आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

सुकुम्बासीको लागि जग्गाको खोजी

सुकुम्बासीको लागि जग्गाको खोजी

१० कार्यदिनभित्र जग्गाको अध्ययन तथा स्थलगत खोज गरी महानगरमा प्रतिवेदन पेस गर्ने गरी समितिलाई जिम्मेवारी तोकिएको छ ।


  • ढोरपाटन संवाददाता
  • जेष्ठ २१ २०८३, बिहिबार

पोखरा/पोखरा महानगरपालिकाले पोखरा बसपार्क क्षेत्रमा बसोबास गर्दै आएका भूमिहीन दलित तथा सुकुम्वासी परिवारको स्थानान्तरणका लागि जग्गाको खोजी गरिरहेको छ ।

जेठ १२ गते गठित जग्गा व्यवस्थापन समितिले महानगरभित्रका विभिन्न वडामा पुगेर सम्भावित जग्गाको स्थलगत अध्ययन गरिरहेको समितिका संयोजक वडा नं १७ का वडाध्यक्ष राधिका शाही योगीले बताइन् । उनले भनिन्, “समितिलाई दिइएको जिम्मेवारीअनुसार जग्गा खोज्ने काम भइरहेको छ, तोकिएको समयावधिमा महानगरपालिकालाई प्रतिवेदन बुझाउँछौँ ।”

महानगरपालिकाले वडाध्यक्ष योगीको संयोजकत्वमा सात सदस्यीय जग्गा व्यवस्थापन समिति गठन गरेको छ । समितिको सदस्यमा वडा नं ९ का अध्यक्ष दीपेन्द्र मर्सानी, वडा नं १९ का अध्यक्ष तोरण बानियाँ, वडा नं १४ का अध्यक्ष बोधराज कार्की, वडा–२५ का कार्यवाहक अध्यक्ष धना पोख्रेल, महानगरको नापी शाखाका प्रमुख सीता कार्की र प्रशासन महाशाखाका प्रशासकीय अधिकृत टीकाराम बजगाईँ रहेका छन् । १० कार्यदिनभित्र जग्गाको अध्ययन तथा स्थलगत खोज गरी महानगरमा प्रतिवेदन पेस गर्ने गरी समितिलाई जिम्मेवारी तोकिएको महानगरपालिकाले जनाएको छ ।

महानगरले बसपार्क क्षेत्रको अतिक्रमित जग्गा खाली गराई आधुनिक सुविधासम्पन्न बसपार्क बनाउने योजना अघि सारेको छ । बसपार्कको जग्गामा ५७२ सुकुम्वासी तथा भूमिहीन परिवार बसोबास गर्दै आएका छन् ।

महानगरपालिकाले बसपार्कको जग्गामा रहेका सुकुम्वासी तथा भूमिहीन परिवारको लगत छानबिन तथा सत्यतथ्य पहिचानको कामलाई पनि अगाडि बढाएको छ । वास्तविक सुकुमवासीलाई अन्यत्र स्थानान्तरण गरी बसपार्कको अतिक्रमित जग्गा खाली गराउने तयारीमा महानगरपालिका लागिपरेको छ ।

महानगरपालिका र पोखरा उपत्यका नगर विकास समितिले बसपार्क क्षेत्रभित्र रहेका पसल कबललगायत सबै संरचना हटाउन सार्वजनिक रुपमा सूचना जारी गरिसकेको छ । यही जेठ १० गते पोखरा उपत्यका नगर विकास समितिले सूचना जारी गरी १५ दिनभित्र त्यस्ता संरचना खाली गर्न निर्देशन दिएको थियो ।

समितिले पोखरा घरदेखि सेती पुलसम्म, पृथ्वी राजमार्गदेखि दक्षिण, विमानस्थलदेखि उत्तर र पूर्वमा सेती नदी क्षेत्रमा निर्माण गरिएका पसल कबललगायत संरचना हटाई पोखरा बसपार्क निर्माणको प्रक्रियामा सघाउन सूचित गरेको हो ।

तोकिएको अवधिभित्र संरचना नहटाएमा समिति आफैँले हटाउने र सो क्रममा लाग्ने लागतसमेत सम्बन्धित व्यक्ति तथा संस्थाबाट असुलउपर गरिने जनाइएको छ । विसं २०३२ मा बसपार्क निर्माणका लागि २०५ रोपनी जग्गा अधिग्रहण गरिए पनि अहिलेसम्म पोखरामा व्यवस्थित बसपार्क बन्न सकेको छैन ।

पोखरा उपत्यका नगर विकास समितिको स्वामित्वमा रहेको उक्त जग्गा अतिक्रमण परेर अहिले करिब ६० रोपनी क्षेत्रफलमा सीमित रहेको महानगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->