बागलुङ/मध्यपहाडी लोकमार्गको वैकल्पिक सडकको रुपमा काठेखोला गाउँपालिकाको लेखानी गाउँबाट गलकोट जोड्ने सडक उपयुक्त छ । अहिले पनि ग्रामीण सडक रोजेर हिंड्दा जिप र पिकअप गाडीले झण्डै ८ किलोमिटर छोटो सडकबाट यात्रीले राजमार्ग भेटाउन सक्छन् । तर यो सडक अहिलेसम्म लोकमार्गको आँखामा परेको छैन ।
बरु स्थानीयले वर्षौ अघि आफ्नै लगानीमा सडक लेखानी पु¥याए । उनीहरुले नै गलकोटको वडा नं. १ मा यो सडकको ट्रयाक जोडेका छन् । अहिले भने वडा कार्यालयको अगुवाईमा दर्जन बढी संस्थामा पुगेर यहाँका एकदर्जन शाखा सडक, सुल्डाँडा लेखानी, सेतीचौरतर्फ र सुल्डाँडा लेखानी, कादेश हुँदै गाजाको दह जाने सडक धमाधम निर्माण भएका छन् । यी सडकले लोकमार्ग र गुल्मीको शान्तिपुर जोड्नमा सहयोग पुगेको छ ।
केही वर्ष अघि भुँदीखोलामा आएको पहिरोले काठेखोला वडा नं. ८ लेखानीका केही घर जोखिममा परेका छन् । त्यस बाहेक यहाँको सिंगो वडामा जाने सडक नै अबरुद्व भयो । लामो प्रयासपछि वडा अध्यक्ष प्रमानन्द कँडेलले सडकका लागि करोडौं बजेट भित्राए । संघिय सरकारको स्थानीय पुर्वाधार विकास आयोजनाबाट चालु वर्ष ५ करोड बजेटमा यो सडकको लेखानी खण्ड स्तरोन्नती भैरहेको छ । स्ट्रक्चर र सडक ग्राभेल गर्ने योजना पुरा हुनै लागेको हो ।
त्यसबाहेक संघिय सरकारकै समपुरक योजनामार्फत ३ किमी सडक बनाउने काम भैरहेको छ । यो सडकले लेखानीको कृषियोग्य क्षेत्रमा जान सहयोग पुग्छ । त्यस्तै गण्डकी प्रदेशको २५ लाख रुपैयाँबाट भूमेचौरदेखि उपल्लाथर सम्मको सडक स्तरोन्नतीको काम भैरहेको छ । भूमिचौर गौडा कादेश हुँदै रेश जाने सडक स्तरोन्नती गर्न संघिय सहरी विकास कार्यक्रममार्फत ५० लाख रुपैयाँ विनियोजन भइ काम भैरहेको छ । कादेश सिमडाँडा गाजादह हुँदै गुल्मीको शान्तिपुर जाने सडकको गाजा दहसम्म ट्रयाक खुलेको छ । यो सडकमा स्थानीय तह र पूर्वाधार विकास कार्यलयको ५०÷५० लाख लगानी भएको छ ।

डाङगोखोला, छोरेपाटा पिडल्ना सिंचाइ योजनामार्फत २ करोड ८५ लाखको बजेट स्विकृत भइ कुलो निर्माण भैरहेको छ । चालु वर्ष ६३ लाख रुपैयाँको काम भैसकेको हो । यो सिंचाइ आयोजना बनिसक्दा लेखानीका अधिकांस खेतमा सिंचाइ पुग्नेछ ।
त्यसो त लेखानीमा अन्य विकास निर्माण पनि उत्तिकै छन् । गण्डकी प्रदेशको लगानीमा स्वास्थ्य चौकीमा ४० लाखको सभाहल लगायतको पुर्वाधार निर्माण भएको छ भने ३७ लाख रुपैयाँको लगानीमा ३ कोठे फिजियोथेरापी कक्ष बनेको छ । त्यसको एउटा कोठामा किशोर–किशोरीमैत्री सेवा प्रवाह गरिने स्वास्थ्य चौकी प्रमुख लक्ष्मीप्रसाद निउरेले बताए । अर्को कोठामा स्तनपान कक्ष राखिएको छ । स्वास्थ्य चौकीमा ल्याब, बर्थिङ सेन्टर लगायतको सेवा सञ्चालनमा छ ।
