बागलुङ/जैमिनी नगरपालिका बालमैत्री नगर घोषणा भएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सोमबार जैमिनी नगरलाई बालमैत्री शासन युक्त नगर भएको घोषणा गरे ।
उनले बालमैत्री नगर बन्ने मात्र नभइ भविष्यमा पनि बालबालिकाको अधिकार सुनिश्चित भएको, बालअधिकारबारे अभिभावक समेत सचेत भएको नगरको रुपमा विकास हुनुपर्ने बताए । त्यसका लागि आम नागरिकको निरन्तरको अनुगमन र खबरदारी चाहिने बताए । नगरपालिकाले पनि बालमैत्री अद्यावधिकको क्षेत्रमा नियमित बजेट व्यवस्थापन, कार्यक्रमहरु संचालन र व्यवस्थापन गर्न उनले सुझाए ।
सोमबार जैमिनीमा आयोजित कार्यक्रममा उनले बालमैत्री नगर घोषणामा हस्ताक्षर गरे । साथै जैमिनी नगरपालिकाले अभिभावक भइ आवासीय रुपमा पढाइरहेका ४ जना बालबालिकालाई उज्यालो जैमिनी अभियान स्वरुप बत्ति हस्तान्तरण गरे ।
जन्मदर्ता, कुपोषणको अन्त्य, पूर्ण खोप, शिक्षामा पहुँच, बालविवाहको रोकथाम र स्थानीय तहको निर्णय प्रकृयामा बालबालिकाको सहभागिताको सुनिश्चितता जस्ता सूचक पुरा गरेपछि जिल्ला अनुगमन समिति र प्रदेश सरकारले समेत अनुगमन गरी स्थानीय तहलाई बालमैत्री घोषणा गर्न सक्ने प्रावधान छ ।

स्थानीय सरकार संचालन ऐन र संघिय मामिला मन्त्रालयले जारी गरेको बालमैत्री सम्बन्धी दिशा निर्देशनले पनि तोकेका ५१ सूचक पुरा गरेपछि बालमैत्री स्थानीय शासन युक्त स्थानीय तह घोषणा गर्न पाउने व्यवस्था गरेको छ ।
बालमैत्री शासन युक्त पालिका बन्नका लागि चाहिने ५१ मध्ये १२ वटा शिक्षा र १३ वटा स्वास्थ्यका सूचकका लागि विद्यालय र स्वास्थ्य चौकी तहबाट काम सम्पन्न भएको नगर उपप्रमुख हरिहर शर्माले जानकारी दिए । समुदायमा पुरा गर्ने सूचकका लागि वडा र टोलटोलमा अनुशिक्षण संचालन भएको, कानूनी साक्षरता अभियान चलेको र आम अभिभावकलाई समेत बालमैत्री नगरको अवधारणा जानकारी गराइएको उनले बताए ।
‘अब हाम्रो नगर बालमैत्री शासन युक्त भएको छ, बालअधिकारका सबै सूचकमा हामी जिम्मेवार बनेका छौं’ शर्माले भने, ‘त्यसका लागि निर्णय प्रकृयामा समेत बाल सहभागिता सुनिश्चित गरेका छौं ।’ वडा र नगर स्तरीय बालक्लब संजालमार्फत हरेक क्रियाकलापमा सहभागिताको सुनिश्चित गरिएको उनले जानकारी दिए ।
मुख्यमन्त्री पाण्डेले पनि आगामी २०८७ सम्ममा सबै स्थानीय तहले बालमैत्री पालिका बनाउने राष्ट्रिय अभियान पुरा गर्नुपर्ने बताए । ‘शिक्षा र स्वाथ्य क्षेत्रका सबै सूचक स्थानीय तहमा पुरा भएका छन्’ पाण्डेले भने, ‘केही विशिष्ट सूचकमा ख्याल गरेमा सबैले बालमैत्री पालिका बनाउन समय लाग्दैन ।’ विशेषगरी बालविवाह अन्त्य र निर्णय प्रकृयामा बाल सहभागिता नै प्रमुख विषय भएको उनले बताए ।
