बागलुङ/बागलुङको रायडाँडाबासी नगदेबालीमा आर्कषित भएका छन् । पछिल्लो समय उनीहरुले अबकरे खुर्सानी, अदुवा लगायतको खेती गर्न थालेका छन् ।
बागलुङ नगरपालिका वडा नं. ११ को रायडाँडा सदरमुकामभित्रै भएपनि दुर्गम स्थान हो । यहाँका बासिन्दा अधिकांस सदरमुकाम बस्छन् । कतिपय बसाइ सरेर सहरी क्षेत्र र चितवन झरेका छन् । गाउँमा पछिल्लो समय बाँदरको आतंक फैलिएको छ । त्यसैले किसानले लगाएको तरकारी र अन्नबाली बाँदरले खाएर हैरान छ । बाँदर आतंकबाट बच्न स्थानीयले अकबरे खुर्सानी र अदुवा लगाउन थालेका हुन् ।
बाँदरको आतंकमा स्थानीयले वैकल्पिक उत्पादनको खोजी गरेका हुन् । पछिल्लो ५ वर्षदेखि किसानले खसीबाख्रा पाल्ने काम थालेका थिए । रायो साग र बाख्रा पालनमा मात्रै लागेका किसानले यो वर्षदेखि भने अदुवा र अकबरे खेती थालेका हुन् । बाँदरबाट जोगाउन कसरी सकिन्छ भनेर सोच्दा सोच्दै अकबरे र अदुवा खेतीमा आइपुगेको वडा अध्यक्ष ज्ञानेन्द्र गौतमले बताए । चालु वर्ष यहाँ ४० हजार अकबरेका बिरुवा रोपिएको छ ।
‘यो पाइलट परियोजना हो, राम्रो भयो भने आगामी वर्ष वडाभरी अकबरे लगाउने हो,’ गौतमले भने, ‘किसानको उत्पादनलाई बजारीकरणमा भने नगरपालिका र हेफर इन्टरनेसनलले साथ दिने छ ।’ हेफर नेपालले नेपाल गाजा डेभलपमेन्ट फाउण्डेसनको सहकार्यमा चार वर्षदेखि यहाँ पशुपालन र स्वास्थ्य क्षेत्रमा काम गर्दै आएको छ ।
सदरमुकामदेखि भौगोलिक रुपमा टाढा र दूध उत्पादन गरेर बजार लैजान नसकिने भएपछि किसानहरु बाख्रा पालनमा मात्रै थिए । अब व्यावसायिक कृषिमा लाग्नका लागि अकबरे र अदुवामा लागेका हुन् । यहाँका किसानले रायो साग पनि लगाएका छन् । ‘रायो साग अहिलेसम्म बाँदरले खाएको छैन,’ स्थानीय दलबहादुर थापाले भने, ‘अकबरे र अदुवा पनि जोगाउन सकिएला भन्ने छ ।’ यहाँ हाइटेक टनेल बनाएर तरकारी खेतीको पनि प्रयास भएको छ । तर, बाँदरबाट जोगाउन कठिन भएपछि हाइटेकमा अकबरेको तयारी भएको हो ।
अहिले ७५ जना किसान अकबरे खुर्सानी उत्पादनमा लागेका छन् । ४० हजार रुपैयाँको बीउ ल्याएर जमाउँदा ४० हजार बिरुवा उत्पादन भएको प्राविधिक राजु गौतमले बताए । ‘सानो लगानीमा धेरै उत्पादन लिन सकिने अवस्था छ, यो क्षेत्रलाई मौषमले पनि साथ दिन्छ,’ उनले भने, ‘किसानलाई बाँदरले नष्ट गरिदिने चिन्ता पनि भएन ।’ यो योजना सफल भएमा बाँदरको आतंक भएका अन्य गाउँमा पनि अकबरेको माग बढ्ने उनले बताए ।
भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बागलुङका प्रमुख डा. ऋषिराम सापकोटाले बाँदरबाट असर नपर्ने गरी किसानले दूध उत्पादनमा पनि लगानी गरेको बताए । जैमिनी नगरपालिकाको अधिकांस वडामा पछिल्लो ५ वर्षदेखि किसानले भैसी पाल्न थालेका छन् । उनीहरुले उत्पादन गर्ने दूध बागलुङ बजार र पोखरासम्म पठाउने गरेका छन् । सडक यातायातबाट बढीमा एक घण्टामा बजार पु¥याउन सकिने स्थानमा दूधको उत्पादन बढाउन सकिने सापकोटाले बताए । किसानलाई केन्द्र र जैमिनी नगरपालिकाले उत्पादनमा आधारित अनुदान दिएका छन् । किसानले प्रतिलिटर दूधमा ५ रुपैयाँसम्म अनुदान पाएका छन् ।
बागलुङको जैमिनी नगरपालिका, काठेखोला गाउँपालिका र बागलुङ नगरपालिका क्षेत्रमा बाँदरको समस्या बढी छ । काठेखोलाका किसानले पनि दूध र अदुवा खेती गर्न थालेको बताए । अकबरेको बजार सहज भएपनि अनुवाको बजार पाउन भने समस्या पर्ने काठेखोला गाउँपालिका वडा नं. ६ का बलराम कँडेलले बताए ।