चालु वर्षकै लागि कृषि उपज यान्त्रिकरणमा २ लाख लगानी भइ काम सम्पन्न भएको छ । कादेश दोविल्ला संशानघाट जाने पदमार्ग १० लाख लगानीमा सम्पन्न भएको छ । त्यसो त वडा अध्यक्ष प्रमानन्द कँडेलले आफ्नो सफलता नै पदमार्ग बनाउनेमा भएको बताउँछन् । नियमित मोटर नपाउने भएकोले सडक स्तरीय भएर पनि छोटो समयमा गन्तव्यमा पुग्न गाउँमा पदमार्ग उपयोगी छन् । गाउँका हरेक टोलमा अहिले स्तरीय सिंढीमार्ग बनेका छन् । लेखानीदेखि कादेश जाने झोलुङ्गे पुल बनेकोले एक घण्टा लाग्ने बाटो १५ मीनेटमा छोटिएको छ । विशेषगरी कादेशबाट स्वास्थ्य चौकी आउने बिरामी र लेखानी माविमा पढ्न आउने विद्यार्थीले यो पुलको भरपुर सदुपयोग गर्न पाएका छन् । लामो बाटो, जंगल र जोखिम भएकोले अभिभावकले छोराछोरीलाई सहजै पठाउन चाहने थिएनन् । अहिले भने यो पुलले सहज भएको स्थानीयको भनाइ छ ।
गैरादेखि डल्लेचौर पदमार्गमा ३ लाख, भाटी पंधेरादेखि पुनथरसम्म ६ लाख ५० हजार, कोलपिपलबोटदेखि सेतीचौर पदमार्गमा ५ लाख, बाङगबाज पंधेरादेखि देउरालीसम्म पनि ५ लाख लगानी भएको छ भने मलाग्रीटोलदेखि राजुघुम्ती पदमार्गमा ५ लाख लगानीमै काम सकिएको छ ।
लेखानी माविको व्यवस्थापनमा चालु वर्ष ३ लाख बजेट विनियोजन गरेर निर्माणको काम भैरहेको छ भने पसलटोलदेखि भुमेचौर मोटरबाटो स्तरीय बनाउन १४ लाख ६२ हजार खर्च गरिएको छ । स्थानीय आवस्यकताका लागि खानेपानीको ट्यांकी निर्माण, मठमन्दिर, बौद्द बिहार पदमार्ग, सामुदायिक वनमा अग्निरेखा निर्माण र स्वास्थ्य चौकी रंगरोगन जस्ता काममा पनि १ लाखदेखि १४ लाख रुपैयाँसम्म बजेट खर्च गरिएको छ ।
लेखानीमा थारखोले सेतीचौर अंधेरीखोला खानेपानी आयोजना, कादेश आधारभूत विद्यालय भवन निर्माणमा पनि वडाले लगानी गरेको छ । ठूलो खोरिया तटबन्धन गर्न ५ लाख, सिमखोल्सी, सिरिमपाटा पहिरो नियन्त्रणमा ५ लाख, नर्मदेश्वर महादेव मन्दिरमा १ सय ८ धारा निर्माण गर्न ५ लाख बजेट विनियोजन छ ।
लेखानीमा विभिन्न शिर्षकमा झण्डै ७ करोड रुपैयाँ लगानी गरेर संघिय पुर्वाधारका योजना सञ्चालनमा छन् । यस्ता योजनाहरु सञ्चालन हुँदा लेखानी मुल मोटरबाटो स्तरीय भई २ हजार ८ सय मीटर सडक ग्राभेल भएको, ६५ मीटर ढलान भैसकेको छ भने आगामी असार मसान्तसम्म २ किमी बढी सडक ग्राभेल गरिसक्ने र ४ सय मीटर ढलान हुनेछ ।
योजना छनौटका लागि टोलटोलमा भेला गरी गाउँपालिकाको एककिृत घुम्ती टोलीमार्फत योजना सम्झौता गरिने गरिएको छ । सडक मर्मत, अन्य पुर्वाधारका योजनाको काममा समेत श्रमदान गरिने चलन छ । वडाका ५ सय ५६ घरले हरेक योजनामा श्रमदान गर्छन् भने काठेखोला गाउँपालिका वडा नं. ६ को सुल्डाँडादेखि लेखानी सम्मको सडकलाई दुइ खण्ड बनाएर नियमित हेरालो राख्ने गरिएको छ । जसका कारण वर्षातमा पनि यो सडक नियमित सञ्चालन हुने गर्छ ।
