पोखरा/गुप्तेश्वर महादेव बहुमुखी क्याम्पस, पोखरामा व्यवस्थापन संकायअन्तर्गत एमबीएस चौथो तहमा अध्ययनरत विद्यार्थीहरूको अनुसन्धान क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको अनुसन्धान प्रस्तावना लेखनसम्बन्धी दुईदिने कार्यशाला गोष्ठी आइतबार सम्पन्न भएको छ । गोष्ठीमा २० जना विद्यार्थीको सहभागिता रहेको थियो ।
गोष्ठीमा अनुसन्धान व्यवस्थापन समितिका संयोजक मोहन भण्डारीले गुणस्तरीय उच्च शिक्षाका लागि अनुसन्धान संस्कृतिको विकास अपरिहार्य रहेको उल्लेख गर्दै विद्यार्थीहरूलाई अनुसन्धानमूलक अध्ययनमा सक्रिय सहभागिता गराउन्ु आजको आवश्यकता बनेको बताए ।
अनुसन्धान व्यवस्थापन समिति सदस्य सुरेन्द्र कार्कीले अनुसन्धानको विषय छनोट, समस्या पहिचान तथा प्रस्तावना लेखनका प्राविधिक पक्षबारेको गहन अध्ययनले मात्रै अनुसन्धान प्रभावकारी बन्ने धारणा राखे ।
दोस्रो दिनको सेसनमा पृथ्वी नारायण क्याम्पसका उपप्राध्यापक एवं अनुसन्धान विज्ञ रेशमलाल पौडेलले अनुसन्धान पद्धति सम्बन्धी सहजीकरण गरेका थिए ।





