आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

विद्यार्थीलाई च्याम्बर अवार्ड, व्यवसायीलाई राहत प्रदान

विद्यार्थीलाई च्याम्बर अवार्ड, व्यवसायीलाई राहत प्रदान


  • अमृत बास्कुने
  • जेष्ठ २४ २०८३, आइतबार

म्याग्दी/म्याग्दी उद्योग वाणिज्य संघको ३२ औं वार्षिक साधारणसभामा विद्यार्थीलाई च्याम्बर अवार्ड वितरण गर्नुका साथै व्यवसायीलाई राहत प्रदान गरेर सकिएको छ । शनिबार बेनीमा सम्पन्न म्याग्दी उद्योग वाणिज्य संघको ३२ औं वार्षिक साधारणसभा दुई जना विद्यार्थीलाई अवार्ड प्रदान गर्नुका साथै १४ जना व्यवसायीहरुलाई राहत प्रदान गर्दै सम्पन्न भएको छ ।

साधारणसभाको अवसरमा विभिन्न संघसंस्था, ११ जना उद्योगी व्यवसायीलाई आर्थिक सहयोग तथा २ जना उत्कृष्ट विद्यार्थीलाई च्याम्बर अवार्डबाट सम्मान गरिएको छ ।

साधारण सभामा बोल्दै गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री गोविन्दबहादुर नेपालीले आगामी आर्थिक बर्षको बजेटमा म्याग्दीलाई प्राथमिकतामा राख्ने बताए । उनले म्याग्दीको भुगोल र यहाँको आवश्यकताका बारेमा आफुलाई जानकार रहेको भन्दै आवश्यकताका आधारमा बजेट विनियोजन गर्ने बताए ।

म्याग्दीमा संचालित क्याम्पसहरु मध्येबाट २०८१ म बजार शास्त्र, व्यवस्थापन संकाय (बिबिएस) मा सर्वोत्कृष्ट अंक प्राप्त गर्ने म्याग्दी क्याम्पसबाट ६४.३५ प्रतिशत अंक प्राप्त गर्ने छात्र बेनी नगरपालिका २ का सुरेन्द्र थापा, छात्रा तर्फ ७६.४५ प्रतिशत ल्याउने जलजला गाउँपालिका ४ की सुजता पौडेललाई नगद ५ हजार सहित च्याब्बर अर्वाड र कदर पत्रले सम्मान गरिएको थियो ।

म्याग्दी उद्योग वाणिज्य संघले स्थापना गरेको व्यवसायी हितकोषबाट गएको १ वर्षको अवधिमा विभिन्न विपद्लगायत घटनाबाट क्षति बेहोरेका उद्योगी, व्यवसायी तथा आफन्त गुमाएका संघका विभिन्न सदस्यहरुलाई २ लाख ३० हजार रुपैयाँ हस्तान्तरण गरिएको म्याग्दी उद्योग वाणिज्य संघका महासचिव नारायण जिसीले बताए ।

तातोपानीका तुलप्रसाद नेपालीको फेन्सी पसलमा बाढीले क्षेती पुराएको भन्दै संचालन नेपालीलाई नगद दश हजार रुपैयाँ सहयोग गरिएको छ । साधारणसभामा म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठले संस्थागत, महासचिव नारायण घर्ती क्षत्रीले प्रगति र कोषाध्यक्ष सुमन श्रेष्ठले पेश गरेको आर्थिक प्रतिवेदन बन्द सत्रले सर्वसम्मतले पारित गरिएको महासचिव जिसीले बताए ।

साधारणसभाको उद्घाटनसत्रमा संविधान सभा सदस्य रेशमबहादुर बानियाँ, गोविन्द पौडेल, नेपाली कांग्रेस म्याग्दीका सचिव भरत बहादुर रकाल, नेकपा एमालेका जिल्ला अध्यक्ष बालकृष्ण सुवेदी, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष विरबहादुर थापा, गण्डकी प्रदेश सभा सदस्यहरु रेशम बहादुर जुग्जाली, हरी भण्डारी, स्थानीय तहको तर्फबाट बेनी नगरपालिका प्रमुख सुरत केसी, नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीका अध्यक्ष हरिकृष्ण गौतम र महिला उद्यम विकास समितिका सभापति अम्बिका श्रेष्ठले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठको अध्यक्षता र महासचिव नारायण घर्ती क्षत्रीले सञ्चालनमा सम्पन्न साधारणसभाको समापन संघका वरिष्ठ उपाध्यक्ष राजेश शाक्यले गरेका थिए ।

म्याग्दी उद्योग बाणिज्य संघले आफ्ना सदस्यहरुको मृत्यु हुँदा तथा अन्य कारणले व्यवसायमा हुने क्षतीमा संघले स्थापना गरेको व्यवसायी हितकोषको रकमबाट राहत प्रदान गर्दै आएको छ । संघका सदस्य तथा सदस्यका परिवारको आफन्त गुमाउँदा प्रदान गर्ने राहत प्रदान गरेको हो ।

व्यवसायी पार्वती सार्कीका बुबा, धनकुमारी कार्कीका सासु, सुन्दर केसीले आमा, बिष्णु रिजाललेबाबा, सत्यादेवी श्रेष्ठले बुबा, ओमकुमारी श्रेष्ठले श्रीमान, बिरबहादुर पुर्जाले बुबा र कोषानन्दा आचार्यले बुबा गुमाउनु भएको थियो । त्यस्तै रिता रेग्मीले बुबा, चित्रबहादुर बरुवालले आमा, उमानाथ शर्माले बुबा, राजुप्रसाद सुवेदीले आमा गुमाउँदा संघका सदस्य लालबहादुर गुरुङको पनि निधन भएको थियो ।

संघका सदस्यको परिवारको मृत्यु हुँदा जनही १५ हजार र सदस्य स्वयंमको मृत्यु हुँदा ५० हजार प्रदान गरिएको हो । त्यसैगरी तुलप्रसाद नेपालीको तातोपानी फेन्सी पसलमा बाढीले भएको क्षतीमा १० हजार गरी कुल दुई लाख ४० हजार रुपैयाँ संघले राहत स्वरुप वितरण गरेको हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->