शिक्षाको गुणस्तर विकासका लागि लेखानीमा धेरै प्रयास भएको छ । नेपाल गाजा डेभलपमेन्ट फाउण्डेसनको स्थापना भएको स्थान र शुरुवातमा गुणस्तरीय शिक्षाको कार्यक्रम चलाएकोले लेखानीका हरेक विद्यालयमा कक्षा कोठा व्यवस्थापन, गुणस्तरीय शिक्षा, कम्प्युटर ल्याब स्थापना जस्ता काममा गैससको लगानी भित्रिएको थियो । यो लगानीसँगै सरकारी लगानी समेत मिलाएर विद्यालयलाई बालमैत्री समेत बनाइएको छ ।
स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन र सामान्य बिसञ्चो हुँदैमा सहर जानु पर्दैन भन्ने सन्देशका लागि कादेशमा सामुदायिक स्वास्थ्य इकाई गठन गरि पुर्वाधार समेत बनाइएको छ भने लेखानी स्वास्थ्य चौकीलाई सबैखाले सेवा दिने बनाइएको छ । वडाभित्र रहेका काठेपोल हटाएर फलामे पोल गाड्ने काममा चालु वर्ष १५ पोल गाडिएको छ ।
सामाजिक विकासमा पनि लेखानीमा काम भएका छन् । विशेषगरी सबै घरका सबै नागरिकलाई स्वास्थ्य बिमाको दायरामा ल्याउने काम भएको छ । त्यसो त किसानले पालेका पशुचौपायामा पनि पुर्ण खोप लगाउने र मानव तथा पशु स्वास्थ्यमा सचेतना कार्यक्रम सञ्चालन गरिएकोछ । भुकम्प पीडित लाभग्राहीलाई पुर्ननिर्माण र मर्मतमा सूचिकृत गरेर ८ परिवारको आवास निर्माण तथा बाढीपीडित १ घरको आवास निर्माण सम्पन्न भएको छ ।
लेखानी र कादेशका किसानले घरघरमा व्यवसायिक खेती गर्न थालेका छन् । विशेषगरी ताजा तरकारी खेती गरेर हरेक दिन तरकारी सदरमुकाम पठाउने गरेका छन् । लेखानी कादेश जोेड्ने झोलुङ्गे पुल, दैनिक चल्ने पिकअप जिप लगायतले यो काममा साथ मिलेको छ । बागलुङ दुग्ध उत्पादक सहकारी संस्थामा आबद्द भएका किसानले दैनिक बजारमा दूध पठाउँछन् । सहकारी संस्थाका अध्यक्ष दीपक गौतमका अनुसार, लेखानीका किसानले उत्पादन गरेको दुध गुणस्तरको छ । बजारमा १ सय २० रुपैयाँ लीटरमा बेचिने दूध गुणस्तरको आधारमा लेखानीका किसानले १ सय २४ रुपैयाँसम्म पाएका छन् । वडाले मौरी पालक किसानलाई प्रोत्साहन गराएको छ ।
कादेशका चानसिंह श्रीषले कोदोको बिस्कुट बनाएर देशभर चर्चा बटुलेका छन् । उनको यो मेहेनत र सीपलाई बजारीकरण गर्ने, प्रोत्साहन गर्ने जस्ता काममा गाउँपालिकाले साथ दिएको छ । मेसिन तथा उपकरण खरिद र बजारीकरणमा साथ दिएको हो । कादेशकै लालमाया पुनले अकबरे खुर्सानी लगाएर राम्रो बजार बनाएकी छिन् । उनीहरु दुवै किसानलाई गाउँपालिकाले पुरस्कार र सम्मान दिएको छ । गाउँपालिकाले पनि स्थानीय कृषि उत्पादन बढाएर बजारीकरण गर्ने, कृषि उद्यमलाई प्रोत्साहन गर्ने खालका योजना र नीति लिएकोले कृषि क्षेत्रमा धेरैको चासो बढेको देखिन्छ ।
सुशासनतर्फ काठेखोला गाउँपालिका अग्रणी छ । हरेक खालका सिफारिस लगायतको कागजात बनाउन स्थानीयले सहज सुविधा पाएका छन् । उनीहरुले नागरिकता, नाता प्रमाणित, चारकिल्ला प्रमाणित, जग्गा नामसारी, स्वास्थ्य सेवाका लागि सिफारिस लिने, शिक्षा सम्बन्धी सिफारिस लिने सबैखाले सेवामा समय कुर्न पर्दैन । डिजिटल विधि र सबै वडामा दक्ष कर्मचारीको समेत व्यवस्था भएकोले त्यस्ता काम समयमा बन्ने गरेका छन् । चालु आर्थिक वर्ष मात्रै वडाबाट ७ सय ५० बढी काम डिजिटल विधिबाट भएको कँडेलको भनाइ छ । यो क्रम बढ्ने दर समेत छ ।
