बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

पोखरा महानगरभित्र ट्याक्टर तथा मिनिटिलर भाडादरमा एकरूपता कायम

पोखरा महानगरभित्र ट्याक्टर तथा मिनिटिलर भाडादरमा एकरूपता कायम


  • ढाेरपाटन संवाददाता
  • जेष्ठ १८ २०८३, सोमबार

पोखरा/ कृषि उत्पादनको लागत घटाउँदै किसानलाई सहज रूपमा कृषि यान्त्रिकीकरण सेवा उपलब्ध गराउने उद्देश्यले पोखरा महानगरपालिकाले महानगरभित्र सञ्चालन हुने ट्याक्टर तथा मिनिटिलर (हाते ट्यक्टर) को भाडादर निर्धारण गरी लागू गरेको छ ।

महानगरपालिकाको आर्थिक विकास महाशाखा प्रमुख मनहर कडरियाले सोमबार सूचना सार्वजनिक गर्दै ठूला र साना ट्याक्टरको भाडादरमा एकरूपता कायम गरिएको जनाएका हुन् । यसअघि विभिन्न स्थानमा फरक–फरक दरमा सेवा उपलब्ध हुँदै आएकामा अब महानगरले तोकेको दरअनुसार मात्रै शुल्क लिनुपर्ने व्यवस्था गरिएको छ ।

महानगरका अनुसार किसानले आफ्नै लगानीमा खरिद गरेको मिनिटिलरको भाडादर प्रतिघण्टा १ हजार २० रुपैयाँ कायम गरिएको छ । यस्तै अनुदान प्राप्त यन्त्रका हकमा प्रतिघण्टा ९ सय रुपैयाँ शुल्क निर्धारण गरिएको छ ।

ठूला ट्याक्टरको हकमा ३० मिनेटभन्दा बढी समय सञ्चालन भएको अवस्थामा प्रतिघण्टा ३ हजार ४ सय रुपैयाँ शुल्क लाग्नेछ भने ३० मिनेटभन्दा कम सञ्चालन भएमा प्रतिमिनेट ६० रुपैयाँका दरले शुल्क तिर्नुपर्ने व्यवस्था गरिएको छ ।
महानगरले इन्धनको बजार मूल्यमा हुने उतारचढावलाई आधार मानेर आवश्यकताअनुसार भाडादर समायोजन गर्न सकिने जनाएको छ । साथै तोकिएको दरभन्दा बढी शुल्क असुलेको वा किसानलाई मर्का परेको गुनासो प्राप्त भएमा प्रचलित कानुन तथा स्थानीय ऐन तथा नियमावलीअनुसार सम्बन्धित पक्षमाथि कारबाही गरिने चेतावनी पनि दिइएको छ ।

यातायात व्यवस्थापन समिति, कृषि सञ्जाल तथा सरोकारवाला निकायबीच भएको संयुक्त बैठकको निर्णयका आधारमा लागू गरिएको यो व्यवस्था तत्काल कार्यान्वयनमा आएको महानगरले जनाएको छ। कृषि क्षेत्रमा यान्त्रिकीकरणको पहुँच विस्तार, सेवा शुल्कमा पारदर्शिता तथा किसानको उत्पादन लागत न्यूनीकरण गर्ने लक्ष्यसहित महानगरले उक्त निर्णय कार्यान्वयनमा ल्याएको हो । महानगरले कृषि समूह, सहकारी, कृषि यन्त्र सञ्चालक तथा अन्य सरोकारवालालाई निर्धारित दररेटको पूर्ण पालना गर्न आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->