पोखरा/ संघीय पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले पोखराको पृथ्वीचोकस्थित सेती नदीमा बनिरहेको पुलको सोमबार अवलोकन गरेका छन् । पोखरा–मुग्लिङ राजमार्ग सुधार चरण–१ योजना अन्तर्गत सेती नदीमा बनिरहेको पुलको भौतिक प्रगति बुझ्न मन्त्री लम्साल पर्यटनमन्त्री खडकराज पौडेल (गनेस) का साथ अवलोकनका लागि पुगेका हुन् ।
पोखरा भित्रिने नाकाको प्रवेश द्वार मानिने यो पुल ३ वर्ष भित्रमा निर्माण सम्पन्न गर्नेगरी २०७९ साल साउन २६ गते सम्झौता भएको थियो । तर चीनबाट भौतिक सामग्री र जनशक्ति ल्याउन कठिनाई भएको तथा स्थानिय दुई घरधनीले मुआब्जामा चित्त नबुझाउनुका साथै पुल निर्माण गर्दा घरको भित्तासम्मै मापदण्ड लाग्दा बाटोको पहुँच नहुने भएपछि दुई मिटर नियमित बाटो मागेर अवरोध गरिरहेका कारण निर्माणमा ढिलाई भएको थियो ।
पुल निर्माणका लागि दुई पटक म्याद थप भइससकेको छ । पहिलो पटक २०८३ बैशाख २१ गतेसम्ममा सक्नेगरी ८ महिना म्याद थपिएकोमा सो समयमा पनि निर्माण सम्पन्न नभएपछि २०८३ साल चैत १७ गतेसम्म दोस्रो पटक ११ महिना म्याद थप भएको छ ।
सो अवसरमा मन्त्री लम्सालले पुलको भौतिक प्रगतिबारे चासो राखेका थिए । उनले हालसम्म गरिएको प्रगति, बाँकी काम र त्यसमा देखिएका अवरोधबारे चासो राख्दै सरकारको तर्फबाट गर्नुपर्ने कामबारे जिज्ञासा राखेका थिए ।
सो अवसरमा पुल निर्माणका प्रोजेक्ट म्यानेजर कृष्णबहादुर कुँवरले पुलको भौतिक प्रगति ६०.१४ र वित्तीय प्रगति ५४.७५ प्रतिशत पुगेको जानकारी गराए । उनले तल्लोपट्टीको पुलको काम चाँडै सकिने र उत्तरतर्फको निर्धारित समयमा सकिने बताए । ‘हामील्े रफ्तारमा काम गरिरहेका छौं,’, उनले भने, ‘तर प्राविधिक कारणले गर्दा केहि ढिलाई हुन गएको छ । अब समयमै सकिनेगरी काम गर्छौं ।’
पुल निर्माणमा मुआब्जा र बाटोको पहुँचले अवरोध पारेको कुरा आएपछि कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले स्पष्ट पारेकी थिईन् । उनले बाटोको पहुँच माग्ने घरधनीसँग एक हप्ता भित्रमा घर हटाउने सहमती भएको बताउँदै भनिन्, ‘सहमति अनुसार हटाईए ठिकै छ भनेर कुरेका हौं, नत्र बल प्रयोग गरेर भए पनि हटाउँछौं, अब यो कारणले बाटो निर्माणमा कुनै अवरोध हुन दिदैनौं ।’
मुग्लिङ पोखरा सडक आयोजना निर्माण कम्पनी एम÷एस रसुवा कन्स्ट्रक्सन कम्पनी प्रालिका कन्सल्टेन्ट लिडर एनरिको मग्नानीले पुल निर्माण सन्तोषजनक रुपमा भइरहेको बताए । उनले पुल निर्माणका लागि शतप्रतिशत प्रयास गरिरहेको बताए ।

मन्त्री लम्सालले कुनै पनि हालतमा समयमै काम सक्न निर्देशन दिए । कुनै समस्या भए भन्नु हुन भन्दै उनले कुनै पनि बहानाबाजी र हेलचेक्राईं नगरी आयोजना अब समयमै सक्नुपर्नेमा उनले जोड दिए । एसियाली विकास बैंकको सहयोगमा भ्याटसहित १ अर्ब ७ करोडको लागतमा यो पुल बनाईन लागेको हो । नेपालकै नमूना पुलका रुपमा रहने यो पुल एक्स्ट्रा डोज प्रकारको हुनेछ भने पुलको डिप फाउण्डेसन हुनेछ ।
पुल निर्माण भएमा हाल हुँदै आएको ट्राफिक जाम हट्ने छ । नेपालका अधिकांश ठाउँबाट पोखरा भित्रिने र बाहिरिने सवारी साधन यहि पुलबाट आवतजावत हुने भएकाले यहाँ अत्यधिक ट्राफिक जाम हुने गरेको छ ।





