पोखरा / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) जिल्ला समिति कास्कीको पहिलो अधिवेशनबाट नयाँ नेतृत्व चयन गर्न हुने चुनावमा अध्यक्षका लागि दुई जनाको उम्मेदवारी परेको छ ।
कास्की जिल्ला समिति अध्यक्षमा एकराज न्यौपाने र यदुनाथ अधिकारीले उम्मेदवारी दिएका छन् भने सचिवमा विश्वराज पौडेल र टेकराज सापकोटाले उम्मेदवारी दर्ता गराएका छन्। अध्यक्षमा उम्मेदवारी दिएका यदुनाथ जिल्ला समिति कास्कीका सभापति हुन भने एकराज प्रदेशको जनसम्पर्क विभाग प्रमुख हुन्।
शनिबार भएको पहिलो अधिवेशनमा जिल्ला अध्यक्ष, सचिव र सदस्य पदमा सर्वसम्मत हुन नसकेपछि चुनावी प्रक्रियाबाट नेतृत्व छान्न तयारी गरिएको रास्वपा गण्डकीका महामन्त्री नवीन त्रिपाठीले बताए। अध्यक्ष र सचिवमा दुई दुई जनाको उम्मेदवारी परे पनि ४ जना सदस्य पदका लागि भने १० जनाले उम्मेदवारी दिएका छन्।
सचिवका उम्मेदवार विश्वराज यस अगाडि कास्की–३ का क्षेत्रीय समिति संयोजक थिए भने टेकराज जिल्ला समितिका सहसचिव थिए। सहमति हुन नसकेपछि चुनावी प्रक्रिया अघि बढाएको प्रदेश महामन्त्री त्रिपाठीले बताए। अधिवेशनमा २९५ जना प्रतिनिधी छन्।
जिल्ला प्रतिनिधी छनौट गर्दा पालिका अधिवेशनबाट जिल्ला प्रतिनिधी एक महिलासहित ४ जना, पालिका समिति, जिल्ला समिति र जिल्ला समितिभन्दा माथिल्लो समिति तथा विभागमा रहेका सबै जिल्ला अधिवेशनको प्रतिनिधी हुने पार्टीको निर्वाचन कार्यविधी छ। सोही अनुसार जिल्ला प्रतिनिधी छनौट गरिएको रास्वपाले जनाएको छ ।
अध्यक्ष र सचिवबाहेक बाँकी पदाधिकारीमा भने सहमति भएको छ। सहमति अनुसार जिल्ला उपसभापतिमा चिनु गुरुङ, सहसचिवमा सुजन वस्ताकोटी, सदस्यहरुमा श्रवणराज जमरकट्टेल, चित्रबहादुर क्षेत्री, राजकुमार भण्डारी, दलित महिला सदस्यमा लक्ष्मी परियार निर्विरोध चयन भएका छन्।
१९ सदस्यीय जिल्ला समितिमा १२ जना निर्वाचित हुनेछन् भने २ जना सभापतिले मनोनित गर्नेछन्। कास्कीमा रहेका ५ वटा स्थानीय पालिका समितिका सभापति पदेन सदस्य रहने व्यवस्था छ ।
अधिवेशनको उद्घाटन संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री खड्कराज पौडेल ‘गनेस’ले गरेका थिए । अधिवेशनले पार्टीलाई आकार दिने र खँदिलो बनाउने विश्वास लिएको उनले बताए ।





