम्मेलाको गोर्दी र बयलीमा स्याउ खेती गरिएको हो ।

वडा कार्यालयको अगुवाईमा सिहिली सामुदायिक वनमा २ सय बिरुवा र सोले सामुदायिक वनमा १२ सय बिरुवा रोपिएको छ । शितोष्ण बागवानी विकास केन्द्र मुस्ताङबाट गोल्डेन जातको बिरुवा ल्याईएको हो । प्रतिबिरुवा ७० का दरले खरिद गरिएपनि ढुवानी खर्च जोड्दा एक सय रुपैयाँ परेको वडाले जनाएको छ ।

‘‘दुइ वर्षअघि परीक्षणका रुपमा लगाएका पचास बिरुवा राम्रोसंग हुर्किएपछि व्यवसायिक बनाउने लक्ष्यसहित ठूलो क्षेत्रफलमा स्याउ खेती विस्तार गरेका छौं’’ तमानखोला गाउँपालिका वडा नं. ४ का वडा अध्यक्ष छप्रसाद श्रीपालीले भने । स्याउ उत्पादनका लागि उपयुक्त क्षेत्र पहिचान गरी किसानलाई व्यावसायिक खेतीमा प्रोत्साहन गर्ने लक्ष्यसहित स्याउ खेती विस्तार गरिएको श्रीपालीको भनाई छ ।

बिरुवा रोपेको ५ वर्षमै फल दिन शुरु गर्ने र ४० वर्षसम्म फल दिईरहने वडाध्यक्ष श्रीपालीले बताए । “खेतीयोग्य बाँझो जमिनलाई सदुपयोग गर्दै स्याउ खेती विस्तार गर्ने कार्यक्रमलाई प्राथमिकतामा राखेका छौँ” श्रीपालीले भने, “परीक्षण सफल भएपछि गोर्दी र बयलीलाई स्याउको पकेट क्षेत्र बनाउने योजना छ ।”

स्याउ बगान संरक्षणको लागि वडाको १८ लाख रुपैयाँ बजेटबाट तारबार लगाउने काम भएको छ । बिरुवा खरिद र ढुवानी, खाल्डा खन्ने तथा मलमा ८ लाख १९ हजार र सिंचाई कुलोका लागि ५ लाख रुपैयाँ खर्च भइसकेको छ । वडाको बजेट स्याउ बगैंचा व्यवस्थापन गर्ने काम भइरहेको अध्यक्ष श्रीपालीले जानकारी दिए ।

श्रीपालीका अनुसार, वडा कार्यालयको अगुवाईमा शुरु गरिएको स्याउ खेतीलाई व्यवस्थित गर्न उपभोक्ता समिति गठन गरिएको छ । ‘‘सबै नागरिकलाई उत्पादनमा जोड्ने र आम्दानी बढाउने हाम्रो योजना हो, बिरुवाले उत्पादन दिन थालेपछि स्याउ बगान समुदायलाई नै हस्तान्तरण गरिने छ’’ वडाध्यक्ष श्रीपालीले भने ।

रोजगारी र सुविधाको नाममा बसाइसराइ बढ्न थालेपछि युवालाई गाउँमै अड्याउन फलफुल खेतीमा प्रेरित गर्न स्याउ खेती शुरु गरिएको श्रीपाली बताउँछन् । स्याउ खेतीले कृषि पर्यटनमा टेवा पुग्ने श्रीपालीको विश्वास छ । लाम्मेला पर्यटकीय क्षेत्र पनि हो । यहाँ उत्पादित आलु निकै स्वादिष्ट मानिन्छ । स्थानीय उत्पादनको प्रवद्र्वन गर्न घरबासको व्यवस्था गर्ने योजना रहेको श्रीपालीले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->