शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

पर्यटन विकासमा तमानखोलाको प्रयास

पर्यटन विकासमा तमानखोलाको प्रयास

जडीबुटीमा पनि नजर लगाउँदै


  • ढोरपाटन संवाददाता
  • जेष्ठ १९ २०८३, मंगलबार

बागलुङ/समुन्द्री सतहदेखि २ हजार ६ सय मिटरको उचाइमा भएकोले चिसो मौषम छ । यहाँबाट उत्तरमा हिमाली श्रृंखला देखिन्छन् । सडक मार्गले पनि बुर्तिवाङ र म्याग्दीको दरवाङदेखि जोडिएको छ । यहाँ पर्यटक सजिलै पुग्न सक्छन् ।

तमानखोला गाउँपालिका वडा नं. ४ को सोलेडाँडालाई पर्यटकीय गन्तव्य बनाउन गाउँपालिकाले डीपीआर समेत बनाएको छ । डीपीआर अनुसार केही काम पनि भैरहेका छन् । यहाँ जडिबुटी संकलन तथा अनुसनधान केन्द्र बनिसकेको छ भने सहिद पार्क, आकर्षक पोखरी, पर्यटक बस्ने स्थल र पदमार्ग बनेका छन् ।

गाउँपालिका अध्यक्ष जोकलाल बुढाका अनुसार अहिलेसम्म यहाँ ५० लाख बढीका योजना सम्पन्न भैसकेका हुन् । ती काम पछि सोलेमा पर्यटक चहलपहल पनि बढेको छ । ‘आजको कामले भोलिको राजश्वको पनि आधार बन्छ,’ बुढाले भने, ‘यो सुरुवात हो, भोलिका दिनमा यहाँ अझै धेरै आकर्षक स्थल बनाउने लक्ष्य छ ।’ उनले पर्यटन प्रवद्र्दनका लागि सहज सडक, पर्यटक सुरक्षा र बस्ने तथा खाने रेष्टुरेन्टको व्यवस्थापन गरिने बताए । जडिबुटीको चोरी तस्करी रोकेर वैधानिक बिक्री केन्द्र बनाउने, अनुसन्धान केन्द्रमार्फत आयुर्वेदिक उपचार पद्धति थाल्ने लक्ष्य छ ।

वडा नं. २ को बराहताल अर्को महत्वपूर्ण गन्तव्य हो । यो तालको पनि पालिकाले डीपीआर बनाइसकेको छ । सडक संजालले जोडिएकोले अबका दिनमा व्यवस्थित ताल बनाउने, पर्यटक भित्र्याउने, उनीहरुको स्वागत सत्कार, बसाइलाई आरामदायी बनाउनेतर्फका योजना संचालन गरिने बुढा बताउँछन् । पर्यटक भित्राउन सक्दा पालिकाले मनग्ये आयआर्जन गरेर राजश्वमा सुधार ल्याउन सक्ने उनको मत छ ।

त्यस बाहेक नौडल्ले पहाड, नर्जाखानीको खानी संचालन, स्थानीय कला र संस्कृतिको जर्गेना, तमान गाउँजस्ता क्षेत्रमा पर्यटक लैजाने लक्ष्य पालिकाको छ । यो अभियानमा सानो बजेट बाधक छ । भौगोलिक जटिलता भएपनि जनसंख्याको आधारमा आउने बजेटले विकासमा असर परेको हो भन्छन्, बुढा । त्यस बाहेक यहाँका तारा हान्ने खेल, भेडीगोठ सहितका विभिन्न कला र संस्कृतिको संरक्षण गर्दा पर्यटकको चासोको क्षेत्र बन्न सक्ने स्थानीय मनकुमारी बुढाले बताइन् ।

पालिकाको केही खण्ड ढोरपाटन सिकार आरक्षमा जोडिएको छ । त्यसैले कतिपय भौतिक पूर्वाधार निर्माणदेखि जडिबुटी संकलनको काम गर्न पनि आरक्षको अनुमति लिनुपर्ने कानूनी बाध्यता छ । त्यसका लािग गाउँपालिकाले यो अभियानलाई वन मन्त्रालय र आरक्षसँग समन्वय गरिरहेको हो । पालिकाको केन्द्र रहेको बोङगादोभानदेखि खुंखानी हुँदै गुर्जाघाट ढोरपाटन जोड्ने सडक आरक्षको सहमति बिना निर्माण गर्ने लक्ष्य पुरा हुन सकेको छैन ।

यहाँ ७ किमी खण्ड आरक्षको क्षेत्रमा परेकोले आरक्षमा समन्वय भैरहेको उपाध्यक्ष हिराकुमारी छन्त्यालले बताइन् । यो सडक जोडिंदा पर्यटकीय क्षेत्र विस्तार गर्न सहज हुनेछ । ‘यो कामले पालिकामा सयौंलाई रोजगारी दिन सकिन्छ, तर काम चुनौतीपूर्ण छ,’ छन्त्यालले भनिन्, ‘जडिबुटीको बजारीकरण र कानूनी बैधता दिनसके पालिकाको राम्रो आम्दानीको श्रोत समेत बन्ने छ ।’ चोरी तस्करी रोकेर बैधानिक रुपमा बजार पठाउने काम भएमा राजश्वकै आधार बलियो बन्ने उनले बताइन् ।

राज्यको माथिल्लो निकायसम्म तमानखोलाको जडिबुटीको प्रवद्र्धन, बजारीकरणमा जानकारी दिनसके बलियो कमाइको आधार बन्न सक्ने प्राध्यापक रामप्रसाद उपाध्याय बताउँछन् । ‘पालिकाहरु धनी बन्ने आधार नै स्थानीय श्रोत साधनको सदुपयोग हो,’ उपाध्यायले भने, ‘पालिकाले कस्तो नीति बनाउँछ, कसरी समन्वय गर्छ त्यसमा सबैकुरा निर्भर हुन्छ ।’ तमानखोलालाई ६ वटा वडामा विभाजन गरिएपछि बस्तीभन्दा चारदेखि ५ गुणाबढी जल र जंगलले ढाकेको छ । पशुपालन र पर्यटन प्रवद्र्धनका कार्यक्रम पनि जोड्न सकिन्छ ।

राजश्वको आधार बलियो बनाउन सकेमा तमानखोलाका छरिएका बस्तीलाई एकीकृत गरेर ती स्थानमा जडिबुटी प्रवद्र्धनका कार्यक्रम गर्न सकिने संभावनाबारे अध्ययन भएको बुढाले बताए । तर सानो पूँजीले विकास गर्नुपर्ने बाध्यता हुँदा एकीकृत बस्ती विकास गर्ने योजना भने तत्काल असंभव भएको उनले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->