म्याग्दी/ मंगला गाउँपालिका–४ बरंजाको थर्पुमा जारी धुले पर्व २०८३ को अवसरमा आयोजित बिबिध खेलकुद तथा सांस्कृतिक कार्यक्रम अन्तर्गत आमा समूह नृत्य प्रतियोगितामा मालिका आमा समूह बाउनपँधेराले पहिलो स्थान हासिल गरेको छ ।
स्थानीय कला संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले आयोजित आमा समूह बीचको लोकनृत्य प्रतियोगितामा ११ समूहको सहभागिता थियो । प्रतियोगितामा गम्फा आमा समूह सोलडाँडाले दोश्रो स्थान हासिल गरेको छ भने सरस्वती आमा समूह आर्भाङले तेश्रो स्थान हासिल गरेको धुले संरक्षण समितिका अध्यक्ष अर्जुन रोकाले जानकारी दिए ।
प्रथम हुने समूहले नगद २० हजार, दोश्रो हुनेले १५ हजार, तेश्रो हुनेले १० हजार नगद सहित प्रमाणपत्र प्राप्त गरेको क्लब अध्यक्ष रोकाले बताए । त्यसैगरी कक्षा ६ देखि १० सम्म अध्ययनरत विद्यार्थीको दौड प्रतियोगिता पनि आइतबार सम्पन्न भएको छ ।
धुले पर्व दौड प्रतियोगिता २०८३ मा महेन्द्र रत्न माध्यमिक विद्यालयका मौसम पुन प्रथम, महेन्द्र रत्न आधारभुत विद्यालयका दिप्सन रोका दोश्रो र महेन्द्ररत्न माध्यमिक विद्यालयका दिपेश कँडेलले तेश्रो स्थान हासिल गरेका छन् । त्यसैगरी छात्रातर्फ महेन्द्ररत्न माध्यमिक विद्यालयका प्रमिशा पुन पहिलो, जेनिशा रोका दोश्रो र जनप्रिय आधारभूत विद्यालयकी निश्मा थापा मगरले तेश्रो स्थान हासिल गरेका छन् । विजेताहरु प्रथम हुनेले १० हजार, दोश्रो हुनेले ६ हजार र तेश्रो हुनेले २ हजार नगद सहित प्रमाणपत्र प्राप्त गरेका थिए ।





