बागलुङ/जातीय भेदभाव तथा छुवाछुत उन्मुलन दिवश तथा निर्दोष बालबालिकामाथी अत्याचार विरुद्दको दिवशमा बिहिबार बागलुङमा बृहत छलफल तथा अन्तरक्रिया गरिएको छ । कार्यक्रममा जातीय विभेदको शुरुवात, अहिलेको अवस्था, समस्या समाधानका उपायका बारेमा छलफल गरिएको हो ।
एकीकृत सेवा कार्यालय बागलुङको आयोजनामा भएको कार्यक्रममा सरोकारवालाले आवस्यक सुझाव दिनुको साथै समाजमा रहेको विभेद अन्त्य गर्न राज्यको पहल हुनुपर्ने बताए । उनीहरुले राजनीतिक नेतृत्व, सामाजिक अगुवाको सहभागिताको आवस्यकतामाथी जोड दिए ।
उक्त अवसरमा बरिष्ठ अधिवक्ता काजीगाउँले श्रेष्ठले पेश गरेको अवधारणा पत्रमा सरोकारवालाले छलफल गरे । अवधारणापत्रमा श्रेष्ठले शताब्दीदेखि अहिलेसम्म भएका काममा जातीय विभेद देखिएको, कानूनले पनि विभेद गरेकोले २०६३ सालमा छुवाछुत मुक्त देश घोषणा गर्नुपरेको बताए ।
कार्यक्रममा नेकपा एमालेका उपसचिव तथा अधिकारकर्मी धनबहादुर परियारले छुवाछुत कम भएपनि स्वरुप परिवर्तन भएको, नियत राख्ने क्रम नघटेको र समाजमा अझैपनि सुक्ष्म रुपमा रहेका विभेदले नागरिकले समान हैसियत बनाउन नसकेको बताए ।
प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले छुवाछुत र बालबालिकामाथी हुने अत्याचार सहने विषय नभएको, आवस्यक कानुनी उपचारमा लाग्न सकिने र सबैलाई उत्तरदायी बनाउने बताए । उनले समाज र घरपरिवार पनि जिम्मेवार बन्दै गएमा समस्या समाधान गर्न सकिने बताए । उक्त अवसरमा उच्च अदालत बार एसोसिएसन बागलुङकी अध्यक्ष गीता श्रीषले टिप्पणी गरिन् ।
कार्यक्रममा अधिवक्ता राजु गौतमले बालअधिकार र बालबालिका माथीको अत्याचारको अवस्थाबारे कार्यपत्र प्रस्तुत गरेका थिए । उनले नेपालमा बाल अधिकारको इतिहास, २०७५ सालको बालबालिका सम्बन्धी ऐन, संविधानको धारा ३९ लागयतका विषय उठान गरे । कार्यक्रममा अधिवक्ता तथा पत्रकार प्रकाश बरालले टिप्पणी गर्दै कानूनमा के छ भन्दा पनि हाम्रो व्यवहार र बालबालिकालाई हेर्ने दृष्टीकोण कस्तो छ त्यसले समाज निर्माण गर्ने बताए ।
कार्यक्रममा अधिकारकर्मीहरु टिका विश्वकर्मा, सुजन परियार, मणीभद्र शर्मा, भक्तबहादुर बिक, बालक्लब संजालका अध्यक्ष संस्कार गौतम, रुद्रेपिपल माविकी छात्रा विपिसा परियार र सिद्दार्थ शिक्षा सदनकी छात्रा केडिशा श्रेष्ठले पनि धारणा राखे ।
एकीकृत विकास कार्यालयका प्रमुख शिवप्रसाद शर्माको अध्यक्षता, सहायक प्रशासकीय अधिकृत विष्णुनाथ शर्माको स्वागत र श्याम थापाको संचालनमा सम्पन्न भएको थियो । २०६३ साल जेठ २१ गते नेपाललाई छुवाछुत मुक्त बनाएको सम्झनामा यो दिवश मनाउन थालिएको हो ।





