बागलुङ/जिल्लाको निसीखोला गाउँपालिकामा उपाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतबीच टकराव बढेको छ । पालिकाको नीति तथा कार्यक्रम र बजेट ल्याउने समयमा मुख्य पदाधिकारी बीचको दुरी बढेको हो ।
बिहिबार बसेको कार्यपालिका बैठकमा उपाध्यक्ष प्रेम बहादुर घर्तिले आफुलाई हातपात गरेको प्रमुख प्रशासकीय अधिकृत जिवन पुनले बताए । उनले उपाध्यक्ष घर्तीले पानीको बोतल र राष्ट्रिय झण्डाको डण्डाले आफुमाथि प्रहार गरेको गुनासो गरे ।
उपाध्यक्ष घर्तीले भने केही सैद्दान्तिक विषयमा भनाभन भएको तर हातपात नभएको जिकिर गरे । बैठकमा कतिपय विषयमा भनाभन त भैहाल्छ नि भन्दै घर्तिले अन्य विषयमा खास समस्या नभएको बताए । बैठकमा सहभागीका अनुसार, गाउँपालिकाको स्वास्थ्य शाखाको प्रमुख बनाउने विषयमा छलफल भएको र त्यसैमा विवाद भएको हो ।
पालिकाको स्वास्थ्य शाखा प्रमुखमा हाल जुनु घर्तीमगर छिन् भने पालिकाभित्र टोपबहादुर चन्द पनि प्रमुखको दाबेदार छन् । उनीहरु मध्ये को सिनियर वा कसलाई बनाउने भन्ने विषयमा पनि छलफल चलेको थियो । उनीहरुको विषय प्रवेशपछि उपाध्यक्ष घर्ती र प्रमुख प्रशासकीय अधिकृत पुनबीच भनाभन भएको थियो ।
उनीहरुविच विवाद बढेपछि पालिका अध्यक्ष सूर्यबहादुर घर्तीको संयोजनमा छलफल गरी समस्या समाधानको प्रयास भैरहेको छ । अध्यक्ष घर्तीले घर भित्रको कुरा भएकोले आफुहरु बसेर मिलाउन लागेको जानकारी दिए ।
उपाध्यक्ष र हाकिमविच विवाद बढेपछि नीति तथा कार्यक्रम र बजेट बनाउन अप्ठ्यारो परेको छ ।





