बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

हिमाली सांस्कृतिक भवन निर्माणका लागि टिका बहादुर कार्कीको ५ लाख सहयोग, पद्मराज ढकालले पनि गरे आर्थिक सहयोग

हिमाली सांस्कृतिक भवन निर्माणका लागि टिका बहादुर कार्कीको ५ लाख सहयोग, पद्मराज ढकालले पनि गरे आर्थिक सहयोग


  • ढाेरपाटन संवाददाता
  • जेष्ठ १९ २०८३, मंगलबार

पोखरा/ नेपाली लोकसंस्कृतिको संरक्षण, संवर्द्धन र विकासमा तीन दशकदेखि सक्रिय हिमाली साँस्कृतिक परिवार आफ्नै सांस्कृतिक भवन निर्माण अभियानमा जुटेको छ। २०५४ सालमा ‘नेपाली लोक संस्कृति बचाऔं’ भन्ने नारासहित स्थापना भएको संस्थाले स्थायी पूर्वाधार निर्माणका लागि सहयोग संकलन अभियान सुरु गरेको हो।

पोखरा–९ पृथ्वीचोकमा पोखरा नगर विकास समितिले उपलब्ध गराएको स्थानमा कार्यालय स्थापना गरी सांस्कृतिक गतिविधि सञ्चालन गर्दै आएको हिमाली साँस्कृतिक परिवारले कार्यालय छाड्नुपर्ने अवस्था आएपछि आफ्नै जग्गा खरिद गरी भवन निर्माण गर्ने योजना अघि बढाएको हो । पोखरा महानगरपालिकाको सूचनाअनुसार तोकिएको समयभित्र कार्यालय खाली गरी महानगरलाई सहयोग गरेको संस्थाले हाल आफ्नो कार्यालय तमु धिं नेपाल परिसरमा सञ्चालन गरिरहेको छ।

भवन निर्माण अभियानलाई व्यवस्थित बनाउन संस्थाका मानार्थ सदस्य तथा वरिष्ठ समाजसेवी टिका बहादुर कार्कीको संयोजकत्वमा ‘हिमाली साँस्कृतिक परिवार भवन निर्माण समिति’ गठन गरिएको छ। समितिले पोखरामा करिब दुई रोपनी जग्गा व्यवस्थापन गरी कार्यालय, सभाहल, संग्रहालय तथा पार्किङसहितको सुविधासम्पन्न सांस्कृतिक भवन निर्माण गर्ने लक्ष्य लिएको छ। यसका लागि स्वदेश तथा विदेशमा रहेका शुभेच्छुक तथा संस्थाप्रेमीहरूबाट सहयोग जुटाइने संयोजक कार्कीले जानकारी दिए ।
यसैबीच भवन निर्माण अभियानका लागि संस्थाका सल्लाहकार, पोखरा प्रज्ञा प्रतिष्ठानका संस्थापक कुलपति, लेखनाथ साहित्य प्रतिष्ठानका अध्यक्ष, गायक तथा साहित्यकार पद्मराज ढकालले १ लाख २५ हजार ७८९ आर्थिक सहयोग हस्तान्तरण गरेका छन्।

सहयोग हस्तान्तरण गर्दै ढकालले नेपाली लोकसंस्कृतिको संरक्षणमा हिमाली साँस्कृतिक परिवारले पुर्‍याएको योगदान उल्लेखनीय रहेको बताए । संस्थाका पूर्वअध्यक्ष स्वर्गीय मेनकाजी गुरुङसँगको सहकार्य र आफू पनि लोकसंस्कृतिको क्षेत्रमा सक्रिय रहेकाले हिमालीप्रति विशेष आत्मीयता रहेको उल्लेख गर्दै उनले भवन निर्माण अभियानमा सबैको साथ र सहयोग आवश्यक रहेको धारणा व्यक्त गरे ।
भवन निर्माण अभियानका लागि निर्माण समिति संयोजक टिका बहादुर कार्कीले ५ लाख, सल्लाहकार सुबेदार मेजर जसबहादुर गुरुङले १ लाख तथा सल्लाहकार बुद्धिमान दुरा धम्पुले ७० हजार २०० सहयोग गर्ने घोषणा गरेका छन्।

त्यसैगरी, कार्यालय व्यवस्थापनका लागि सल्लाहकार चिजा गुरुङले १८ हजार सहयोग प्रदान गरेकी छन् भने सल्लाहकार अशोक पालिखेले छ महिनाका लागि ३६ हजार सहयोग गर्ने घोषणा गरेको परिवारका सचिव डबिन गुरुङले जानकारी दिए । भवन निर्माण अभियानमा हिमाली साँस्कृतिक परिवारका पदाधिकारी, कार्यसमिति सदस्य तथा कलाकारहरूले पनि आ(आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।

संस्थाका अध्यक्ष ज्ञानबहादुर थापाको अध्यक्षता तथा सचिव डबिन गुरुङको सञ्चालनमा सम्पन्न संरक्षक, मानार्थ सदस्य, सल्लाहकार र कार्यसमितिबीचको छलफल कार्यक्रममा संरक्षक नरबहादुर शेरचन, मानार्थ सदस्य खेमबहादुर गुरुङ, भवन निर्माण समिति संयोजक टिका बहादुर कार्की तथा सल्लाहकारहरू अशोक पालिखे, दीपेन्द्र श्रेष्ठ र हुमबहादुर गुरुङलगायतले भवन निर्माण अभियान सफल बनाउन सामूहिक प्रयास आवश्यक रहेको बताएका थिए।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->