योजना छनौट र फरफारक वडा भेलाबाट गर्छौ
प्रमानन्द कंडेल
वडा अध्यक्ष
काठेखोला गाउँपालिका वडा नं. ८
गाउँपालिका बन्दा लेखानीमा सडक सञ्जाल त थियो, तर हरेक वर्ष बाढी पहिरोले अबरुद्व हुने समस्याले स्थानीय बासिन्दा हैरान थिए । अहिले एकदर्जन बढी सडक पुर्वाधारका योजना पारेर सडक ग्राभेल गर्ने, स्ट्रक्चर सहितका योजनाहरु निर्माण भएका छन् । अबका दिनमा भलबाढी पन्छाएर सडक बिग्रनबाट जोगाउन सकिने गरी काम भएको छ । आगामी दिनमा बजेट खोजेर कालोपत्र गर्ने बाटो खुलेको छ । यो सडक कालोपत्रे भएमा मध्यपहाडी लोकमार्गको वैकल्पिक सडकको रुपमा विकास हुनेछ ।
हामीले हरेक वर्ष वडा भेला गरेर मात्र योजना छनौट गर्ने, विगतका योजनाको सार्वजनिक समीक्षा गर्ने, नागरिक सहभागिता बढाउने काम गरेका छौं । वडा नागरिक भेलाबाटै योजना छनौट गरिने, फरफारक भएको कुरा आर्थिक खर्च र कामबारे सार्वजनिकीकरण गरिने गरिएको छ । यो कामले विगतका योजना र नयाँ कार्यक्रम तथा योजनाबारे आम नागरिकलाई जानकारी हुन्छ । विगतमा भएका कामबारे नागरिकलाई जानकारी दिनुपर्छ, कमजोरी भए पनि उनीहरुबाटै सुझाव लिनुपर्छ भन्ने मान्यता हामीले राखेका छौं । राजनीति र नेताप्रति अविश्वास बढेको बेला हामीले पारदर्शीता देखाउन सक्नुपर्छ ।

पारदर्शीताकै कारण सुशासन र जवाफदेहिताको विकास हुन्छ । विकासका योजनाको प्राथमिकताका क्षेत्र पहिचान गर्न सजिलो भएको छ । स्थानीय श्रोत संस्कृति र पर्यटनको संरक्षण तथा प्रवद्र्दन गर्न सकिएको छ । भौगोलिक विविधता, बहुजातीय, बहुधार्मिक र बहुसांस्कृतिक तथा प्राकृतिक सुन्दरता सहितको विशेषता युक्त वडालाई सद्भाव र सह–अस्तित्वको आधारमा एकताबद्व बनाउन सकिएको छ । लेखानीबासी जनताको चाहना र विकास प्रतिको मोह र आकांक्षा पुरा गर्न हामी कटिबद्द छौं । हामीले गर्ने सबै कामबाट जनताले सेवा पाउनुपर्छ भन्ने मान्यता छ ।
पारदर्शीता भएकै कारण लेखानीमा श्रमदानमा स्थानीयले साथ दिएका छन् । सबै सडक, खानेपानी, सिंचाइ जस्ता योजनामा श्रमदान जुटेको छ । अक्षेतेदेखि लेखानी जाने सडकमा हरेक वर्ष २ जना हेरालो राखेर सडक मर्मतको काम गरिएको छ । नवप्रवर्तन काममार्फत हामीले वडाका सबै बस्ती पुग्ने पदमार्ग बनायौं । जसले गर्दा स्वास्थ्यचौकी, विद्यालय र वडाको केन्द्रमा आउने नागरिकले सवारी साधन नपाएपनि सहजै आइपुग्न सक्छन् । यो अभियानमा गाउँपालिका, प्रदेश सरकार र संघिय सरकार तथा जिल्लाका सरकारी कार्यालयले पनि हामीलाई रचनात्मक सहयोग गरेका छन् । उनीहरुको साथबाटै हामीले काठेखोलालाई सुशासनमा अग्रणी बनाउन सकेका छौं ।





