पोखरा/ गण्डकी प्रदेश सभाको बुधबार बसेको बैठकमा सांसदहरूले प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभाको बैठकमा गत आइतबार दिएको नेपालले पनि भारतको भूमी मिचेको भन्ने अभिव्यक्तिप्रति तीव्र आक्रोश र आपत्ति जनाएका छन् । शून्य समयमा बोल्दै अधिकांश सांसदहरूले प्रधानमन्त्रीको भनाइ गैरजिम्मेवार, तथ्यहीन र राष्ट्रहित विपरीत रहेको भन्दै तत्काल संसद् र जनतासमक्ष माफी माग्न माग गरे ।
सांसद कुसुम बुढा पुनले उक्त अभिव्यक्तिलाई तथ्यहीन र राष्ट्रहित विपरीत भन्दै खारेजको माग गरिन् । अर्की सांसद दमयन्ती रुचालले प्रधानमन्त्रीको भनाइ अपरिपक्व, अराजनीतिक र लज्जाजनक भएको टिप्पणी गर्दै, “शाह रास्वपाको मात्रै हो कि देशको पनि प्रधानमन्त्री हो ?” भनी प्रश्न गरिन् । उनले नेपालले भारतीय जमिन मिचेको प्रमाण देखाउन प्रधानमन्त्रीलाई चुनौती समेत दिइन् ।
सांसद देवका पहारी त्रिपाठी र रेशम जुग्जालीले राष्ट्रिय धरोहरहरू जलाएर सत्तामा पुगेकाहरूबाट राष्ट्रियतामाथि घात भएको आरोप लगाए । त्रिपाठीले प्रधानमन्त्रीको भनाइले नेपालीको सार्वभौमसत्ता र स्वाभिमानमा आघात पु¥याएको भन्दै गैरजिम्मेवार अभिव्यक्ति फिर्ता लिन आग्रह गरिन् । ‘राष्ट्रिय झन्डा ओढेर राष्ट्रिय धरोहर सिंहदरबार, सर्बोच्च अदालत र संसद भवन जलाएर त्यसैको खरानीमा टेकेर सत्तामा पुगेकाहरु प्रति आफुहरुको पहिल्यै शंका थियो’, उनले भनिन, ‘जनतामाथि घात हुनेगरी प्रधानमन्त्री शाहको भनाई प्रति गम्भिर ध्यानाकर्षण भएको छ । उक्त भनाई तथ्यहीन, आपत्तीजनक र सार्वभौमसत्ता, अखण्डता, राष्ट्रिय स्वाभिमान र नेपालीको भावना आघात पुराउने खालको भएकाले उक्त गैरजिम्मेवार भनाई फिर्ता लिएर जनतासमक्ष क्षमा माग्न अनुरोध गर्छु ।’ जुग्जालीले देश भूराजनीतिक संकटतर्फ धकेलिएको भन्दै चिन्ता व्यक्त गर्दै यस विषयमा गण्डकी प्रदेश सभाले नै खेद प्रस्ताव पारित गर्नुपर्ने धारणा राखे । साथै रास्वपा र प्रमले माफी माग्नु पर्ने धारणा उनको थियो ।
त्यस्तै, सांसदहरू महेश भट्टराई, सीता कुमारी सुन्दास र सुधिरकुमार पौडेलले लिपुलेक र लिम्पियाधुरासहितको चुच्चे नक्सा नेपालको अकाट्य भूमि रहेको स्मरण गराउँदै प्रधानमन्त्रीले विदेशी शक्तिलाई रिझाउन यस्तो हचुवा अभिव्यक्ति दिएको आरोप लगाए । सांसद लिलबहादुर थापामगरले राष्ट्रियता देशको प्राण र सान भएको भन्दै नेपालको एक इन्च जमिन पनि मिचिन नदिने अडानसहित प्रदेश सभाबाट ‘संकल्प प्रस्ताव’ ल्याउनुपर्ने माग गरे ।
किसानका समस्या र बजार व्यवस्थापनको विषय पनि उठ्यो
बैठकमा राष्ट्रिय राजनीतिको तातो बहससँगै सांसदहरूले स्थानीय उत्पादन, बजार र किसानका समस्या पनि उठाएका छन् । सांसद बिन्दु पौडेलले नवलपुरमा विगत दुई वर्षदेखि किसानको धान बिक्री नभएको तर्फ ध्यानाकर्षण गराउँदै सरकारले धानको न्यूनतम मूल्य तोकेर खरिदको नीति बनाउनुपर्ने माग गरिन् ।
गोरखाको दरौदी करिडोर र सिर्दी फाँटका किसानहरू चैते धानमा लागेको विभिन्न रोगका कारण आहत भएको भन्दै सांसद फणिन्द्र देवकोटाले तत्काल विशेषज्ञ टोली पठाएर राहत प्याकेज घोषणा गर्न सरकारसँग माग गरे ।
पूर्वाधार, प्रविधि र विकासका बेथिति
सांसद नन्दकला दमै नेपालीले पछिल्लो समय राइड सेयरिङ एपहरूमा ‘म्याप’ ले देखाएभन्दा दोब्बर भाडा असुल्ने गरिएको आफ्नै अनुभव सुनाउँदै यसको तत्काल नियमन गर्न माग गरिन् । विकास निर्माणतर्फ पूर्वाधारका योजना अलपत्र परेको भन्दै सांसद प्रकाश बरालले पोखराको पुम्दीभुम्दीदेखि स्याङ्जा जोड्ने शान्ति स्तूप क्षेत्रको सडक मर्मतका लागि ५० लाख विनियोजन भए पनि काम अघि नबढेको गुनासो गरे ।
सांसद मित्रलाल बस्यालले पर्वतको महाशिला गाउँपालिकाको फलामखानी क्षेत्रमा बर्सेनी चट्याङ लागेर सर्वसाधारणको ज्यान जाने गरेको भन्दै तत्काल ‘अर्थिङ’ (चट्याङ प्रतिरोधात्मक प्रविधि) को व्यवस्था गर्न माग गरे । कर्मचारीको तलब वृद्धि भएसँगै निवृत्त कर्मचारीको पेन्सन र स्वास्थ्य सेवा पनि समयानुकुल सुधार गर्न सांसद निर्मला थापाले आग्रह गरिन् ।
बैठकको अन्त्यमा सांसद श्यामराजा महतले प्रदेश सरकारको ‘एक घर एक धारा’ र ‘एक क्षेत्र एक कृषि सडक’ जस्ता गौरवका नाराहरू बजेट अभावका कारण अलपत्र परेको टिप्पणी गरे । उनले थोरै खर्चमा हुने सिँचाइ योजना र अधुरा सडकहरू सम्पन्न गर्ने सरकारको ठोस योजना के छ भन्दै संसद्मा सरकारको जवाफ माग गरे ।