स्वास्थ्य क्षेत्रका सूचक पुरा गर्ने मात्र नभइ अद्यावधिक गर्ने काम महत्वपुर्ण भएको प्रमुख प्रशासकीय अधिकृत श्रीकृष्ण पौडेलले बताए । ती सूचकका लागि स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयंसेविका समेतको सहभागितामा निरन्तर काम भएको उनले जानकारी दिए ।
सदरमुकामको बागलुङ नगरपालिका एक वर्ष अघि २०८१ माघ ९ गते र गलकोट नगरपालिका २०८० जेठ १५ गते बालमैत्री घोषणा भएको थियो । ती पालिकाले पनि बालमैत्री नगरको निरन्तरताका लागि काम गरिरहेका छन् । बालविवाह भने उनीहरुले चुनौतीको रुपमा लिएका छन् ।
बालमैत्री नगर बनेपछि हरेक विद्यालयमा एक÷एक जना बालमैत्री श्रोत शिक्षक नियुक्ती गरिएको, वडा र पालिकामा बालमैत्री फोकल पर्सन बनाइएको, बिद्यालय क्षेत्र सुधारका लागि प्रअहरुसँग कार्यसम्पादन करार सम्झौता भएको छ । शिक्षकको पेशागत प्रगतीसहित विद्यार्थीको शैक्षिक गुणस्तर बढाउने कार्यक्रम पनि राखिएको छ ।
जेहेन्दार बालबालिकालाई छात्रवृत्ति, विद्यालय र समुदाय सम्बन्ध सुधार, मासिक शिक्षक कर्मचारी, व्यवस्थापन समिति र श्रोतव्यक्तिको बैठक, स्विकृत पाठ्यक्रम लागू गर्ने, अभिलेखीकरणलाई चुस्त बनाउने समेतका काम भएका छन् ।
विद्यालयका शौचालय, धारा र पुस्तकालय बालबालिकाको पहुँच पुग्ने गरी बनेको प्रअहरुले बताए । बालबालिकाको स्वास्थ्य, पूर्ण खोप, सरसफाइ र शुद्द खानेपानीको व्यवस्थापनमा विद्यालय तहमै व्यवस्था गर्ने कार्य पनि संचालन भएका छन् । कानूनले २० वर्ष नपुगी विवाह गर्न नपाउने प्रावधान राखेको छ । तर विद्यालय उमेरमा पनि विवाह गर्नेहरु भेटिएकोले त्यसको न्युनिकरणका लागि भने चुनौती भैरहेको नगर शिक्षा अधिकृत मिरादेवी शर्माले बताइन् ।
जैमिनी नगरपालिकाका प्रमुख नरबहादुर पुनको अध्यक्षता, शिक्षा अधिकृत मिरादेवी शर्माको संचालन र उपप्रमुख हरिहर शर्माको स्वागतमा सम्पन्न कार्यक्रममा सबै विद्यालयका विद्यार्थीले सामुहिक नृत्य पनि प्रस्तुत गरे । उक्त अवसरमा नगरप्रमुख पुनले बालमैत्री घोषणाका लागि भएका कार्यक्रमबारे प्रतिवेदन पेश गरेका थिए । उनका अनुसार जैमिनीका ६८ सामुदायिक, एक संस्थागत विद्यालय र ५ वटा सामुदायिक सिकाइ केन्द्र समेतका ४ हजार ४ सय ४७ बालबालिका शिक्षाको पहुँचमा पुगेका, सबैले खोप पाएको, बालअधिकारका अन्य सूचकमा पनि बालबालिकाहरुको पहुँच बिस्तार भएको बताइएको छ ।
घोषणा कार्यक्रममा प्रदेश सभाका सांसद, जिल्ला समन्वय समितिका प्रमुख अमर थापा, बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठ सहित छिमेकी पालिकाका प्रमुख र अध्यक्षसहित सहभागि थिए । हरेक वडाबाट अध्यक्षको नेतृत्वमा विद्यार्थी र अभिभावकको झाँकी र ¥यालीले बजार परिक्रमा गरेर कार्यक्रम स्थल प्रशेश गरेका थिए । यो घोषणाले जैमिनी बागलुङको तेस्रो, गण्डकी प्रदेशको पाँचौ र नेपालभरमा ३० औं बालमैत्री पालिका बनेको छ ।





