बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

टेम्पल बेल बुटिक होटलको पहिलो वार्षिकोत्सवमा निर्माणमा योगदान गर्ने व्यक्तिहरू सम्मानित

टेम्पल बेल बुटिक होटलको पहिलो वार्षिकोत्सवमा निर्माणमा योगदान गर्ने व्यक्तिहरू सम्मानित


  • ढाेरपाटन संवाददाता
  • जेष्ठ १८ २०८३, सोमबार

पोखरा/ पोखराको लेकसाइडस्थित टेम्पल बेल बुटिक होटल एण्ड स्पा प्रालिले आफ्नो सञ्चालनको पहिलो वर्ष पूरा गरेको अवसरमा सोमबार विशेष सम्मान कार्यक्रम आयोजना गरेको छ ।

पोखराको पर्यटन क्षेत्रमा सन् २००८ देखि सक्रिय रहेको चिल्ली ग्रुपको लगानीमा लेकसाइडको स्ट्रिट नं. १७ मा निर्माण गरिएको होटलले पहिलो वार्षिकोत्सवको अवसरमा होटल निर्माण तथा स्थापनामा प्रत्यक्ष योगदान पु¥याउने विभिन्न क्षेत्रका व्यक्तिहरूलाई सम्मान गरेको हो ।

होटल निर्माणमा काष्ठ, ढुंगा, मेटलसम्बन्धि काम गर्ने लक्ष्मण गदाल, कृष्ण गदाल, मन्जु आलम, विष्णु बिके, जसबहादुर बिके चन्द्रबहादुर चेपाङ, साइड सुपरभाइजर, सूर्यबहादुर थापा सम्मानित भए । यसैगरी सम्मानित हुनेमा रिजाल कन्स्ट्रक्सनका ओमप्रसाद रिजाल, होटललाई सुरुवाती दिनमा आवस्यक सहयोग गर्ने गुप्त गिरी, साइड इन्जिनियर रमेश पोखरेल, फाईनान्सीयल पार्टनर ग्लोबल आईएमई बैंक गण्डकी प्रदेश, चार्टड एकाउन्टेन्ट लक्ष्मण अधिकारी, इन्टेरियर डिजाइनर सुरेश श्रेष्ठ र आर्किटेक्चर ईन्जिनियर दिलीप पंगेनी रहेका छन् । यसैगरी वर्षको सर्बोत्कृष्ट कामदारका रुपमा दिवस कुमाल पनि पुरस्कृत भए । उनीहरुलाई जनही १० हजार रुपैयाँ नगदसहित सम्मानपत्रले सम्मान गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथी गण्डकी प्रदेशका नीति तथा योजना आयोगका उपाध्यक्ष डा. कृष्णचन्द्र देवकोटा, होटलका अध्यक्ष विश्वराज पौडेललगायतले सम्मान गरेका थिए ।

उक्त अवसरमा प्रमुख अतिथि देवकोटाले विश्वमा चेन होटल धेरै भए पनि बुटिक होटल पर्यटकका लागि लोकप्रिय बन्दै गएको बताए । पोखरामा तारे होटल कम भएको बेला यस्ता बुटिक होटल गुणस्तरीय पर्यटक राख्न सहयोग पुग्ने उनको विश्वास थियो ।

होटल व्यवस्थापनका अनुसार सन् २०२१ डिसेम्बरमा निर्माण सुरु भएको टेम्पल बेल बुटिक होटल एण्ड स्पा कोभिड–१९ महामारीका चुनौतीबीच निर्माण सम्पन्न गरिएको हो । प्रारम्भिक लक्ष्य तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने भए पनि महामारी र प्राविधिक कारणले निर्माण कार्य करिब साढे तीन वर्षमा सम्पन्न भएको थियो ।

करिब साढे दुई रोपनी क्षेत्रफलमा फैलिएको होटलमा जग्गासहित करिब १ अर्ब २५ करोड रुपैयाँ लगानी भएको जनाइएको छ । होटलका अध्यक्ष पौडेलका अनुसार सञ्चालनमा आएदेखि होटलले राम्रो अकुपेन्सीसहित स्वदेशी तथा विदेशी पर्यटकलाई सेवा प्रदान गर्दै आएको छ ।

होटलमा अगाडि र पछाडि गरी दुई इन्टरकनेक्टेड ब्लकमा ५५ वटा सुसज्जित कोठा रहेका छन् । जसमध्ये ४७ डिलक्स बुटिक, पाँच सुपर डिलक्स, दुई जुनियर स्वीट र एक प्रेसिडेन्सियल स्वीट कोठा छन् ।
यसका साथै दुईवटा ज्याकुजीसहितका स्वीमिङ पुल, सम्मेलन हल, अत्याधुनिक स्पा, ‘याक एण्ड यति’ बार, ‘आंटी’ आलाकार्ट रेस्टुरेन्ट, बेसमेन्ट पार्किङ, आपतकालीन निकास तथा दुईवटा आधुनिक लिफ्टको सुविधा उपलब्ध रहेको होटलले जनाएको छ ।

व्यवस्थापनका अनुसार मूल भवनसँगै जोडिएको क्षेत्रमा बेकरी, कफी सप, गार्डेन तथा योग हल निर्माणको काम अन्तिम चरणमा पुगेको छ । होटलको भवन निर्माणमा स्थानीय ढुंगा, नेपाली काष्ठकला, ढाका, थान्का, झुमर तथा नेपाली चित्रकलाको प्रयोग गरिएको छ । कोठा, करिडोर तथा खुला क्षेत्रलाई हरियालीमैत्री र वातावरणअनुकूल ढंगले सजाइएको होटलले जनाएको छ ।

होटलका म्यानेजिङ डाइरेक्टर भीष्मराज पौडेले स्वागत गर्दै सम्मान कार्यक्रमले भावी पुस्तालाई श्रम, समर्पण र सहकार्यको महत्वबारे सकारात्मक सन्देश दिने विश्वास व्यक्त गरे । सञ्चालकले सकारात्मक सोच, साझा प्रयास र पारदर्शी सहकार्यबाट मात्र दिगो तथा समृद्ध पर्यटन क्षेत्रको विकास सम्भव हुने उल्लेख गर्दै आगामी दिनमा पनि सबै सरोकारवालाको साथ, सहयोग र रचनात्मक सुझावको अपेक्षा गरेका छन् ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ गण्डकीका अध्यक्ष रमेश पौडेल, पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारी र सम्मानित जसबहादुर बिकले शुभकामना मन्तव्य दिएका थिए । कर्पोरेट म्यानेजर लेखनाथ पहारीले कार्यक्रम सञ्चालन गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->