पोखरा/‘राष्ट्रिय झन्डा ओढेर देश जलाउने देशद्रोहीप्रति यो नीति तथा कार्यक्रम आश्चर्यजनक रूपमा किन मौन छ ? असंलग्न नीतिको खिल्ली उडाउँदै सशस्त्र टीओबीहरूको ताण्डव नृत्यप्रति यो नीति तथा कार्यक्रम किन चुपचाप छ ।
तर, सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरुले यसलाई रेकर्डबाट हटाउन माग गरेपछि वैशाख ३० गते सभामुख डोलप्रसाद अर्यालले हटाउन संसद सचिवालयलाई रुलिङ गरे ।
प्रतिनिधीसभामा रेकर्डबाट हटाइएको यस्तै प्रकृतिको वाक्य भने बुधबार गण्डकी प्रदेशसभामा बोलिएको छ ।
बुधबारको प्रदेशसभा बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्तिको चर्को आलोचना भएको छ । प्रदेशसभा सदस्यहरुले खेद प्रकट, भत्र्सना तथा माफी माग्नुपर्ने बताएका छन ।
यही सन्दर्भमा बोल्ने क्रममा एमाले प्रमुख सचेतक देवका पहारी त्रिपाठीले भनिन्, ‘राष्ट्रिय झन्डा ओढेर राष्ट्रिय धरोहर सिंहदरबार, सर्बोच्च अदालत र संसद भवन जलाएर त्यै खरानीमा टेकेर सत्तारोहण गरेका नयाँ भनिएका राजनीतिक शक्तिप्रति हाम्रो त शंका थियो नै ।’
जनतामाथि घात हुनेगरी प्रधानमन्त्री शाहको भनाई प्रति गम्भिर ध्यानाकर्षण भएको उनले बताइन । प्रधानमन्त्रीको अभिव्यक्ति तथ्यहीन, आपत्तिजनक र सार्वभौमसत्ता, अखण्डता, राष्ट्रिय स्वाभिमान र नेपालीको भावना आघात पुराउने खालको भएकाले उक्त गैरजिम्मेवार भनाई फिर्ता लिएर जनतासमक्ष माफी माग्न उनले सुझाव दिइन । प्रदेशसभाको शून्य समयमा बोल्दै अधिकांश प्रदेशसभा सदस्यहरूले प्रधानमन्त्रीको भनाई गैरजिम्मेवार, तथ्यहीन र राष्ट्रहित विपरीत रहेको भन्दै तत्काल संसद् र जनतासमक्ष माफी माग्न माग गरे । कुसुम बुढा पुनले उक्त अभिव्यक्तिलाई तथ्यहीन र राष्ट्रहित विपरीत भन्दै खारेजको माग गरिन् ।
दमयन्ती रुचालले प्रधानमन्त्रीको भनाइ अपरिपक्व, अराजनीतिक र लज्जाजनक भएको टिप्पणी गर्दै, ‘शाह रास्वपाको मात्रै हो कि देशको पनि प्रधानमन्त्री हो ।’
महेश भट्टराई, सीता कुमारी सुन्दास र सुधिरकुमार पौडेलले लिपुलेक र लिम्पियाधुरासहितको चुच्चे नक्सा नेपालको अकाट्य भूमि रहेको स्मरण गराउँदै प्रधानमन्त्रीले विदेशी शक्तिलाई रिझाउन यस्तो हचुवा अभिव्यक्ति दिएको आरोप लगाए ।
लिलबहादुर थापामगरले राष्ट्रियता देशको प्राण र सान भएको भन्दै नेपालको एक इन्च जमिन पनि मिचिन नदिने अडानसहित प्रदेश सभाबाट ‘संकल्प प्रस्ताव’ ल्याउनुपर्ने माग गरे ।





